भद्रपुर मेरो पाठशाला हो

भद्रपुरको आकाश भरी धुवाँ र मिलको आवाज भरिएको थियो – जब मैले पहिलो पटक भद्रपुर टेकेको थिएँ । झापाली किसानहरूको मेहनत र पसिनाको प्रतीक थियो – त्यो भद्रपुरको आकाशको धुवाँ र आवाज । बयलगाडाहरूको सधैँ जुलुस जस्तो हुन्थ्यो । जसरी गाउँ–गाउँबाट धान आइरहन्थ्यो त्यसरी मिलहरूबाट चामल गइरहन्थ्यो भन्सार–मेची बगर हुँदै गलगलियातिर । झापाली उत्पादन चामल भारतको आन्ध्र, केरला, कालिकटसम्म जान्थ्यो, वाइगनका वाइगन रेल भरिएर । त्यस बेलाको भद्रपुर रमाइलै थियो । धूलो र हिलो भद्रपुरको विशेषता थियो तर त्यो बास्नादार थियो । लाग्थ्यो– आफ्नै धूलो थियो– आफ्नै हिलो थियो ।

मैले भद्रपुरमा स्थायी बसोबास गर्न सकिनँ तर भद्रपुरलाई मैले मेरो मनबाट पन्छाउन पनि सकिनँ । यसैत, मैले भद्रपुरमा दश वर्ष बिताएको छु । दश बर्ष मानिसको जीवनमा जति समय हो, भद्रपुरको मेरो दश वर्ष त्यतिमा खुम्चन सक्दैन । शायद मेरो जीवनको ऊर्जाशील समय भद्रपुरमै बित्यो । भद्रपुरलाई मैले केही दिन सकेको छैन तर भद्रपुरबाट मैले धेरै पाएको छु– धेरै लिएको छु । यस अर्थमा भद्रपुरसँग म ऋणी छु।

एस.एल.सी. मात्र पास गरेर भद्रपुर पसेको मैले भद्रपुर छाड्दा कला र कानुनमा स्नातक गरेको थिएँ तर भद्रपुरबाट मैले जे पाएँ– त्यो औपचारिक शिक्षालाई मैले नगण्य सम्झेको छु । हो, राजनीति, साहित्य, पत्रकारिता, समाज सेवा जस्ता विषयमा च्याउन मैले भद्रपुरमै सिकेँ । मेरो मन मस्तिष्कमा राष्ट्रियताको जति बीज छ त्यो भद्रपुरले रोपिदिएको छ । लाग्छ– मेरो जीवनको भद्रपुरको दश वर्ष बाहेक गरिदिनु हो भने – अहिले म शून्य हुन्छु ।

मेची महाविद्यालय– त्यति वेला भद्रपुर हाइ-स्कूलको केही कोठामा सीमित थियो । कलेज पढ्नेहरूको भद्रपुर भरी इज्जत हुन्थ्यो । मैले त्यो मेची महाविद्यालयमा पढेँ तर कलेजले भन्दा धेरै र महत्त्वपूर्ण पाठ त अनौपचारिक रूपमा त्यहाँका गुरुहरूबाट मैले पाएँ । स्कूल, कलेजहरूमा नपाइने शिक्षा स्व. घनश्याम खनाल, रामेश्वरप्रसाद अधिकारी, मोहनराज शर्मा, चूडामणि रेग्मी, महेन्द्रनारायण मिश्रहरूबाट मैले पाएको छु– उहाँहरूले मलाई विद्यार्थी जस्तो सिकाएर मात्र पूर्ण ठान्नु भएन– मलाई साथी जस्तै पारेर हरपल सिकाइरहनु भयो र कतिले अहिले पनि सिकाउँदै हुनुहुन्छ ।

यसरी सिकाउने मेरा गुरुहरू भद्रपुरमा धेरै छन् । भद्रपुरका धेरै गुरुहरूबाट मैले सिकेको छु । मेरा यस्ता गुरुहरूमा स्व. द्रोणाचार्य क्षेत्री, नरेशकुमार वर्मा र डा. हृषीकेश उपाध्यायको नाम अगाडि नै आउँछ । स्व. श्यामकृष्ण उपाध्याय, स्व. एस.एल.शर्मा, स्व. वसन्तकुमार खडका, रामबाबु प्रसाई, स्व. स्वयंभूलाल श्रेष्ठ, के.वी.कार्की, भवानी घिमिरेलाई पनि मैले मेरा गुरु मानेको छु । मेची महाविद्यालयमा त मैले अनौपचारिक शिक्षा लिएका थुप्रै कक्षाहरू छन् । भद्रपुरको नमुना विद्यालयमा म  शिक्षण कार्य गर्दथे तर त्यहाँबाट मैले सिकिरहें । डा. हृषीकेश उपाध्यायको क्लिनिक र घर, नरेशकुमार वर्माको ल च्याम्वर र घर, एस.एल.शर्माको प्रेसको कार्यालय, वसन्तकुमार खडका र के.वी. कार्कीको घरहरू–  यी सबै मेरा कक्षाहरू
थिए । वासुदेव शर्मा, सी.पी.मैनाली, आर.के.मैनालीहरूसँगको मित्रताका दिनहरू पनि मैले यसै भद्रपुरमा पाएको थिएँ । ‘पञ्चामृत’को प्रकाशन, सुस्ता र महेशपुर आन्दोलन, तत्कालका सबै विद्यार्थी आन्दोलनहरू जनज्योति कुइनेटा पनि मेरा कक्षा कोठाहरू रहेका थिए ।  नकुल काजी र डिल्लीराम निर्भीकसँग मेरो भद्रपुर प्रवेशकै समयमा अन्तर सम्बन्ध
रहयो । उहाँहरूबाट पनि मैले धेरै सिक्न पाएको छु । अर्जुन पौडेल, चण्डी पराजुली, अमृत बुढाथोकी, गणेश अधिकारी, भक्त खवास, गोर्खा बानिया जस्ता मित्रहरूको सामीप्पता मैले भद्रपुर छँदै पाएँ । नेपाली साहित्य परिषद्, लक्ष्मी स्मृति भवन (देवकोटा स्मृति भवन) जस्ता संस्थाहरू मेरो प्रशिक्षणका शिविरका रूपमा मैले पाएँ ।

