यसपल्ट मलाई यस्तो लाग्यो

यसपल्ट मलाई यस्तो लाग्यो

हराए-हराए जस्तो
फेरि धेरै भएर आफैं भेटिए जस्तो
सपना पनि जस्तो
हातभरि सपनै भेटिए जस्तो
हो, राहुतेबाट पूर्व हेर्दा
यसपल्ट मलाई यस्तो लाग्यो !
निक्कै हुर्किएछ पनि
अलिक फुर्किएछ पनि
झण्डै पोथ्राहरुले मलाई चिनेनन्
झण्डै थुम्काहरु बोलेनन्
तर जुरीथुम्काले मुस्कुराएर स्वागत गर्‍यो
म राहुतेमै छँदा ऊ बिभोर भयो
हो मलाई देखेर जुरीथुम्को हँसिलो भयो !
चुथ्राका बोटहरुले त मलाई चिने
सेतै फुलेछ पो भने
बूकीफुल र कोराईको उनिउ त उस्तै रहेछ
डाँडेखोलाको पानी त झन् मीठो भएछ
‘काफल पाक्यो !’ भन्ने चरो त अझै रहेछ
के भएर हो कुन्नि ?
मेरो गाउँ त झन्‍ राम्रो पो भएछ !
जुरीथुम्काको टुप्पामा उभिएर
एकपल्ट म तेन्जिङ बने
मेरो छोरालाई गाउँको महिमा भनें
साँच्चै मेरो गाउँ हुर्कदै रहेछ
सम्पन्नता र सभ्यता छर्कदै रहेछ
कहिल्यै बृद्ध नहुने
रोग र शोकले नछुने
आनन्द फलाउने कोठेबारी भएको रहेछ मेरो गाउँ !
मेरा पुर्खाभन्दा पुरानु
हिमाल जस्तै स्निग्ध र ओवानु
मेरो जुरीथुम्को
अझे मभन्दा कलिलो छ
कति माया फलाउन सक्छ ?
कति मलिलो छ ?
गाउँभरि
को खान्छ ? को भोकै सुत्छ ?
जुरीथुम्को हेरिरहेको छ
हो, जुरीथुम्को शान्त पनि छ
गाउँको दु:खमा ऊ क्लान्त पनि हुन्छ
तर जुरीथुम्को संभ्रान्त छ ।
अब त हूलका हूल मान्छेहरु निस्कन थालेछन्
खर्कबाट नानीहरु फर्किएछन्
चेतनाका धाराहरु दर्किएछन्
बल्ल पो गाउँ रोपिंदै रहेछ चियाका बुटाहरुमा
बल्ल पो गाउँ छोपिंदै रहेछ
योजना र उत्साहका ठूटाहरुमा
साँच्चै पो अब गाउँभरि सम्पन्नता फल्छ कि ?
अब मेरो गाउँको पसिना धपक्क बल्छ कि ?
हो ! हराए-हराए जस्तो
फेरि धेरै भएर आफैं भेटिए जस्तो
सपना पनि जस्तो
हातभरि सपनै भेटिए जस्तो
राहुतेबाट पूर्व हेर्दा
यसपल्ट मलाई यस्तो लाग्यो !