स्मृतिमा सजिएका एस.एल.शर्मा

आइरन लगाएको सेतो खादीको कुर्ता सुरुवाल, कुर्ता सुरुवालकै रङ्गको , केश, सधैँ चस्मा, परिचितसँग हार्दिक मुस्कान, भिडमा पनि परैबाट देखिने , अग्लो र आफ्नै पनको व्यक्तित्व – एस . एल . शर्माको । जोसँग हिमचिम भयो, किशोरदेखि बृद्धसम्मले आफूलाई एस. एल शर्माको साथी सम्झने । अरूलाई ध्यान दिएर सुन्ने आफ्ना कुरा गम्भीर भएर राख्ने ।

 

मैले इलामतिर छदै एस. एल. शर्माको नाम सुनेको थिएँ । पत्र – पत्रिकामा केही रचनासमेत पढेको थिएँ । म पहिलोपल्ट २०२४ सालमा भद्रपुर पसेको हुँ । एस. एल. शर्मालाई चिन्न गाह्रो परेन । उहाँको उचाइ नै सजिलो थियो – उहाँलाई चिन्न – तर यो चिनाई एकतर्फी थियो । अनि, २०२५ सालजस्तो लाग्छ– एक दिन उहाँसँग परिचय भयो । त्यसपछि उहाँले आत्मीय व्यवहार गर्नुभयो । उहाँको निवासछेउमै उहाँको शर्मा प्रिन्टिङ् प्रेस –  त्यसताका सार्वजनिक कार्यालय जस्तो थियो । हामी पनि हरेक दिन केही क्षण त्यहाँ अड्डा जमाउँथ्यौं । उहाँ खुलेर हाम्रो स्वागत गर्नुहुन्थ्यो । त्यहाँ हाम्रा चर्चाका विषयमा साहित्य, संस्कृति, भद्रपुरदेखि अमेरिका र चीनसम्मको राजनीतिसमेत रहन्थ्यो भने. भद्रपुरका तीन अग्ला एस. एल. शर्मा, नरनाथ पराजुली र राधाकृष्ण मैनालीसमेत कुनै दिनका चर्चाका पात्र रहन्थे । कसैले राम्रो कविता, निबन्ध लेखेको छ भने त्यहाँ सुनाउथ्यौं । चर्चा – परिचर्चा चल्थ्यो । दिनहरू रमाइला थिए ।

झापा अहिलेको जस्तो थिएन । सदर मुकाम चन्द्रगढी, तर बास बस्न सदर मुकाम जानेले भद्रपुर नै जानुपर्थ्यो । अहिले जस्तो गाउँ गाउँमा बस पुग्दैनथ्यो । सदर मुकाम जाने गाउँलेहरू ४,५ दिन बसेर काम सकेपछि मात्र गाउँ फर्कन्थे । गाउँ – ठाउँका सदरमुकाम जानेहरू एक पटक शर्मा प्रिन्टिङ प्रेस पुगेका हुन्थे । यिनै सम्पर्कका कारण शर्मा प्रिन्टिङ प्रेसको कार्यालय रनघन देखिन्थ्यो । प्रेसको कारोबारचाँहि जस्तोसुकै चले पनि । एस एल शर्मा त्यही कार्यालयको एक छेउमा कुर्सी टेबुल राखेर भेला भएका मानिसहरूले घेरिएर बस्नुहुन्थ्यो । हामी फुर्सत पाउने बितिक्कै त्यहीं दाखिला हुनेगर्थ्यौ । पछि पञ्चामृत त्यहीं छापिन थालेपछि, सामाग्री दिने, प्रुफ हेर्ने र पत्रिका निकाल्ने समेतको कार्य गर्ने हाम्रो कार्यालय नै शर्मा प्रेस रह्यो । हामी त्यहाँ २,४ घण्टा बिताउथ्यौ – प्रत्येक दिन ।

 

एस. एल. शर्माको अर्को विशेषता थियो– स्वाभिमानलाई तिखारेर बाँच्ने । शायद यसैको परिणाम थियो–तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रसँगको झडप । मिश्रले उहाँलाई निकै दुख दिएको थियो । नागरिकता खोस्नेदेखि अरु पनि दुखदिने कार्य गरे तर शर्मा गल्नुभएन र उहाँले आफूलाई धूर्त ठान्ने मिश्रलाई पछार्नु भयो । त्यस्ता घटनाबाट एस. एल. शर्माको व्यक्तित्व अझ चम्किलो बन्यो ।

 

नेपालमा धेरै राजनेताहरूसँग उहाँको सामीप्य थियो । उनीहरू झापा आउँदा एस. एल. शर्मालाई भेट्थे । त्यस्ता भेटमा एस. एल. शर्माले झापा जिल्लाको परोक्ष प्रतिनिधित्व पनि गर्नुभएको हुन्थ्यो । काठमाडौतिर पत्रकार, राजनेता र अन्य बौद्धिक जमातसँग उहाँको आत्मीय सम्बन्ध थियो । जुनसुकै बिचार र समूहका युवाहरू उहाँसँग निकट हुने र उहाँलाई आफन्तजस्तै ठान्थे । यो उहाँको अदभुत विशेषता हो ।

 

