(जनमत सङ्ग्रह लगत्तैको कविता)

१.   भरखरै केही कुराहरू सिद्धिएर
मानिसहरू खाल्लो स्वाद उगेलि रहेछन्
भर्खर एउटा हलचलवाट गुज्रिएर
मानिसहरू तमतमाइलो अनुहार अनुहार पारेर घोरिइ रहेछन्
जसले आफूलाई डाँडोमा पुग्ने ठानेका थिए
फेदीभन्दा पनि तल आफूलाई पाएका छन्
जसले आफूलाई सवल हुने ठानेका थिए
अन्ध, अपाङ्ग र मस्तिष्क हीन आफूलाई पाएका छन्
तिनले आफ्नो सोचाइ गुमाएका छन्
सामान्य मस्करीमा आफ्ना दृष्‍टि लुटाएका छन्
केही सोच्न सकेका छैनन्
यथार्थमा-
कठै ! तिनले आफूलाई गुमाएका छन् ।

२.   आँखाहरू सलवलाएका थिए
तर आँखाहरू उक्याइएका छैनन्
मनहरू छचल्किएका थिए
तर मनहरू हर्न सकिएका छैनन्
खुसीहरू उक्सिएका थिए
खुसीहरू लुटिन त सकेका छनन्
अझै पनि हामीसँग आँखा छन्/ मन छ/ खुशी छ
अझै पनि हामीसँग साहस छ/ धैर्य छ / उत्साह छ
कोही फेदीभन्दा तल भए पनि हामी यस्तै हौं
कोही टाकुराभन्दा माथि भए पनि हामी यस्तै हौं
हामीले त, फगत केही क्षण गुमायौं
हामीले फगत एउटा चाहना गुमायौं
र अहिले पनि हामीसँग आँखा छन्
हामीसँग मन छ / हामीसँग खुशी छ
केही थाकेका छौं केही पाकेका छौं
तर हामी छौं
हामीसँग हाम्रो माटो साथै छ
हामीसँग हाम्रो वाटो छ ।

३.    हामी हिँड्दा हिँड्दै
हाम्रा चालहरू समाउन खोज्ने
हामी हाँस्ता-हाँस्तै
हाम्रा खुसीहरू लुट्न खोज्ने
सधैं, हाम्रा मनहरू
मिच्न खोज्ने-
अहिले समय तिम्रो हातमा छ
साहस तिम्रो साथमा छ
तिमी उज्याला छौ/ हँसिला छौ
अहिले सम्पन्नता तिम्रो साथ छ
यद्यपि तिम्रा सामु
अन्धकार रात छ
ढुङ्गा भैसकेको छ तिम्रो मन
‘हुन्छ’भै सकेको छ तिम्रो मस्तिष्क
‘ढुङ्गा’ र ‘हुन्छ’को संगम तिमी हौ
विषादका लहरलाई खुशी बुझ्ने तिमी हौ
भोक हेरेर तृप्ति अनुभूत हुने तिमी हौ
आमाको वलात्कार हेर्न सक्ने तिमी हौ
धन्य तिम्रा हातहरू !
पत्नी र वाहिनीहरूको व्यभिचार हेरेर ताली मार्ने
तिमी हौ
तिमी मन विनाको मान्छे

     तिमी मस्तिष्क बिनाको मान्छे
तिमी मस्तिष्क हुने ठाउँमा ‘ढुङ्गा’ छ र ‘हुन्छ’ छ
खुसी त धेरैको लुटेका छौ
खुसी तिमीसँग अथाह छ
अहिले समय पनि तिम्रो हातमा छ

सम्पन्नता तिम्रो साथमा छ
तर अझै स्पष्ट छ

 तिम्रा सामु अन्धकार रात छ ।