साहेबहरूका चटक

पर्दा लाग्दै छन्
उघ्रदैछन्
लाग्दै, उघ्रँदै गर्दै छन् - पर्दाहरू
नाटक देखाउदैछन्, साहेबहरू
साहेबहरू आउदैछन् 
चटक देखाउदैछन् 
जादैछन् 
हामी 
ताली बजाउँदैछौ
साहेबहरू
बाली बजाउँदैछन् ।

ताली बजाउँदा बजाउँदै
हाम्रा त हातहरू खिइ सके
चटक हेर्दा हेर्दा 
हाम्रा त अनुहारहरू 
मरन्च्याँसे भै सके 
तै पनि हामी चटक हेर्दैछौ
बिचारा साहेबहरूलाई 
माया गर्दैछौ
हौसला दिदैछौ 
चटक 
प्रवर्धन गर्दैछौ 
हो 
आज पनि 
साहेबहरू चटक देखाउदैछन् 
हामी चटक हेर्दैछौ ।
सम्झन पनि पट्यार लाग्ने समयदेखि 
यसरी नै
नाटक हेर्दै
चटक हेर्दै
साहेबहरूका नाटक र चटकमा 
ताली बजाउँदै
यसरी नै चलिरहेछ 
एउटा यात्रा 
निरन्तर चलिरहेछ 
चलिरहेछ । 

अनायास
एउटा सूचना आएको छ
साहेबहरूका लागि, 
नाटक हेर्न 
एउटा हूल आउँदैछ
हूल केटाकेटीको
हूल नानीहरूको
हूल बालकहरूको । 
साहेबहरूले नाटक देखाउँदा
हूलले आँखा चिम्लिने छ
साहेबहरूले चटक देखाउँदा
हूलले
साहेबहरूलाई पनि
चटक देखाउनेछ 
बालकहरूको चटकमा 
साहेबहरू नाङ्गो हुनेछन्
दौडिने छन् साहेबहरू
गल्ली र चोकतिर 
जसरी एउटा राजा 
एउटा बालकले नाङ्गो पारेपछि 
दौडेथ्यो दरबारतिर ।

२०७१ आषाढ ।