अव जन्मन्छ

यी प्रसव-वेदनाले सताएकी युवतीलाई नजिस्काउ
नयाँ सन्तान जन्माउन खोजेकी यो रूपवतीलाई नजिस्काउ !
बेश्याखानमा वसेर सयौं सँग सम्भोग गरेपछिको
गर्भाधान जस्तो हैन यिनको गर्भाधान
बैँसले उन्मुक्त सुकुमारीको
जबजरजस्ती लुटिएको कौमार्यपछिको
अनिच्छा गरिएको गर्भाधान जस्तो हैन यिनको गर्भाधान
जसरी सबैले गर्भाधान गर्छन्
त्यस्तो सामान्य गर्भाधान पनि हैन यिनको गर्भाधान
त्यसैले कसैले जिस्किए पनि
युवती लजाउन्नन्
कसैले सर्माए पनि
युवती सर्माउन्नन्
स्पष्ट छ
धेरै कष्ट र साहस पश्चात् मात्रै भएको छ यिनको गर्भाधान
पहिल्यै पनि एकपल्ट
गर्भवती युवतीको नयाँ सन्तान हेर्न
उत्सुक र लालायित मान्छेहरूका आशाभरि
निराशाले छायो
जव एउटा नयाँ सन्तान जन्माउन उत्सुक युवतीको गर्भ
अधिग्रो भएर गयो
तरै पनि हाम्रा आँखाभरि र मुटुभरि
अटल विश्वास र आशाका सलसलाउँदा रेखाहरू छाएर गयो ।
यस पल्ट अवश्य यी युवतीको वच्चा जन्मन्छ
यस पल्ट अवश्य यी रूपवतीको सपना जन्मन्छ
यो धरतीमा एउटा नयाँ सन्तान जन्मन्छ
साँच्चै प्रसव-वेदनाले पीडित युवतीको
अव एउटा नयाँ सन्तान जन्मन्छ ।