श्रीमान्… प्रसाद

 

१.
एकपटक– यस्तो समय थियो
उहाँ श्रोताहरूका माझमा बस्नुहुन्थ्यो
गम्भीर जस्तै देखिएर भाषण सुन्नुहुन्थ्यो,
अन्त्यमा
प्रश्नको अलिक गतिलै झटारोले
मञ्चमा बसेकाहरूलाई प्रहार गर्नुहुन्थ्यो
उनीहरू अक्क – न – बक्क पर्थे
ओठ – मुख सुकेका जस्ता देखिन्थे
प्रश्नको तातोले डामिएका/क्षत –विक्षत भएका
उनीहरूको धोती–
यताबाट पनि उताबाट पनि खुस्कन्थ्यो
तैपनि ‘हामी नाङ्गा भएनौं’- भनेर उनले भनेपछि
कार्यक्रम सकिन्थ्यो
अनि – उहाँ
श्रोताहरूको भिड लिएर- अलिकपर
नाङ्गाहरूलाई अझै नङ्ग्याउनुहुन्थ्यो
र धेरै तालीको बाली समेटेर
सबैसँग बिदा हुनुहुन्थ्यो
फुर्सत मिलाएर- सुटुक्क
नाङ्गाहरूका वस्त्र बुझाइदिनुहुन्थ्यो
मान्छेहरूले यसरी नै उहाँलाई नायक बनाए
र नेता भन्न थाले ।

२.
अहिले उहाँ– श्रोताहरूका माझमा बस्नुहुन्न
मञ्चमा बस्नुहुन्छ
भाषण सुन्नुहुन्न – सुनाउनुहुन्छ
उहाँको प्रवचनको विषय सधैँ ‘निर्वस्त्र ‘ बारे हुन्छ
र उहाँ भन्नुहुन्छ–
‘नाङ्गो अनुभूत हुनु भ्रम हो
सन्सारमा नाङ्गो कोही हुँदैन । केही हुँदैन
जो पनि नाङ्गै जन्मन्छ
एउटा पहिरन पनि छाडेर मान्छे मर्छ
त्यसैले नाङ्गो हुनु भनेको त
किशोर र युवाहरूलाई लाग्ने भ्रमको रोग हो
मैले त त्यस्तो रोग, अलिक चाँडै काटेँ
बल्ल दर्शनलाई पूर्ण रूपमा बुझें
-यसरी मैले दर्शनको अर्थ प्राप्त गरें ।’
श्रोताहरूको छटपटी बढ्दै जान्छ
केही बाङ्गा – टिङ्गा र सिधा प्रश्नहरूको झटारो
श्रोताले मञ्चमा फ्याँकेपछि
उहाँमा तातो खनिन्छ
आँखाभरि रातो भरिन्छ
उहाँ तिनै प्रश्नहरूले श्रोतालाई प्रहार गर्नुहुन्छ
र भन्नुहुन्छ–
‘यस्तो अराजक प्रश्नहरूको म जबाफ दिन्न
मैले दर्शनको अर्थ प्राप्त गरेको छु
मलाई कसैले नङ्ग्याउन सक्दैन
बरु म नङ्ग्याउन सक्छु
किन भने म नेता हुँ ।’

३.
यसरी
इतिहास र वर्तमान मिसिएको उहाँका अनुहारमा देखिन्छ
र अकुत आर्जनको भव्य रेखा माझ निधारमा भेटिन्छ
पाचन शक्तिको कुरा चल्यो भने– प्रतियोगितामा भाग लिन
उहाँ फाराम भर्दै हिँड्नुहुन्छ
कुकुर पाल्नुहुन्छ–
त्यसको घ्राण शक्ति स्वात्तै उहाँमा सरेको छ
एक माइल टाढैबाट
समर्थक र विरोधी चिन्नुहुन्छ
फोनमा खोज्नेलाई–
आफैँ उहाँको दाजु, भाइ वा छोरो बोलेको भन्नुहुन्छ
चन्दा उठाउनुहुन्छ
हिसाब खोज्ने अराजकलाई ठेगान लगाउनुहुन्छ
उहाँ– बनिसकेको नेता हो
त्यसैले आफैँ आफ्नो परिचय यसरी दिनुहुन्छ –
‘म पहिला
दर्शक दीर्घामा बसेर मञ्चकालाई थर्काउँथे
अहिले मञ्चमा बसेर
दर्शक दीर्घाका श्रोता थर्काउँछु
म स्थापित छु–
नेता हुँ !
कमाइ ढाँटतिन– वरु भन्दिन
मेरो नाम श्रीमान् …. प्रसाद हो ।’

२०६०।०१।१६

विषय-सूची