सत्ताइस वा अट्ठाइस सालतिरको एउटा घटनाले मेरो मस्तिष्कमा रमाइलो स्थान बनाएको छ । भद्रपुरमा त्यसबेला हामी सक्रिय गतिविधिमा थियौं । एउटा पर्चा छाप्ने योजना बनेर मसौदा भयो । पर्चा अलिक कडा भएकाले झापामा नछाप्ने, बाहिर छाप्नुपर्ने निर्णयसहित छापेर ल्याउने जिम्मा द्रोणाचार्य क्षत्रीलगायतका मित्रहरूले मलाई दिए । पर्चाको मसौदा लिएर म सिलिगुडी पुगे । प्रेसमा छाप्न दिएर साँझमा बास बस्नलाई रणजित होटेल छेउमा आइपुग्दा मैले देखे – मभन्दा अगाडि अगाडि एस. एल. शर्मा त्यतातिर पस्नुभयो । उहाँले मलाई देख्नुभएन । उहाँलाई देखेपछि म त अलिक हताशजस्तो भएँ । उहाँलाई पर्चाको कुरा बताउनुपर्ला भनेर उहाँलाई नभेटी म त्यहाँबाट फर्के । बास त बस्नै थियो । सिलिगुडीको धेरै कुरा बुझेको थिइनँ । अर्को होटल ब्रोड्वेमा गएँ र हलमा एउटा सिट लिएर सुतें । पर्चालाई अलिक महँगो पर्‍र्यो । हिसाब गर्दा खान सुत्न गरेर अलिकति पैसा नपुग्ने भयो । के गर्ने ? म फसादमा परेँ । सोचें, प्रेसवालालाई आधा पैसा दिने र आधा पर्चा लाने भन्छु र भद्रपुर गएर पैसा ल्याउँछु । प्रेसवालाले मेरो प्रस्ताव मानेन, म छटपटीमा परें । मेरा खुट्टा सोझै रणजित होटेलतिर लागे ।

 

उहाँका बारेमा काउन्टरमा सोधेपछि  कोठामा गएँ र भेट भयो । मैले हिजोको कुरा बताएँ । उहाँलाई देखेर फर्केको पनि भनेँ । उहाँ धक फुकाएर हाँस्नुभयो र ठट्टा गर्नुभयो –‘ झन्डै पो मलाई दुस्मन ठान्नुभएछ !‘ मैले मागेजति पैसा सजिलै दिनुभयो । पर्चाको विषय , पर्चा केही सोध्नुभएन । भद्रपुर फर्केको २ दिनपछि पैसा फिर्ता गर्न गएँ । पैसा लिन मान्नु भएन । मैले निकै जिद्दी गरे । मलाई एकान्त लानुभयो र भन्नुभयो –‘‘ त्यो त मैले तपाइको पर्चाका लागि चन्दा पो दिएको त, कहाँ  सापटी हो र ?’’ म लज्जित भएँ । साना – तिना यस्ता धेरै प्रसङ्गहरू एस. एल. शर्मासँग रहे ।

एस. एल. शर्माको अर्को विशेषता थियो – युवा विद्यार्थीहरूमा हौसला प्रदान गरिरहने । उहाँ, आफैं उत्साहित, उहाँलाई हेरेर नै उहाँलाई भेट्नेहरू उत्साहित हुन्थे । झापाका हरेक साहित्यिक कार्यक्रममा उहाँलाई भेटिन्थ्यो । राजधानीतिरबाट केही साहित्यकार, पत्रकार तथा बौद्धिक व्यक्तित्व आउँदा उहाँको प्रेसमा अनौपचारिक भए पनि कार्यक्रम नै चल्दथ्यो । कार्यक्रमहरूमा समयमा पुग्ने, अनुशासित र सौम्य रूपमा रहने , उहाँको अर्को विशेषता थियो । यसरी पनि आफूभन्दा पछाडिको पुस्तालाई उहाँले धेरै सिकाउनुभएको छ । एस. एल. शर्मा युवा र पाका सबैका मनमा सजिनुभएको छ । उहाँको निधन राष्ट्रलाई नै ठूलो क्षतिका रूपमा रहेको छ ।

एस. एल. शर्माका जीवनका अनेक पाटाहरू थिए । तीमध्ये समाजसेवा, साहित्य, पत्रकारिता, राजनीति प्रमुख हुन् । साहित्यमा उहाँको आफ्नैपन थियो । अनुसन्धानात्मक खोजपूर्ण लेखहरू तयार गर्न उत्सुक रहने शर्माले नेपाली साहित्यको यस क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँ झापाको पुरानो पत्रकार हुनुहुन्छ । झापाका धेरै पत्रकारका प्रेरक र श्रोतका रूपमा हुनुहुन्छ, एस.एल. शर्मा । उहाँ कमाउनपट्टी लाग्नुभएन । सादा जीवन र उच्च विचारका धनी शर्मा आफ्नो सरलताका कारण सबै परिचितहरूका प्रिय हुनुहुन्थ्यो । साहित्य, पत्रकारिता, समाजसेवा, राजनीतिजस्ता क्षेत्रमा शर्माले धेरै काम गर्नुभएको छ, जसको प्रतिफल आगामी पुस्ताले, समाजले पाइरहनेछ । झापाका मान्छेको मन–मस्तिष्कमा शर्मा सजिएर बस्नुभएको छ । हट्न सक्नु हुन्न । एस. एल. शर्मा चिरकालपर्यन्त झापालीको स्मृतिबाट हट्नुहुन्न ।