फोहोरको डङ्गुर

भूपिशेरचनले मुलुकभरि
हल्ला चलेको भेटेका थिए
हल्ला देखेका थिए
र यो हल्लै हल्लाको देश हो 
भन्ने कविता लेखेकाथिए
अहिलेसम्म उ बाँचेका भए
मलाइ लाग्छ
उनले यो फोहोरै फोहोरको देश हो 
भन्ने कविता पनि लेख्ने थिए
किनभने−
देश हाक्नेहरुको मन र मस्तिष्कमा 
फोहोरको डङ्गुर छ 
अझ उनको नियतमा 
त्यो  भन्दा ठूलो डङ्गुर  छ
उनको भित्री योजनामा अझै ठूलो डङ्गुर  छ
केन्द्रीय सचिवालय भवनमा 
त्यो भवन भन्दा ठूलो डङ्गुर छ
जत्र तत्र  फोहोरै फोहोरको डङ्गुर 
त्यो देखिन्छ 
सडक र पेटीमा पनि सधै फोहोरको डङ्गुर छ
सडक र पेटी उनको मन मष्तिष्क जस्तै 
फोहोरले भरिएको छ 
सडकमै अनेक फोहीरी तमासा चल्छन् 
त्यो पनि देखिन्छ  ।

काजीहरू हैन भन्छन्
हामी ताली ठोक्छौ
काजीहरू डङ्गुरमा उभिएर
सफा भाषण गर्छन्
हामी हो भन्छौ
कमिसनको चेक र नोटले भरिएको
ब्रिफकेस थन्काउने समय नमिलेर 
काजीहरू त्यो लिएरै  समारोहमा जान्छन् 
र भ्रष्टाचारको धज्जी उडाउँछन्
हाम्रा ताली परर्र पार्छन्
यसरी चल्दै छ
चलिरहेछ ।

तर हो‚
भ्रष्टाचार र कमिसनमा डुबेका काजीहरू
भ्रष्टाचारका विरुद्धमा खासा बोल्छन् 
क्षमतावान छन्
काजीहरू
अप्ठ्यारो परेपछि 
आफ्नै कार्यको कडा विरोध गरेर 
राम्रो वक्तामा गनिन्छन्  
आफूले निर्माण गरेको विकृतिका विरुद्धमा
घण्टौ बोल्छन्   
अनि त हाम्रा काजीहरू नेता भकाएछन् 
फोहोरको डङ्गुरमा उभिएर 
मन मष्तिष्कमा फोहोरको चाङ् बोकेर 
घण्टौ बोल्छन्
क्षमतावान हुन्‚ हाम्रा नेताहरु 
कठै ! अहिले भूपिसेरचन पो छैनन् ।
   
२०७९ साउन १ ।