महँगी

हरेक साँझ र बिहानले
मान्छेलाई चिथोर्न खोजे जस्तो लाग्छ
हरेक दिन र रातले
मान्छेलाई बिथोल्न खोजे जस्तो लाग्छ
के गर्न सक्छ र मान्छेले ?
परिस्थिति हुतीबाहिर भएपछि
के गर्न सक्छ र मान्छेले
आफ्ना बूताबाहिर भएपछि !
साँच्चै मान्छेलाई बाँच्न अब कति गाह्रो छ
अबको मान्छे छामेर हेर कति साह्रो छ
पर्वत जत्रै महँगीले मान्छेलाई किचिरहेछ
उल्टेको साँझ र सुल्टेको बिहानले मान्छेलाई मिचिरहेछ
होसियार बन है !
महँगी पसेको छ यहाँ भ्रष्टाचारको घोडा चढेर
नैतिकताको पोइ मरेको छ यहाँ आफैं पासो लागेर
हरेक क्षणले हरेकलाई मास्तै लगिरहेछ
महँगीले हरेकलाई छाँस्तै लगिरहेछ ।
हरेक सामानले मान्छेलाई व्यङ्‍ग्य गरेर हेर्छ
हरेक सामानसँग आफूलाई नाप्न मान्छे असमर्थ ठान्छ
अब त हरेक आवश्यकताका सामु मान्छे आफैं झुक्छ
हरेक सामानभन्दा मान्छे आफै सस्तो छ
बजारमा पाइने सबै चीजभन्दा मान्छे नै बरु सस्तो छ !