आजको प्रश्न

मान्छे जस्तो होस्, आफूलाई नराम्रो ठान्दैन । आफैँलाई नराम्रो भन्न आफ्नै मन मान्दैन । कुरूप होस् मान्छे, उसलाई कुरूप राम्रो लाग्छ । अरूको कुरूप मान्छेलाई राम्रो लाग्दैन, बरु घृणा लाग्छ । मान्छे जतिसुकै विवेकशील मानियोस्– यस्तो उसको स्वभाव हो । आफ्ना अन्तर्मनका कुराहरू व्यक्त गर्न सक्ने सम्म मात्र मान्छेले व्यक्त गर्छ । व्यक्त गर्न असजिलो लाग्ने विषयहरूलाई उ गोपनीयताको शीर्षकमा राख्छ । आजकल त गोपनीयताको हककै प्रसङ्ग उठ्ने गरेको छ । आफूलाई असजिलो पर्ने कुरा उ मनमै गुम्स्याउँछ, व्यक्त गर्दैन ।

मान्छेलाई शक्ति राम्रो लाग्छ । शक्तिमा रहेको बेला उसमा उत्साह थपिन्छ । उ जताततै उज्यालो देख्छ । अँध्यारो होस्, तर उ झलमल्ल घाम लागेको महसुस गर्छ । अझ बढेर उ आफूलाई आँखा चिम्लेर पनि देखेको महसुस गर्छ । उसलाई लागेको कुरा, उसले ठानेको कुरामा विवाद उठाउनेहरू उसका दृष्टिमा मूर्ख हुन् । शक्तिको आराधना उ यस कारण गर्छ, उ शक्तिमा रहेको बेला अरूले उसको पूजा गर्छन् । उसले मान्छेको विवेक, ज्ञान र सृजना सबैलाई प्रभावित गर्छ । शक्तिको स्वरूप विविध प्रकारको हुन्छ । विचित्रको हुन्छ ।

भ्रष्टाचारका विरोधीहरू कति त आफैँ भ्रष्टाचारमा परेका हुन्छन् । अवैध तरिकाले अकूत आर्जन गर्नेहरूलाई आफू भ्रष्टाचारी भए जस्तो लाग्दैन । अरूको भ्रष्टाचारमा उनलाई आपत्ति हुन्छ । आफूले गरेको भ्रष्टाचार उनलाई भ्रष्टाचार जस्तो लाग्दैन । अरूको शरीरमा जुम्रो देख्‍ने  क्षमताको मान्छे, आफ्नो शरीरको भैँसी देख्‍न सक्दैन, देखाउँदैन । वरू, छोप्छ, लुकाउँछ र केही पनि छैन भन्छ । केही होइन भन्छ । मान्छेको स्वभाव विचित्रको छ । मान्छे ‍आफ्ना ठूला-ठूला अपराध लुकाउँछ । साना-साना सृजना देखाउँछ । उसलाई आफूले गरेका ठूला-ठूला अपराध, अपराध जस्तै लाग्दैन । मान्छेको स्वभाव नै यस्तो रहेको छ ।

मान्छे संवेदना भएको प्राणी मानिन्छ, तर कहिले-कहिले उसको संवेदना धरापमा परेको देखिन्छ । एउटा व्यक्तिको मृत्युमा उसका छोरालाई सन्सार बुझाउने गाउँका एकजना सम्भ्रान्त मान्छे उसको बाबूको मृत्युमा अगाडिका ती विषयहरूले त्यति नै सम्झाउँदा– ‘तिमीहरूको बाबु र मेरो बाबु मरेको एकै हो र ?’– भनेर सम्झन चाहँदैन । यहाँ मान्छेको स्वभाव राम्ररी प्रदर्शित भएको छ । यस्तै छ मान्छेको स्वभाव । मान्छे आफैँलाई महत्त्वपूर्ण ठान्छ । उसको स्वभाव विचित्रको छ ।

भनिन्छ, समय बदलिएको छ । समयसँगै मान्छे बदलिएको छ । यहाँ पनि प्रश्न पर्याप्‍त छन् ।  मान्छे कहाँ बदलियो ? के भएर बदलियो ? अब कस्तो देखियो ? यी तमाम प्रश्नहरू सलबलाएको देख्दा लाग्छ – समय बदलिएको, मान्छे  बदलिएको कुरा पनि गफै मात्रै हो कि ?

लोकतान्त्रिक सिकाउनेहरू जब सत्तामा पुग्छन्, अनि मात्र उनले लोकतन्त्र नबुझेको पोल खुल्छ । निरङ्कुशताका विरुद्धमा लामो समय लडेकाहरू सत्तामा टेकेपछि रमाइलो अनुहारमा देखिन्छन् । उनलाई हेर्दा यस्तो लाग्छ– ती पनि आफैँ निरङ्कुश बन्ने साइतको पर्खाइमा बसेका छन् कि ? अरूको निरङ्कुशतालाई दुत्कार्नेहरू आफ्नो निरङ्कुशताको जय-जय गरिरहेछन् ।

उनको हेराई उस्तै छ, जसरी पहिलेकाले हेर्थे । उनको ध्याउन्ना उस्तै छ जस्तो पहिलाको हुन्थ्यो । स्वभावमा परिवर्तन छैन । प्रस्तुतिमा परिवर्तन छैन । फगत कपडा बदलिएका छन् । रङ्ग बदलिएको छ । ढङ्ग बदलिएको छैन । नाच पनि बदलिएको छैन । आँगन पनि बदलिएको
छैन । त्यसैले लाग्छ–मान्छे पनि बदलिएको छैन । समय पनि बदलिएको छैन । बदलिएको भ्रम बोकेर हामी आफैँलाई ढाँटी रहेका छौं ।

भ्रूणहरू बग्रेल्ती छन् । उनको विकास अनिवार्य छ । सिर्जनाका पनि भ्रूण छन् । विकृति र विग्रहका पनि भ्रूण छन् । विकृति र विग्रहका भ्रूणहरूले सिर्जनाका भ्रूणहरूलाई निषेध गर्ने चिन्ता व्यापक छ । सिर्जनाका भ्रूणहरूलाई निषेध गर्ने भ्रूणलाई कसरी निषेध गर्ने ? कसले सोचेको छ
र ?

मान्छेसँग धेरै राम्रा क्षमता छन् । सम्भावना छ । ती क्षमता र सम्भावनालाई मान्छे भित्रकै विकृति र विग्रहले खिचेको छ । मान्छेभित्र लोभ छ । लालच छ । मान्छेभित्र पाखण्ड स्वार्थ अनेक छ । यसरी शक्तिवान मान्छे कमजोर छ । कमजोरलाई बचाउने मान्छेको रहर भएको छ ।

समय बदलिएको छ । समयलाई हामीले आफू बदलिएर बदलेका छौं– भन्नेहरूले साँच्चै आफूलाई बदलेर देखाउन सक्नुपर्छ । यसका लागि त्याग चाहिन्छ । त्यागको क्षमता चाहिन्छ । समय बदलेको घोषणा गर्ने सारथीहरू आफूलाई त्यसरी बदल्न सक्छन् ? दनदनी बल्दै गरेको आजको प्रश्न हो यो । उनलाई यस्तो प्रश्नको उत्तर दिन जाँगर चल्छ कि चल्दैन ?