अगाडी हिँड्नेसँग

धेरैलाई लागेको थियो 
मुलुक यस्तो होस् −
सुन्दर 
सम्पन्न
सभ्य होस् 
सबैको ओठमा हाँसो होस्
मन प्रफुल्ल
आँखामा कौतूहल र विश्वास भरियोस्
सबैका छातीमा 
हिमाल, पहाड र मदेसको माया अटाइ नअटाइ होस्
भोक इतिहास होस्
रोग हराओस् 
सिर्जनाको पौल होस् 
साँच्चै मुलुक सुन्दर होस् 
शान्त होस् 
रहर लाग्दो होस् ।

तर भएन 
केही भएन 
हुने लक्षणसम्म पनि पो भएन 
बरु 
भताभुङ्ग भयो 
लथालिङ्ग भयो
मुलुक 
अनेक पीडाले डामिएर 
क्षत विक्षत भयो 
सिर्जना हरायो 
सभ्यता हरायो 
अहिले त मुलुक 
मुलुक जस्तो पनि पो भएन 
यो मुलुकलाई माया गर्ने मान्छे नै भएन 
भएर पनि भए जस्तै भएन ।

अगाडी हिँड्ने मान्छेहरू !
तपाइका कान छोपिएका छन् 
कचेराले टालिए छन्
आँखा, खोज्नुपर्छ
तपाइका कानमा 
बतास पनि लाग्दैन 
तपाइका आँखामा हताश पनि छाउँदैन
हाम्रो मन पो
बतासले उडाउन लागेको छ 
हामीलाई हतासले 
निल्न लागेको छ 
हाम्रा मन भित्रको मुलुक 
किन 
आजकाल तपाइलाई 
नदेखिने भएको छ ?
किन ?
त्यो छातीमा 
मुलुकको माया हराएको छ ?
ए ! अगाडी हिँड्न रहर गर्ने मान्छे !
हिँड्न त बाटो चाहिन्छ 
बाटो हिँड्नुपर्छ
बाटो हुन माटो चाहिन्छ 
न बाटो न माटो 
तपाइ कता जाँदै हुनुहुन्छ ?
तपाइलाई थाहा छ ?