ठूला घरेहरू

ठूला घरका झ्यालका पर्दाहरू पातला भकाएछन् 
पारदर्शी भकाएछन् 
हुदा - हुदै ठूला घरका झ्यालका 
पर्दा हराएका छन्,
अहिले त
भित्रका दृश्यहरू देखिँदै छन्
तर थाहा छैन उनलाई
अनि त
ठूला घरेहरू ढुक्क छन्
तर उनका मन र पेटहरू 
छरपस्ट भएका छन् -
उनका भ्रष्ट कृत्यहरू 
सर्वत्र पुगेका छन् ।

पर्दा लाउनु भनेको 
दृश्यहरू छोप्नु हो 
दृश्यहरू रोक्नु हो 
दुष्कृत्यहरू रोक्नु हो 
त्यसैले 
ठूला घरमा 
धेरै पर्दा लाग्छन् 
ठूला घरमा दुष्कर्महरू धेरै हुन्छन् 
ठूला घरमा अधर्म र पाप पनि धेरै हुन्छन् ।

ठूला घरेहरु 
पहिला पहिला त 
बाक्ला र मोटा पर्दा लगाउथे 
र लुकेर दुष्कर्म गर्थे
भद्रताको खोल भित्र, आवरण भित्र बस्थे
दुष्कर्म र पाप त गर्थे
तर 
शालीन देखिन रहर गर्थे
अभद्र मन र मस्तिष्क लुकाएर 
भद्र देखिन रहर गर्थे 
बाक्लो पर्दा भित्र बसेर 
षडयन्त्रकारी मनलाई धारिलो बनाउथे ।

अहिले त 
ठूला घरेहरु,
कमिसन खान बानी परे 
जाली बिल बनाउन बानी परे
त्यसैले 
ठूला घरेहरू
पातला पर्दा किन्न थाले 
मोटा बिल बनाउन थाले 
अझ अहिले त 
ठूला घरेहरू 
बिलमात्र बनाउन थाले
पर्दा लाउन छाडे 
आफ्नै घरको पर्दाको 
जाली बिलमात्र बोक्न थाले 
र झ्यालमा पर्दा लाउन छाडेपछि 
ठूला घरेहरु 
झन् धेरै दुष्कर्म र पाप गर्न थाले ।

२०७१ जेष्ठ ।