मान्छे र मान्छेको भविष्य

सभ्यताको विरुद्धमा आयो
सृष्टिका बिरुद्धमा आयो 
सिर्जनाका बिरुद्धमा आयो 
मान्छेका बिरुद्धमा आयो
ध्वंस र उजाड लिएर आयो 
विरह र शोक सुसेल्दै आयो 
मान्छेका मनमा अत्यास छाउने गरी आयो
भाइरस मान्छेको हुर्मत लीनेगरी आयो
ज्यान लीनेगरी आयो 
महामारी बनेर आयो ।

सङ्कटबाट जोगाउँदा जोगाउँदै
खुस्किएका छन् अनगिन्ती जिजीविषाहरू
कुमारी मनमा वैधव्य पोखिएको छ 
ओहो ! कति धेरै फुलहरू झरी सके
कोपिला र बेर्नाहरू कति ?  सुकिसके  
अत्यासको त 
हुरी पनि र बाडी पनि 
चलिरहेछ‚ बगी रहेछ
विग्रह पहाड चढी सक्यो 
 थामिने चेष्टा छैन 
लाग्छ‚ 
धेरै जीवनमा अन्धकार पोतिएको छ । 

चिन्ता ग्रस्त हुनुपर्ने 
अगुवाहरू घरभरि छन् 
उनीहरूको कुनै मतो छैन
कसैले आफ्नो पुरानू धुन छाडेको छैन 
कारोबार छाडेको छैन 
कमिसन छाडेको छैन
लाग्छ‚ कति अगुवाहरू त
उसलाई 
स्वागत गर्न 
मेरो देशको सिमानामा‚ 
लाम लागेछन्  
भ्रष्ट र कमिसन प्रिय बनेका छन्
र प्रदेशहरू अस्त व्यस्त छन् 
अग्ला    अग्ला मान्छेहरू अझै मस्त छन् 
मतियार झैँ 
एक पटक हाइ मात्र काढेका छन्
लाग्छ‚ 
के अझै उनको निन्द्रा खुलेको छैन ?	

अझै कति उजाड हुने हो ?
कति बीभत्स भेल बनेर आउने हो ?
कति फूलबारी बगर हुने हो ?
कति खर बारीमा डढेलो लाग्ने हो ?
के अब संसार नै उसको हुन लागेको हो ?

ए ! मेरो देशका अग्ला अग्ला मान्छे हो !
घर छ¸ चौतारी  छ
तर उसलाई परास्त गर्न 
 किन मतो हुन्न ?
तिम्रो त्यो अग्लो     अग्लो काया 
बाङ्गो भैँ सक्यो 
किन तिमीलाई नाङ्गो भएको थाहा छैन ?
शोक ध्वनिमा कति रमाउँछौ ?
जाग न 
रोकौं¸  
रगत र आँसुको पोखरी 
र बचाऊँ¸ मान्छे  र मान्छेको  भविष्य  । 

वैशाख ६, २०७८ ।