उनीहरूले सपथ लिए

उनीहरूले शपथ लिए
हामीले हेरिरह्यौ‚ सुनिरह्यौ
शपथमा नयाँ पनि थिए
पुराना पनि थिए 
शपथ मुलुक र जनता प्रति वफादार हुने थियो 
शपथ निष्ठा र विश्वासको थियो 
शपथ संविधान प्रति वफादार हुने थियो 
शपथ मुलुक र जनताको सोझो चिताउने थियो 
शपथ इमानदारीको थियो 
मेरो मनमा भने यसै एउटा प्रश्न उठ्यो 
“ओ माननीयज्यू ! तपाइले शपथ लिनु भएको कुरा साँच्चै हो ?”

हो भने त ठीक भयो 
राम्रो भयो 
तर 
त्यहाँ हाम्रा गाउँको एउटा भाइ पनि रहेछ
जसले केही भन्नु अगाडी सधैँ − “सत्ते ढाँटेको हैन”− भन्थ्यो
अनि सधैँ ढाँट्थ्यो 
अरू पनि रहेछन्
जेलमा बस्नु पर्ने 
अलमलमा त्यहाँ पुगेछन्
भ्रष्टाचारको आरोप लागेकाहरु रहेछन्
ठूला – ठूला ठेक्का लिएका
पैसा मात्र लिएर काम नगरेका पनि रहेछन् 
दौरा सुरुवाल कोट टोपी लगाएका 
मन विदेशीको भएका पनि रहेछन्
पाँच वर्ष फेरि जागिर थपियो भन्दै पुगेका पुराना पनि परेछन् । 

मलाइ अलिक चिन्ता र छटपटी लागेको छ 
इमान्दार कोही भए 
ती
पुराना र नयाँको माया जागेको छ 
फोहोरको पिचकारी हानाहानमा 
सेतो वस्त्र पहिरन भएका ओ माननीयहरू ! 
पाँच वर्षपछि
के तपाइका सेता वस्त्र र शपथको कागज 
बेदाग भएको 
हामीलाई देखाउन सक्नुहुन्छ ?