हामी कन्डक्टर हौं

‘मलाई कन्सेसन टिकट’– २०/२५ बर्ष अगाडि स्कूल–कलेज छाडेकाहरु बसमा सहुलियत दरको टिकटको दाबी गर्छन् । कन्डक्टर एक पटक कार्ड सोध्छ । ‘विद्यार्थी नभए कसैले कन्सेसन माग्छ ? कार्ड बोक्न भुलियो’– ठूला–ठूला स्वर सुनेर हत्तपत्त कन्डक्टर सहुलियत दरको टिकट थमाउँछ । ‘मेरो त कार्ड छ’ जीवनमा एउटै समाचार नलेखेको व्यक्ति ‘वरिष्ठ पत्रकार’ को परिचयपत्र देखाएर सहुलियत दरको टिकट लिन्छ । ‘म त स्टाफ हुँ’ भनेर अर्काले भाँड–भैलो मच्चाउँछ र छेउछाउका पैसा तिरेर यात्रा गर्ने यात्रुहरूलाई समेत हैरान पार्छ । यी माथिका सहुलियत दरका टिकट खोज्ने र पैसा नतिर्नेहरु न पढ्‍छन्, न पत्रकारिता गर्छन् न स्टाफ
नै हुन्छन् । कन्डक्टर त्यसै ढाँटिन्छ ।

हामी कन्डक्टर हौं ! तपाई असजिलो मान्नु होला । साँच्चै हो । तपाई पनि कन्डक्टर, म पनि कन्डक्टर र अरू पनि कन्डक्टर । कन्डक्टरले त हिम्मत गर्छ, र एकपटक भन्छ ‘तपाईको कार्ड छ ?’ तर तपाई म र अरू त हुतीहारा कन्डक्टर हौं– त्यो बसको कन्डक्टर जति एक पटक ‘कार्ड’ सोध्ने विचार पनि गर्दैनौं र पत्याइहाल्छौं ।

मैले त निक्कै नेताका भाषण सुनेको छु, विद्वान्‌हरुका प्रवचन सुनेको छु । फर्कदा चित्त नबुझ्दा कुराहरूलाई पनि सत्य कुराको उद्‍घाटन भो भन्दै, टिप्पणी गर्दै फर्केको छु । तपाईले पनि अवश्य यस्ता भाषण सुन्नुभएको छ र अरूले पनि सुनेका छन्, तर कसैले पनि भाषणका कुरालाई नपत्याएर भाषण कर्ताको दाबीलाई पुष्टि गर्न लाएको मैले देखेको छैन र सुनेको छैन । के कसैले पनि आजसम्म आफ्नो भाषण र प्रवचनमा हामीले नपत्याउने र झुट्टा कुरा गरेकै छैनन् त ? यसो त कसै गरे पनि होइन, तर हामीले, विद्यार्थी, पत्रकार, र स्टाफ हुँ भन्नेलाई भित्र–भित्रै नपत्याएर पनि सहुलियत दरको टिकट दिए झैँ, पत्याइदिए जस्तो मात्रै गरेका हौं भने कसरी कन्डक्टर हैनौं त ?

तपाई यसमा आपत्ति मान्नुहुन्छ भने मेरो केही भन्नु छैन, तर म जसले जे भने पनि पत्याउँछु । एक पटक मेरा एक जना मित्र हाकिम भएर एउटा कार्यालयमा आए । उनको पुरानो मित्र म भएको नाताले पहिलो दिन उनी मेरै पाहुना भए । उनले ‘म हाकिम भएर आएँ’– भन्नेबित्तिकै मैले पत्याएँ, कार्ड सोधिनँ । साँझ खाना खाएपछि हाम्रा गफ शुरु भए । ‘राम्रो कार्यालयमा पर्नु भएछ, त्यहाँबाट जानेहरुले धेरै सम्पत्ति कमाएर गएका छन्, मिहिनेत गरेर कमाउनोस्, घर खेत जोड्‍ने बेला यही हो’ यस्तो ठाउँमा त आफ्ना सन्तान पनि पुग्न सक्छन् कि सक्तैनन् ठेगान छैन । त्यो कारण छोरा–नातिसम्म पुग्ने सम्पत्ति कमाउनोस्’ -भन्दै मैले अर्ति दिएँ ।

मैले कुरा निखार्नै पाएको थिइनँ, मेरा हाकिम मित्रको पारो निकै माथिपुग्यो । ‘तपाइले मलाई के ठान्नु भा छ, जागिर खाएँ भन्दैमा के मेरो आत्मा मरिसक्यो ? मेरो चेतना डुबिसक्यो? जसले जे गरे पनि, बरु भोकै बस्छु, एक पैसा घुस खान्न, मेरा पालाभरि एउटै स्टाफलाई पनि घुस खान दिन्नँ, बुझ्नुभो !– यस्तै–यस्तै अरू के–के भन्दै थिए, मैले पत्याएँ कार्ड मागिँन ।

बर्ष दिन पनि बितेको थिएन । मेरा हाकिम मित्रको कार्यालयमा मेरो आफ्नै एउटा काम पर्‍यो । मेरो हाकिम मित्रले एउटा फाँटमा सम्पर्क राख्‍न लाएपछि मैले फाँटमा सम्पर्क राखेँ । ‘तपाईको निक्कै गहकिलो काम रहेछ, यसबाट तपाईंलाई निक्कै लाभ हुने रहेछ, काम त भैहाल्छ, हामीलाई पनि यसबाट केही लाभ पुग्नुपर्‍यो, त्यसकारण हामीले पाउने पैसा लिएर आउनोस्– फाँटवालाले बताए । मैले मेरा हाकिम मित्रका त्यस दिनका कुरा झलझली सम्झेँ, जुन दिन उनले झपारेका थिए । यसैले फाँटवालाको कुरो लिएर हाकिमकहाँ पुगेँ । हाकिमले वर्तमान महङ्गीको विश्लेषण गरे र तलव स्केल बताए । हामी त्यस कार्यालयमा काम पर्नेहरुले त्यसरी नदिए त पेटै नभर्ने, व्यवहारै नचल्ने कुरा बताए । मैले कार्ड मागिनँ, पत्याएँ र टेवलमा पैसा राखेर काम गरेर फर्केँ ।

एक पटक एकजना नेता चुनाउमा उम्मेदवार भए । हामीले उनको प्रचार गर्नुपर्ने भयो । केका आधारमा अरू उम्मेदवारभन्दा तपाई योग्य
त ? मैले नेतालाई प्रश्न गरेँ । नेताले भने– म नैतिकवान् छु, इमान्दार छु, भ्रष्टाचार–विरोधी छु । हामीले पत्यायौं, कार्ड मागेनौं र हामी सिधा सोझा गाउँलेलाई हाम्रा नेताको गुणगान बखान्न थाल्यौं, गाउँलेले पत्याए, ‘कार्ड’ मागेनन्, नेताले चुनाउ जिते । धेरै समय भएको छैन, नेताले घर बनाए, जमिन जोडे, बन्द–व्यापारमा हिस्सा पाए, जिन्दगी सपारे । अझै पनि नेता भाषण गर्दैनन्, भाषणभरि नैतिकता, इमान्दारिता, त्याग र बलिदानका कुरा हुन्छन् हामी पत्याउँदैछौं, नेताका भाषण सुन्दैछौं, तर हामीले ‘कार्ड’ मागेका छैनौं । किनभने हामी जे भने पनि पत्याउँछौ, हामी कन्डक्टर हौं ।