लेख / रचनाहरू

●भरखरै चुनाव सकिएको छ

अलिक धेरै प्रसाधन थोपरेर 
जबरजस्ती निर्माण गर्न खोजेको सौन्दर्य 
पसिनाले लतपतिएर‚ पानीले बगाएर
निर्मित यथार्थ आकृति जस्तै भएर 
भरखरै चुनाव सकिएको छ ।
अहिले  गाउँ गाउँमा नानीहरू चुनाव खेलि रहेछन्
टीकट किन्छन्
उम्मेद्वार हुन्छन् 
चुनाव प्रचार गर्छन्
दुई समूह  बनेर 
एकले अर्कालाई गाली गर्छन्
गाली गलौज नगर्न पाकाहरूले सम्झाउँदा 
नानीहरू भनी रहेछन् 
“हामी नेता हौ 
गाली गरेर पनि जित्नु छ‚
टिकट किनेर चुनाव लडेका हौ
पैसा बाँडेर पनि जित्नु छ 
मुड्की हानेर पनि जित्नु छ” ।
नानीहरू नाची रहेछन् 
नानीहरू गाई रहेछन् 
नारा लगाउँछन् 
चुनाव रमाइलो छ
नानीहरू रमाइलो बाँडी रहेछन् 
नानीहरू अन्तर्घात खेली रहेछन् 
षडयन्त्र‚ घात र प्रति घात पनि खेली रहेछन्
अहिले
नानीहरू चुनाव लडी रहेछन् 
नानीहरू चुनाव लडाइ रहेछन् 
भरखरै चुनाव सकिएको छ
तर
नानीहरू चुनाव खेली रहेछन् ।
  जेठ ११‚ २०७९  ।