इमानका प्रतीक तुर्साहेमरम

झट्ट  हेर्दा अति सरल लाग्ने, दुब्लो­– पातलो, कालो रङ्को, उहाँ गाँउ – घरवाटै आएको जस्तो भान हुने, नचिन्नेले आवरण र आकृतिमात्र हेरेर उहाँसँग जे क्षमता छ, त्यो थाहै नपाउने तथा अनुमानसमेत गर्न नसक्ने –तर नेपालका राजनीतिक हस्तीहरूले सङ्गत गरेका, विश्वेशरप्रसाद कोइरालाले पत्याएका, सी के प्रसाई जस्ता नेताहरूले सन्मान गरेका , फलामे दृढता भएका, पञ्चायतले कुनै मूल्यमा गलाउन नसकेका, बर्षौ जेलको कहर काटेका, जेलभित्र पनि फलामे सिक्रीले बाँधिएका, सिद्धान्त बिचलनप्रति टसमस नहुने , सुख सुविधा राम्रो खान – पान नखोज्ने ,ऐस आराम नरोज्ने यस्तै यस्तै कुराहरू, स्वभावहरू मिसिएका मान्छेको नाम तुर्सा हेमरम हो ।

यसै त, जस्तो दिन ल्याउन तुर्सा हेमरम वलिदान हुन तयार हुनुभएको थियो, त्यो दिन आएपछि तुर्सा हेमरमसमेतको वलिदानको वाली खाँदै गरेका काङ्ग्रेसीहरूले तुर्सालाई गनेनन् । तुर्साले त्यस्तो नगन्नुको पीडा पनि महसुस गर्नुभएन  । तुर्सा सधै कर्तव्य पूरा गर्न हिडिरहनुहुन्थ्यो । उहाँ प्रतिफलको आशा नगरी निरन्तर हिडिरहने पथिक  । निरन्तर हिड्दै रहने, हिड्दै रहने । जीवनपर्यन्त तुर्सा हिडिरहनुभयो । सिद्धान्तका लागि, आदर्शका लागि उहाँको यात्रा अविरल रह्यो ।

धेरै नाम सुनेका तुर्सासँग २०३६ सालमा मात्र मेरो भेटघाट भयो । उहाँलाई भेट्ता अरू नाम सुनेर पछि भेट्ता आश्चर्य मान्नेहरूलाई जस्तो मलाइ आश्चर्य लागेन । मैले उहाँका बारेमा पर्याप्त जानकारी र सूचना प्राप्त गरेको थिएँ । कुराकानीमा प्रजातन्त्रप्रतिको उहाँको निष्ठा र विश्वासमा दृढता पाइन्थ्यो । लाग्थ्यो, उहाँ सरलताभित्रका महत्वपूर्ण व्यक्ति  । उहाँले उहाँको जातिगत समुदायमा, अन्य पछाडि परेका र तराइका आदिवासी समुदायमा राजनीतिक चेतना जगाउने महत्वपूर्ण कार्य गर्नुभयो । त्यतिमात्र नभएर अन्य समुदायमा समेत तुर्सा राम्रो उदाहरण बन्नुभएको थियो ।

झापामा अहिले जस्तो काङ्ग्रेसको बजार थिएन । काङ्ग्रेसलाइ दुखका दिनमा पनि साथ दिने थोर निष्ठावान् काङ्ग्रेसमा तुर्सा हेमरमको नाम आउछ । उहाँकै कारण झापामा आदिवासी जनजाति, तराईवासीमा काङ्ग्रेसका नेताहरु पुग्न सक्तथे । काङ्ग्रेसको पछिल्लो  हतियार बन्द आन्दोलनमा तुर्साको उत्साह र संलग्नतालाइ त्यो पार्टीका ठूला नेताहरूले महत्वका साथ लिएका थिए । तुर्सा अनेक हिसाबले पार्टीको महत्वपूर्ण सम्पती हुनुहुन्थ्यो । धेरैको टिप्पणी रहेको छ – “पछिल्ला दिनहरूमा तुर्सालाइ पार्टीले उपयुक्त सन्मान दिन सकेन र कदर गरेन ।” कुन्नि ! काङ्ग्रेसको इतिहासमा कसरी उल्लेख छ ? तर पार्टीका लागि जीवन दिने योद्धाहरूलाई उपयुक्त रूपमा नसम्झने परिपाटी र संस्कृतिले आगामी पुस्तालाइ के उत्साह दिन सक्छ र ?

