जाहेरी

१. एउटा चारदिवारीभित्र-
जहाँ सवै सुविधाहरुलाई कैद गरिएको छ
र त्यसभित्र तपाईलाई कैद गरिएको छ
त्यसरी कैद पर्नुभएका-
अमेरिकन सिनेटरभन्दा राम्रो देखिनुहुने
वेलायतको लर्डभन्दा पनि चिल्लो देखिनुहुने
मेरो देशका माननीय सांसदज्यू !
झण्डा भएको गाडीमा चढेर
मन्त्रीपद बोकेरै- संसद्भित्र पसेर
आफ्नै विरुद्धको अविश्वासको प्रस्तावमा मत दिएर
आफैंलाई ढालेर/मन्त्री भएरै झण्डावाला गाडीमा घर फर्केका
सम्माननीय ! मन्त्रीज्यू !
प्रहरीका वरिषठ र जहरिला-जहरिला हाकिमहरु !
एउटा जाहेरी गरेको छु
भएको व्यहोराको एउटा दरखास्त भरेको छु
मलाई थाहा छ- यस जाहेरीले तपाईहरुलाई छुँदैन !
यो जाहेरी तपाईहरुलाई केही हुँदैन !
तैपनि – मैले
तपाईहरुसमक्ष एउटा जाहेरी दरखास्त गरेको छु
एउटा कविको मन यसरी कहेको छु ।

२. तपाईहरु !
कोही महाकालीको वगरमा हुनुहुन्थ्यो
कोही आतुरतासाथ महाकाली तर्दै हुनुहुन्थ्यो
मेची सिमानामा पश्चिम फर्केर देश खुम्च्याउँदै हुनुहुन्थ्यो
खरब-खरबका भाषण छर्कदै हुनुहुन्थ्यो
पटक-पटक मेची र काली पारि फर्कदै जाँदै हुनुहुन्थ्यो
प्रहरीहरु ! सांसद तार्दै हुनुहुन्थ्यो
सवै जना
आफ्नो र सन्तानको चिट्ठाा पार्दै हुनुहुन्थ्यो
ठिक्क त्यसै वेलामा-
झापामा थोकको भाउमा एउटा व्यापार चलेछ
अनागरिकलाइ दिने प्रमाणपत्रको भाउ बढेछ !
व्यापार त आसाम पुगेछ, विहार पुगेछ
सिलिगुडी र सिक्किम भरिएछ
हो, व्यापार खूप चलेछ
भीड भएछ
अफिसकपी राख्नै संभव भएनछ !

३. राम्रो – चिटिक्क परेको
लेमिनेशन गरेको
प्र.जि.अ.ले राम्रो सही गरेको
एउटा प्रमाणपत्र त आजकल
विहारबाट आउने मान्छेसँग पनि हुन्छ-भन्छन्
फरेनगुड्स किन्न धुलावारी आउनेको
पारदर्शी कमिजको गोजीमा- वाहिरैबाट देखिन्छ भन्छन्
भूटानी शरणार्थीहरु त के शरणार्थी ?
धेरैले नेपाल र भूटान दुवैको नागरिकता बोकेका छन्
बंगाली दादाहरु सिलिगुडीमा
मेरो नेपाली प्रमाणपत्र भन्दै देखाउँछन्
झापामा त आजकल
तरकारी ल्याउने- सर्वत पियाउने
बाँदर र भालू नचाउने
जादू र चटक देखाउने
सर्प खोज्ने
बरफ वेच्ने सवैसँग
केही हरफहरुको नागरिक प्रमाणपत्र हुन्छ भन्छन् ।

४. आदरणीयहरु !
सांसद, नेता र मन्त्रीहरु !
ठूला-ठूला हाकिमहरु सवैज्यूहरु !
यो जाहेरी हो !
तपाईहरुलाई जाहेरी जस्तो नलागे जाहेर हो
हामी त अहिलेसम्म भन्दैछौं
अरूहरु यसरी देशभित्र आए
हाम्रो सभ्यता खाए, संस्कृति र परम्परा खाए
तर- उनले
मेची सर्यो भन्दा- तपाईंहरु ‘हो’ भन्नुहुन्छ
कालापानी भारतको ठान्नुहुन्छ
महाकाली जिम्मा लाउनुहुन्छ
रित्तो खल्ती-भित्र खरब-खरब छ भन्नुहुन्छ
थाहा छैन हामीलाई
कुन्नि ! तपाई र उनीहरुमा कहाँनिर अन्तर छ ?