के जान्नेहरूसँग यसो गर्ने हिम्मत छ ?

धेरै मान्छेहरू आफूलाई सर्वज्ञ ठान्छन् । अरूलाई अज्ञानी ठान्छन्। आत्मप्रशंसाले चुलिएका हुन्छन् । धाक,  रवाफ,शान खातका खात बोकेर हिँड्न रुचाउँछन् । जहाँ जे जरुरी पर्छ त्यसैको प्रयोग गर्दछन् आफूलाई हिमालको टाकुरामाथी महसुस गर्दछन् र तेञ्जिङ हुन्छन् ।

वास्तवमा ती मान्छे कति ठूला हुन् त ? यस प्रश्नको जबाफ त त्यति सजिलो नहोला, तर सारै स्पष्ट सत्य के हो भने ती मान्छे त्यति ठूला हैनन् र तेञ्जिङ हुँदैहैनन् । ती मान्छे त बिचरा हुन्, वास्तविक जीवनको दर्शन नबुझीकनै यतिसमय गुजारी सके । अब पनि तिनले बुझ्ने संभावना कमै छ ।

शाश्वत सत्य के हो भने आफूले बुझेको छुइन वा कम बुझेको छु भन्ने पनि ज्ञान नभएका मान्छेलाई मैले सबै बुझेको छु र मेलै जति कसैले बुझेको छैन जस्तो लाग्छ । वास्तवमा आफूले केही बुझेको र्छैन भन्ने कसैले बुझ्यो भने धेरै बुझ्यो । त्यसपछि त उसले हरेक कुरा बुझ्न खोज्छ, जान्न खोज्छ । तर हाम्रो समाजमा आफूले बुझेको जानेको छैन भन्ने बुझ्ने मान्छेहरू सारै कम छन् ।

राजनीतिमा लागेका कार्यकर्ता हुन् वा नेता हुन् कथित विशेषज्ञ विद्वान् हुन् वा समाजसेवी हुन् समाजका जोसुकै हुन् जान्ने रोगबाट सारै ग्रसित छन् । समाजमा जान्ने मान्छे सारै धेरै चाहिएका छन् तर केही नजान्नेहरु जान्नेको सूचनापाटी टाँगेर बसेका छन् । समाजको बनौट यस्तो छ । यस्तो ऊर्जाले अगाडि बढाउने समाजले भोलि प्राप्त गर्ने विषय अन्यौलग्रस्त छ ।

ज्ञान त अनन्त छ । यसको क्षेत्र व्यापक छ । गहिराइ अथाह
छ । कोही पनि सर्वज्ञ हुँदैन । उसमाथि हैकम जमाउन सक्दैन । एउटा हाँगामा दखल प्राप्त गर्न पनि साधना  चाहिन्छ । त्यो अनवरत हुनुपर्छ । स्वाध्यायलाई साथ दिने दिनचर्या हुनुपर्छ । हाम्रो प्रसङ्ग त यस्तो छदैछैन।

मान्छेहरू क ख नजानीकन किताब पढ्ने हुन्छन् । बामे सर्न नजानी दौडन थाल्छन् । किताब पढ्ने र दौडनेहरु क ख नचिनेको र दौडन नजानेको छोप्छन्, लुकाउँछन् । यसरी समाज च्यातिदैं गएको छ । प्वालै प्वाल हुँदैछ । यो दौडको दिशामा परिवर्तन नआए आगत क्षतविक्षत हुने अनुमान हुन्छ।

जान्ने ठान्नेहरुले साधनामा लाग्नु पयो । नजानेको थाहा पाउनु पयो । नजान्नेलाई डोहोर्‍याउनु पर्‍यो । जान्नु पर्‍यो। अनि मात्र मान्छे अलिक गहन हुन्छ कि ?

म जान्दछु मसँग धेरै ज्ञान छ भन्नेहरु र ठान्नेहरुले आफ्नो ज्ञानका बारेमा एक क्षण आँखा चिम्लिएर आफूभित्र इमानदारी छ भने त्यो जगाएर चिन्तन गरिदिए यथार्थ बुझ्ने थिए कि ? जान्नेहरूलाई यस लेखकको एउटा प्रश्न छ के उहाँहरुसँग यसो गर्ने हिम्मत छ ?