मैले सन्तुष्टि लिन नसकेको दिवङ्गत रत्‍नको नाम सम्झेर अहिले म खिन्न हुन्छु । २००२ सालभन्दा अगाडि नै बी.ए., बी.टी. गरेर व्यक्तिगत अवसर, अपेक्षा नगरीकनै निस्पट्ट अन्धकारमा शिक्षाको राँको सल्काएर बसिरहने गंगाधर शर्मालाई आज भद्रपुरमा बिर्सियो भने ठूलो अन्याय
हुन्छ । मैले जीवनका ४/५ घण्टा उहाँसँगको सहवासमा बिताउँदा बुझे – उहाँ शिक्षण कार्यबाट भद्रपुर हाइ-स्कूलसँग बिदा भएर पनि जोसुकैलाई जहिले पनि सिकाइरहनु हुँदोरहेछ । उहाँले अतीत सुनाउने र मभित्र प्रेरणा जगाउने काम साथसाथै गर्नुभयो । लागेको थियो– २/४ वर्ष उहाँसँगको सहवास पाए त ? तर कठोर समयले यस्तो सहेन ।

भद्रपुरसँगका मेरा अनुभूतिहरू अनेक छन् । धेरै पानाहरूमा व्यक्त नहुन सक्छन्-तैपनि जब म भद्रपुर सम्झन्छु, धेरै घटनाहरू उछिन पाछिन गर्दै मेरो मानस-पटलमा आउँछन् । एस.पी. शैलेन्द्र काण्ड गिरफ्तारी, मेची पुल काण्ड, भद्रपुरको काया गर्ने तत्कालीन युवा मेरा साथीहरू दिव्य भुर्तेल, शिव भुर्तेल, याम भण्डारी कसरी बिर्सिनु र ? डिग्री कलेजको प्रसङ्गको आन्दोलन, महेशपुर, सुस्ताका बारेको आन्दोलन जस्ता गतिविधिहरू राष्ट्रलाई नै प्रभाव दिने प्रकृतिका थिए । आज ती घटनाहरू झापाका अविस्मरणीय रूपमा रहेका छन् ।

भद्रपुर अहिले जस्तो सिकुटे थिएन । झापाको सदर-मुकाम चन्द्रगढी भए पनि त्यो औपचारिकतामा मात्र थियो । झापाको सदर-मुकाम भद्रपुर जस्तै थियो । सङ्गम चोक र जनता चोकमा त्यस बेला जवानी छाएको थियो । सङ्गम होटल र जनता होटल भद्रपुरका त्यस बेलाका तारे होटेलसरह थिए । मेची अञ्चलभरी कै मानिसहरू भद्रपुर हुँदै गलगलियाबाट सिलिगुढी, दार्जिलीङ, विराटनगर, बिरगञ्ज, काठमाडौं जाने र आउने क्रम थियो । यस्तै आधारमा भद्रपुर गुल्जार थियो ।

जब राजमार्ग बन्यो, काँकडभिट्टामा पुल बन्यो तव भद्रपुरको हरियाली जीवन उराठमा परिणत भयो अझ मेची पुल बनाउन झापालीले जम्मा गरेका पैसा राजासमेत गुहारेर खोसी दिएपछि त भद्रपुरको भाग्य पुछिएको छ । यसरी भद्रपुर असमयमै विधवा हुनु परेकी नारी जस्ती भएको छ । २००८ सालमै नगरपालिका बनेको भद्रपुर नगर दूर दराजको गाउँ, देहातमा परिणत भैरहेको छ । भद्रपुरबाट निर्मितहरू जो अहिले भद्रपुरलाई केही दिन दिलाउन सक्षम छन्– अहँ तिनले भद्रपुरलाई पटक्कै माया गरेनन् ।

भद्रपुरमा १० वर्ष बिताएर भद्रपुरबाट छेउलागेको पनि निक्कै भइ सक्यो । भद्रपुरमा मेरो घर छैन । भद्रपुरको कुनै वडाको मतदाता सूचीमा मेरो नाम पनि छैन तर मेरा नागरिकताको प्रमाणपत्रमा भद्रपुर नगरपञ्चायत वडा नं. ४ भनेर मेरो नाम लेखिएको छ । म इलामको फुएँतप्पामा जन्मेको मान्छे, फुएँतप्पा पछि अलिक लामो बसाइँ भद्रपुरमा रहयो– कसैले मलाई भद्रपुरको हैन भन्दा मेरो मनले स्वीकार्दैन । साँच्चै मैले हारेको चुनावमा, २०५० सालमा, जब म मत माग्दै भद्रपुरका घर-घरमा घुम्दै थिएँ– मलाई साँच्चै आनन्द लागेको थियो । त्यति बेला मेरो मनले जे जित्यो– अब कुनै जित चुनावको परिणामले दिने विषय नै थिएन ।

हो, भद्रपुरलाई मैले मेरो जीवनको पाठशाला सम्झेको छु । यस पाठशालामा धेरै गुरुहरूबाट मैले धेरै कुरा सिकेको  छु ।