भत्काउनेहरू

उनीहरू‚
नियतमा खोटै खोट 
र अरूलाई प्रहार गर्न अनगिन्ती चोटै चोटको भण्डार बोकेर 
केही गर्न 
तयारीमा देखिन्छन् 
सकृय छन्
र अहिले त भत्काउदैछन् 
घर‚ रहर‚ जीवन र मन
भत्काइ रहेछन् 
धुलो‚ माटो र वन	
र उनीहरूलाई मज्जा भइरहेछ
हँसिला भकाएछन्
कुरूप भएपनि
उनीहरू आफैलाई आफू सुन्दर सुन्दर लागेको छ ।

घर भत्काउनेहरु 
फगत घर  भत्काउँदैनन्
मन  भत्काउँछन्
आस्था  भत्काउँछन् 
विश्वास  भत्काउँछन्
मान्छेको ओत भत्काउँछन् 
सियाँल भत्काउँछन्
निन्द्रा  भत्काउँछन् 
मान्छेको भोक भत्काउँछन्
र शोक फलाउँछन् 
हो‚ उनीहरू 
घर सँगै मान्छे भत्काइ रहेछन् 
मान्छेसँग आफै भत्किई सकेपछि 
के बाँकी रहन्छ  र ?

सिर्जनाको नारा लगाउने उनीहरूले 
ध्वंसको तोप पड्काएपछि 
झूट‚ धोका र अविश्वासको खेती गर्नेले 
सद् विचारको माला लगाएपछि 
लाग्छ‚ मुलुकमा कार्टुनको उद्योग खुलेको छ 
खूबै फस्टाएको छ उद्योग 
मूल्य घटेको छ‚ कार्टुन र प्रहसनको
मूल्य घटेको छ
आस्था र प्रचलनको 
मूल्य घटेको छ
मान्यता र सन्मानको 
मूल्य घटेको छ 
इमान र नीतिको ।


मैले त
उनको अनुहार पनि राम्रो देखेको छैन
बानी पनि राम्रो देखेको छैन
उनले पिउने पानी पनि राम्रो देखेको छैन
नियतमा त 
बाहिर पनि 
भित्र पनि 
खोटै खोटको चाङ् छ 
उपहार दिन 
चोटै चोटको भण्डार छ 
तिनलाई  
के मन पर्यो उनको ?
यसरी हत्ते गरेका छन् 
थाहा‚ छैन  उनीहरू किन कसको फेला परेका छन् ?

हो‚ 
भत्काउन रहर गर्नेहरु
घर भत्काउँछन् 
रहर भत्काउँछन्
मन भत्काउँछन्
जीवन भत्काउँछन्
भत्काउन मज्जा पाउछन् 
ढाडे मन भाकाहरूलाई के थाहा ?
जे भत्काएका छन् 
त्यो कसले बनाएको हो ?
त्यसैले त उनलाई भत्काउन स्वाद लाग्छ
उनलाई भत्काउन रहर लाग्छ 
र उनीहरू भत्काइ रहेछन् 
सिर्जना भत्काइ रहेछन् 
बिरुवा भत्काइ रहेछन् 
अँखा र मन भत्काइ रहेछन् 
समय भत्काइरहेछन् 
इतिहास भत्काइरहेछन् 
वर्तमान भत्काइ रहेछन् ।

मलाइ मेरो समय प्यारो लाग्छ
बचपन युवा र प्रौढ बनेको मेरो जीवन प्यारो लाग्छ 
मेरो माटोपनि र धूलो प्यारो लाग्छ 
आफैलाई बेचेर  संभ्रान्त हुनुभन्दा 
मलाइ मेरो गरिबी प्यारो लाग्छ  
त्यसैले 
सावधान ! मलाइ नभत्काउ
मेरो धूलो मेरो हिलो र मेरो पानी नभत्काउ
मेरो चित्र मेरो माया र मेरो मान्छे नभत्काउ 
हाम्रा आँखा नभत्काउ 
हाम्रो कथा र इतिहास नभत्काउ
हामीलाई नभत्काउ ।

२०७८ वैशाख ।