हाम्रो कथा

यहाँ

अधिकांश स्वदेशी आमाहरू

प्रसवको पीडाले छोरा जन्माउन नसकेर

विदेशी सिपाही जन्माउँछन्

तरुनी दिदीहरूको सुहाग पुछेर

विदेशको सीमा रेखा खिचिन्छ

राष्ट्रियताको साइनबोर्ड टाँगेर

आत्म सम्मानले  चुलिदैं हिडेकाहरु

नोटको बिटो लिएर

विदेशीलाई आत्मा थमाइँदिन क्यूमा लागेका हुन्छन्

वर्षै पिच्छे सयौं मन धान फलाउने किसान

वर्षै भरी अनिकाल चपाएर बिताउँछ

उपचार गर्न नसकेर छटपटाएको बूढो रोगी कविलाई

उसको स्मारक वनाउने वजेटले हेरेर

एक तमासको हाँसो हाँसी दिन्छ

यस्तै – यस्तै अत्यास लाग्दो परिस्थितिवाट

गुज्रेका हामीहरू

हिडिरहेछौँ निरन्तर

बोली रहेछौँ अविरल

सम्झदा पनि पट्यार लाग्दो बेलादेखि

दोहोरीइरहेछौं पूर्ववत्

यसैले हाम्रो सुनौलो भविष्यका लागि

हाम्रो हिँडाइको गति वदल्नु पर्‍यो

हाम्रा बोलाइको भाका फेर्नु पर्‍यो

एकपल्ट हामीले आफैँलाई वदल्नु पर्‍यो ।