मलाई त्यस दिन निकै खुसी लागेको थियो, त्यस दिन झापाको बिर्तामोडमा जेसिजका पूर्व अध्यक्षहरूले आयोजना गरेको उत्कृष्ट नागरिक सन्मान समारोहमा प्रथम उत्कृष्ट नागरिकका रूपमा निर्णायकहरूका तर्फबाट मैले तुर्सा हेमरमको नाम घोषणागर्न पाएको थिएँ । त्यसो त त्यो घोषणाबाट तुर्साभन्दा सुकिला लुगा लगाएका, सन्मानकालागि हात थापि रहेका काङ्ग्रेसी अनुहारहरू खुम्चिएका थिए । तर त्यो घोषणामा परेको नाम सफेद काङ्ग्रेसी अनुहारभन्दा घोषणाका लागि सुहाएको नाम थियो । आयोजकहरूका अगुवा गोपालकुमार बस्नेतले निर्णायकहरूलाई स्वतन्त्र रूपमा निर्णय गर्ने वातावरण निर्माणगर्न र त्यो निर्णयलाई अन्तर्मनले स्वागतगर्दै लागूगर्न जुन उत्साह र तत्परता देखाउनुभयो , वास्तवमा त्यो प्रचलन र प्रकृयाले उत्कृष्ट नागरिक सम्मानको गरिमा अझ वढेकोछ ।

 

तुर्सा हेमरमले दिएजति  प्रतिफल त त्यो सन्मानले पुग्दैन होला ! तर झापाले सार्वजनिक सन्मान गरेर तुर्साको अलिकति रिण तिरेको मैले महसुस गरें । वास्तवमा आफ्नो जीवन, सम्पती सवै प्रजातन्त्र प्राप्तिको लागि आहुति गर्ने तुर्सा जस्ता मान्छे जेसिजले पवित्र उदेश्य राखेर स्थापना गरेको यस्तो पहिलो सन्मानको हकदार हुनु स्वाभाविक हो ।

अहिले त निकै वर्ष विति सकेको छ । एक दिन बिहानै रेडियोले समाचारमा भन्यो – “तुर्सा हेमरमको निधन भयो , काङ्ग्रेसको पार्टी कार्यालयमा तुर्साको लास राखिएको छ ।”  यो समाचारलाई मैले कठोर मन लिएर स्वीकार गरें । फुलको एउटा गुच्छा लिएर म तत्कालै बिर्तामोडस्थित काङ्ग्रेस पार्टी कार्यालय पुगें । त्यहाँ काङ्ग्रेसका दुखका दिनमा पनि काङ्ग्रेस नै भएर काङ्ग्रेस थाम्न लुरू – लुरू हिडीरहने डिल्ली सिटौला साँच्चै आफ्नो सहयात्री गुमाएर मन बिह्वल पारेर झोक्राइरहेका  थिए । उनलाइसाथ दिने काँङ्ग्रेसहरूमा ५, ६ जना मात्र अरू थिए । त्यहाँ डिल्ली सिटौलाका अनुहारमा उनी अव एक्लै भएजस्तो मैले देखें र तुर्साको निधनले सवैभन्दा उनैलाई वढि आघात पारेको पनि मैले उनका अनुहारमा पढें । सफा कपडा लगाएका, तडक भडकसहितका अरु काँङ्ग्रेसहरू त आइपुग्नै भ्याएका थिएनन् । म केही क्षण बसें, प्रजातन्त्रका लागि लड्ने एउटा योद्धालाई, एउटा साँच्चैको काङ्ग्रेस, मनैले काङ्ग्रेस तुर्सा हेमरमलाइ श्रद्धाञ्जली दिएर म हिडें । मलाइ लाग्यो – तुर्सा काङ्ग्रेसभन्दा धेर त्यागि र इमानदार हुनुहुन्थ्यो । एउटा इमान्दार मान्छेको अवसान भयो । हो, तुर्सा हेमरम इमान्दारहरूका प्रतिक हुनुहुन्थो ।