लेख / रचनाहरू

पीपलको रूख – मनमोहन अधिकारी

पीपलको रूख मनमोहन अधिकारी

मैले चिनेका मान्छेहरूमा असामान्य मान्छे हुनुहुन्छ– मनमोहन अधिकारी । मैले चिनेका असामान्य मान्छेहरूमा साह्रै सामान्य मान्छे हुनुहुन्छ – मनमोहन अधिकारी । उहाँ एउटा �� ूलो पीपलको रूख हुनुहुन्छ, जस्तो मलाई लाग्छ । आदर्शै – आदर्शले भरिएको व्यक्तित्व हो मनमोहन अधिकारीको । उहाँजस्ता राजनेता अब यस मुलुकमा जन्मलान् जस्तो मलाई लाग्दैन ।

मैले आजभन्दा २९/३० वर्ष अगाडि उहाँलाई विराटनगरमा उहाँकै घरमा पहिलोपटक भेटेको थिएँ । त्यसपछि बाक्लै भेट भयो । उहाँले माया गर्नुभयो । स्नेहले भरिपूर्ण हात मिलाउनुभयो । यस्तो क्षण म अल्लारेका लागि निकै महत्वपूर्ण र उत्साहप्रद हुन्थ्यो । कुनै समस्याका बारेमा उहाँका बिचार सुन्दा आधिकारिक विचार जस्तो लाग्थ्यो ।
हुनत, म उहाँ अध्यक्ष रहनुभएको नेकपा एमाले को साधारण सदस्य छैन । २५/२६ सालताका उहाँको प्रभावको पूर्व कोशी निकट पुगेको थिएँ, झापा काण्डले त्यो निकटता कता पुर्याँयो ? अहिलेसम्म मैले भेटेको छैन र खोज्न पनि प्रयत्न गरिन । त्यति बेला मनमोहन अधिकारी झापा आउनुहुन्थ्यो । हामीसँग बस – उ��  गर्नुहुन्थो । हामी गाउँ – घर घुमाउँथ्यौ । उहाँका बोली बचन, व्यवहार, आचरणबाट म निकै प्रभावित भएँ । नेता त यस्तै हुन्छन् जस्तो मलाई लाग्थ्यो ।
समयको क्रमले झापाकाण्ड जन्मायो । तत्कालका समूहबाट द्रोणाचार्य क्षत्री र म झापाकाण्डमा समाहित हुन सकेनौ । पूर्व कोशी फाट्फुट वक्तव्यबाहेक हरायो । कहिले विराटनगर कहिले का�� माडौंमा मनमोहन अधिकारीसँग भेटघाट सम्पर्क भैरहन्थ्यो । उहाँ हामीलाई बच्ने र अडिने प्रेरणा दिइरहनुहुन्थ्यो । झापाकाण्डमा समाहित हुन नसकेका  प्रशासनका नजरमा राम्रैसँग चढेका हामीहरूले उहाँकै प्रेरणाले असजिला क्षणहरूलाई तह लाउन सक्यौं जस्तो लाग्छ ।

