लेख / रचनाहरू

कबुलियत पछि मात्र मतदान

ठूलै अवरोध भएन भने अब मंसिर ४ मा चुनाव हुने नै भयो । चुनाव संविधानसभाको ।  संविधानसभाको चुनाव भनेको हरेक वालिगले संविधान बनाउन आफ्नो वारेस पठाउने चुनाव हो । निर्वाचितहरु भनेका संविधान बनाउने प्रयोजनकालागि आम नागरिकका प्रतिनिधि हुन् । अन्तरिम संविधान २०६३ मा भनिएको सार्वभौम र राजकीय सत्ताको प्रयोग नेपाली जनताका नाममा उनले नै गर्ने हुन् । जे होस्‚ अब मुलुक संविधानसभाको चुनाव -२ तिर उन्मुख छ । यसले दशै तिहार पनि अलिक  कम महत्वको  बनाउने जस्तै भएको छ । हार जीतका जोड घटाउमा दशै तिहारका दिन पनि चुनावी माहौलमा परिणत भएकाछन् ।

संविधानसभाको चुनाव- २ त आएको छ । यसले केही प्रश्न पनि तयार गरेको छ । ती प्रश्नहरुको उत्तर मुलुकको क्षितिजमै देखिदैनन् । आम मतदाताको मष्तिष्कमा उठेका यस्ता प्रश्नहरुको उत्तर त मत माग्न आउने उम्मेद्वारहरुले दिनु पर्ने हो तर उनले मतदाताका मष्तिष्कका प्रश्नहरुको उत्तर दिने सामार्थ राख्तछन् र ? लाग्छ‚ यस्तो सामार्थ्य राख्ने भए -संविधानसभा -१ ले नै संविधान निर्माणगरी सक्ने थियो । त्यसो त अहिले त उम्मेद्वारहरुको -के पो गर्न सक्तैनौ र ? – भन्ने बेला हो यो । उहाँहरुको यतिबेलाको बोलीको तौलमा वजन खोज्नु भनेको शून्यतिरको यात्रा हो ।

संविधानसभाको चुनावमा उठेका उम्मेदवारहरु यतिबेला जे भनून ‚ तर म  यतिबेला २०६९ साल जेष्ठ १४ गतेको संविधानसभा भवन नयाँ बानेश्वर संझिइ रहेछु । रातको मध्यरात हुनलाग्दा  पनि सभासदहरु नारा लगाउदैथिए । बैठक शुर होस्‚ भनेर नारा लगाइरहदा सींहदरवारको निर्णयबाट संविधानसभा बिघटन भै सकेकोथियो । सञ्चारमाध्यमले मुलुकभरि सूचना दिइसक्ता पनि बरा सभासदहरुले संविधानसभा बिघटन भैसकेको थाहै पाएका थिएनन् । नारा लगाइरहे । जब थाहापाए‚ खालबाट जूवा हारेको जुवाडेभन्दा पनि बिजोक भएको अनुहार लिएर उनिहरु फर्के । यस्तो संविधानसभा-१का उत्तराधिकारी हुन हिडेका संविधानसभा-२का चुनावका उम्मेदवारहरुलाइ यी बिषयमा मतदाताले उठाउने प्रश्नहरुको उत्तर के कण्ठ छ त ? मुखाग्रै छ ? भए राम्रै हुन्छ ।

कवितालाइ गीत बनाएको ‚ गोपालप्रसाद रिमालको कविता‚ झण्डै ७० बर्षै हुन लागेको कविता‚ खुबै चल्ती भयो ‚ त्यो गीतमा फेरिएको कविताको । एक युगमा एक दिन  एक पल्ट आउछअब पनि यो गीत त गाइन्छ होला‚ तर यसमा पनि संशोधन गर्न जरुरी भएको होला एक युगमा एकदिन दुइ पल्ट आउछ– भनेर । यसको संशोधनमा प्रश्न उठाउनेहरुलाइ जवाफ छ ‚अन्तरिम संविधान एक धाराले २५ धारा संशोधन हुन सक्ता‚ रिमालको कविता संशोधन हुन के संकट र ? त्यसैले अब उमेद्वार र उनका समर्थकले‚ प्रचारकले धक फुकाएर गाए हुन्छ‚ एक युगमा एक दिन दुइ पल्ट आउछ भनेर ।  यति गर्दा फेरि पनि बनेनछ संविधान भने अर्कोपल्ट गाउनुपर्छ एक युगमा एकदिन जति पल्ट पनि आउछ भनेर ।

जे होस्‚ संविधानसभाको चुनाव हुदैछ । हिजो संविधान किन बनेन ? नबन्नुका कारणहरु  के के थिए ? को जिम्बेवार थियो ? संविधान नबन्नुमा । अब संविधान बन्ने आधारहरु कसरी तयार भएकाछन् ? यी बिषयमा सोच्न दलका नेताहरुलाइ पक्कै रहर छैन जस्तो लाग्छ । यी प्रश्नको जवाफको अपेक्षा पनि मतदाताले उम्मेद्वारबाट राखेकाछन् । उम्मेद्वारसँग मतदातालाइ दिने जवाफको स्टक भने रित्तो देखिदैछ ।

त्यसो त ‚ कवि बिमल निभाले लेखेको एउटा कविताको एउटा अशले मलाइ चिमोटेको छ‚ उनले लेखेकाछन्

” हिउदे अधिबेशनको

अन्तिम बैठकबाट फर्केर

मेरो साँसद मित्रले

अकस्मात घोषणा गर्‍यो

मेरा मित्रहरु हो

तिमीहरु बिश्वास गर अथवा नगर आउदो चुनावमा म

स्वयमलाई पनि भोट दिनेछैन “

अवस्था त यस्तै यस्तै हो । जतिले भोट दिए पनि चुनाव त होला‚ तर संविधान बन्ने आधार त देखिएका छैनन् । चुनाव पछि निर्वाचित सरकार हुने र एउटा प्रकृयाको थालनी हुने सम्म ठानेर मतदानमा सरिक हुने मतदाताका अनेक प्रश्नहरुको उत्तर दिन र गृहकार्य गर्न उम्मेद्वारहरुलाइ जरुरी छ । उनले पक्कै उनको सामार्थ र क्षमता बढाउनै पर्छ । मतदाताले पनि उम्मेदवारहरलाइ संविधानसभा -३ को अवस्थामा मुलुकलाइ नपुर्‍याउने कबुलियत गराएर मात्र मतदान दिन उचित छ कि ?

संविधानसभा २ पनि संविधान नबनाइ बिघटन गराएर‚ रीत्तो खल्ती छाम्दै‚ खालबाट घर फर्केको‚ हारेको जुवाडेको जस्तै अनुहार लाएर  संविधानसभादहरु फर्कन नपाउने शर्त हरेक मतदाताका शर्त हुन् ।

2 Comments
  1. Birodh Subedi at Reply

    बाद्यतामा गरिएको सहमति त सहमति हुनै सक्दैन रैछ।समय प्रतिकुल हुनसाथ आ आफ्नु तरिकाको व्याख्या हुदो रैछ।अब पाँच तारे तिर गएर सहमति खोज्ने होइन सबै कर्मकान्ड संबिधान सभा मै हुनु पर्छ मतदान मार्फत अनी हामीले पनि दिर्घकलिन महत्व बोकेका एजेन्डा हरुमा स्पस्ट भएको पार्टीलाई भोट् हाल्नु पर्ला।

  2. devendra dahal at Reply

    Lekh sandarvik nai chha.Jnatama yesto chetana jagaunu parne bhayo,Netaharu sanga jawaf magnu parne bhayo…

Leave a Reply

Your email address will not be published. Required fields are marked *