हामीले देखेको यस धरमा ।
एउटा परिवार वस्ने गर्छ
हरेक सदस्यका आँखा छन्
हरेकको मन छ
हरेकको मुटु छ
र हरेकको मस्तिष्क छ
तर
हरेकका आँखा कौतुहलहीन छन्
हरेकको मन खिन्न छ
हरेकको मुटु स्पन्दन हीन छ
र हरेकको मस्तिष्क सून्य छ
यस्तै त हैन
तर सधैँ यस्तै प्रतीत हुन्छ ।
आँखाहरूमा कौतूहल भर्नु विरोध हो
मनहरूलाई उत्साहमा वदल्नु विरोध हो
मुटुको बोध भएको मान्छे त सिङ्गो विरोध हो
मस्तिष्क गतिशील रहनु पनि विरोध हो
यहाँ विरोध गर्न वन्देज छ
यसैले सावधान हुनु पर्छ मान्छेका
आँखा, मन, मुटु र मस्तिष्कहरू
यी विहीन बोध हुनु पर्छ यहाँका मान्छेहरू ।
स्वरहरू साटेर- मान्छे एकै क्षण शान्त हुन्छ
इच्छाहरू भोगेर- मान्छे एकै क्षण आराम गर्छ
खानु, पिउनु, बोल्नु, सोच्नु मान्छेका अनिवार्यता हुन्
आँखा मन मुटु र मस्तिष्क पनि मान्छेका हुन्
सधैँ स्वरहरू साटिन्छन्
इच्छाहरू फैलन्छन्
कौतूहल निषेध गरिएका आँखाहरूको भाषा अझै
कठोर हुन्छ
उत्साह लुट्न खोजिएको मन अझ संवेदन हुन्छ
मान्छेको त मुटु र मस्तिष्क दुवै हुन्छ
त्यसैले यस घरमा अव कुन्नि के के हुन्छ ?