जनमत सङ्ग्रह घोषणा भएको दिनमै भद्रपुरमा काड्ग्रेसी मित्रहरूसँग मिलेर हामीले पञ्चायतका विरुद्धमा एउटा जुलुस निकाल्यौ । पञ्चायतका विरुद्धमा बोल्यौ । मलाई राम्रै सम्झना छ, नगरपालिकाछेउको बस स्टैन्डमा हामी बोल्न लाग्दा पञ्चायतका डरले मानिसहरू दोकानभित्र लुकेर सुन्दै थिए । यस्तै २/४ कार्यक्रममा बोलेपछि नेकपा मालेसँग जोडिएका मित्रहरूले मलाई यसरी बहुदलको पक्षमा नबोले उचित भनेर रोक्न खोज्नुभयो । मेरो चित्त बुझेन । मनमोहन अधिकारी पनि बहुदलको प्रचारमा सक्रिय भएको बुझेपछि, म ढुक्क भएको थिएँ ।
हामीले बहुदलको प्रचार गर्न नरेशकुमार बर्माको अध्यक्षतामा एउटा समिति बनायौं । द्रोणाचार्य र मैले विशेष पहल गरेर त्यो समितिमार्फत २०३६ सालमा झापामा बोलायौ । पहिले बिर्तामोड त्यसपछि सुरूङ्गामा र पृथ्वी नगरमा सम्पन्न आमसभामार्फत मनमोहन अधिकारीले झापालीलाई सचेत गराउनुभएको थियो । त्यसै कारण व्यापक धाँधलीका वावजुद बहुदलका पक्षमा व्यापक मतदान भएको थियो । ती सभाहरूमा झापालीहरू उहाँका कुरा सुन्न  र उहाँलाई हेर्न साह्रै उत्साहित थिए । इलामका साथीहरूको अनुरोधमा हामीले सम्पर्क गरेर उहाँलाई इलाम प�� ायौ । बिहानै विराटनगरबाट मोटरसाइकलमा विर्तामोडसम्म आएर इलाम जानुभयो । बसमा सिट थिएन । मुढामा बसेर जानुभयो । एक जना यात्रीलाई हामीले सिट छाडिदिन अनुरोध गर्दा उहाँले हामीलाई रोक्नुभयो र भन्नुभयो – “कहिलेदेखि मिलाएको होला नछोडाउनुहोस् ।”

२०४६ सालको जन आन्दोलनमा उहाँ शारीरिक रूपमा अतिशिथिल भएर पनि अगाडि बढ्नुभयो । यसले धेरैलाई आन्दोलनमा लाग्न प्रेरणा दिएको थियो र आन्दोलन सफल भयो । पछि एमाले नहुदासम्म मालेका नेता कार्यकर्ताहरू उहाँलाई काङ्ग्रेस परस्त भनी आलोचना गर्दथे, मलाई चित्त बुझ्दैनथ्यो र म प्रतिवाद गर्दथे । अहिले पनि मलाई विश्वास छ, यो उहाँप्रति हल्का टिप्पणी हो जो यथार्थ थिएन । काङ्ग्रेसका विरुद्धमा त उहाँ कडा प्रहार गर्नुहुन्थ्यो ।
२०३६ सालमा जनमत सङ्ग्रहमा संयुक्त भएर जान उहाँले काँग्रेस समक्ष प्रस्ताव राख्नुभयो । यो प्रस्तावसँग काङ्ग्रेस तर्सियो । नेकपा मालेले जनमत बहिष्कार, उपयोग र फेरि नीतिगत बहिष्कारको बाटो अपनायो । मलाई त विश्वास छ, उहाँको कुरा काङ्ग्रेसले मानेको र तत्कालीन माले त्यति बेलै बहुदलमा  लागेको भए २०३७ सालमा नेपालमा बहुदल आउने थियो ।

म राजनीतिलाई अलिक टाढाबाट गोडमेल गर्न रुचाउने मान्छे ! २०५० सालमा द्रोणजीको निधन पश्चात् झापाको १ नं क्षेत्रको उपचुनावमा म सांसदको उम्मेदवार बनाइएँ । मलाई जिताउन उहाँ झापा आउनुभयो । ४/५ दिन मसँगै प्रचारमा लाग्नुभयो । मलाई धेरै कुरा सिकाउनुभयो । पार्टीलाई चुनाव जित्न आवश्यक कुराको निर्देशन दिनुभयो । मैले नरुचाएको चुनावमा म हारें, तर मलाई विश्वास छ– पार्टीले उहाँको निर्देशन पालना गरेको र मलाई उ�� ाउनेहरूमध्येकैले मलाई हराएर मज्जा लिन नखोजेको भए म चुनाव हार्ने थिइन ।
२०५६ सालको चुनाव अभियानमा बोल्दा – बोल्दै उहाँ थला पर्नुभयो र बित्नुभयो । एक युगपुरुषको अन्त भयो । उहाँका बारेमा मेरो निष्कर्ष छ, – मनमोहन अधिकारी असामान्यताभित्रको सामान्य व्यक्ति हुनुहुन्छ र सामान्य व्यक्तिमध्येका असामान्य व्यक्ति हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *