● मान्छे र मान्छेको भविष्य

सभ्यताको विरुद्धमा आयो
सृष्टिका बिरुद्धमा आयो
सिर्जनाका बिरुद्धमा आयो
मान्छेका बिरुद्धमा आयो
ध्वंस र उजाड लिएर आयो
विरह र शोक सुसेल्दै आयो
मान्छेका मनमा अत्यास छाउने गरी आयो
भाइरस मान्छेको हुर्मत लीनेगरी आयो
ज्यान लीनेगरी आयो
महामारी बनेर आयो ।
सङ्कटबाट जोगाउँदा जोगाउँदै
खुस्किएका छन् अनगिन्ती जिजीविषाहरू
कुमारी मनमा वैधव्य पोखिएको छ
ओहो ! कति धेरै फुलहरू झरी सके
कोपिला र बेर्नाहरू कति ? सुकिसके
अत्यासको त
हुरी पनि र बाडी पनि
चलिरहेछ‚ बगी रहेछ
विग्रह पहाड चढी सक्यो
थामिने चेष्टा छैन
लाग्छ‚
धेरै जीवनमा अन्धकार पोतिएको छ ।
चिन्ता ग्रस्त हुनुपर्ने
अगुवाहरू घरभरि छन्
उनीहरूको कुनै मतो छैन
कसैले आफ्नो पुरानू धुन छाडेको छैन
कारोबार छाडेको छैन
कमिसन छाडेको छैन
लाग्छ‚ कति अगुवाहरू त
उसलाई
स्वागत गर्न
मेरो देशको सिमानामा‚
लाम लागेछन्
भ्रष्ट र कमिसन प्रिय बनेका छन्
र प्रदेशहरू अस्त व्यस्त छन्
अग्ला अग्ला मान्छेहरू अझै मस्त छन्
मतियार झैँ
एक पटक हाइ मात्र काढेका छन्
लाग्छ‚
के अझै उनको निन्द्रा खुलेको छैन ?
अझै कति उजाड हुने हो ?
कति बीभत्स भेल बनेर आउने हो ?
कति फूलबारी बगर हुने हो ?
कति खर बारीमा डढेलो लाग्ने हो ?
के अब संसार नै उसको हुन लागेको हो ?
ए ! मेरो देशका अग्ला अग्ला मान्छे हो !
घर छ¸ चौतारी छ
तर उसलाई परास्त गर्न
किन मतो हुन्न ?
तिम्रो त्यो अग्लो अग्लो काया
बाङ्गो भैँ सक्यो
किन तिमीलाई नाङ्गो भएको थाहा छैन ?
शोक ध्वनिमा कति रमाउँछौ ?
जाग न
रोकौं¸
रगत र आँसुको पोखरी
र बचाऊँ¸ मान्छे र मान्छेको भविष्य ।
वैशाख ६ । २०७८