झापा हिजो–झापा आज

त्यति वेला झापामा पिच पसेको थिएन । सरकारी जिप र केही रसियन जिपहरू फाट्टफुट्ट दौडन्थे । सडक त, हिउँद हिउँदमा हुन्थ्यो । धूलो मनग्गे उड्‍थ्यो । झापामा थोरै भाग सडक थियो–ग्राभेल ओछ्‍याएको । राँगा गाडा र गोरु गाडाका ताँतीहरू जुलुस भएर हिँड्‍थे । तिनले गाउँ गाउँबाट भद्रपुरमा धान ल्याउँथे, पाटा ल्याउँथे । लकडीका टुनाहरू पनि बोक्थे, पार गराउँथे । गलगलिया र नक्सलमा लकडीका डिपोहरू थिए । भद्रपुरका मिलहरूले सिटी बजाउँदै गाउँ गाउँबाट ल्याएको धान कुटेर चामल निर्यात हुन्थ्यो । लकडी र चामल फाट्ट–फुट्ट ट्रकले बोक्थे तर धेरै जस्तो गाडाले । सम्पन्नहरु सम्पनी गाडामा चढेर हाट बजार जान्थे– आवत–जावत गर्थे । वर्षामा नदीहरूमा नाउ चल्थ्यो । झापाको जीवन एक प्रकारको थियो ।

झापा रमाइलै थियो । शनिश्चरेमा ३ दिन हाट लाग्थ्यो । शुक्रवार सुरु भएर आइतबारसम्म भीडभाड हुन्थ्यो । धेरैले शनिश्चरे बजार पसेर मदेश देखेका हुन्थे । पहाड र मदेशको सङ्गम थियो शनिश्चरे । त्यस बेला शनिश्चरेको यौवन फक्रेको थियो । शनिश्चरेमा नुन पनि पाइन्थ्यो– सुन पनि पाइन्थ्यो । मान्छेहरू ढाकरमा बोकेर पहाड लान्थे– चाहिने सामानहरू । घोडा पनि अलि-अलि चल्थे । अलिक पछि सुखानी, जेमद्धारको बाटो भएर जिप चल्थे तर सामान ढुवानी कमै हुन्थ्यो । अलिक ठूलो झर पानी परेपछि त बाटै भत्कन्थ्यो ।

भद्रपुर–चन्द्रगढीको आफ्नै पन थियो । चन्द्रगढी त नयाँ विकास भएको ठाउँ थियो । अड्‍डा आएपछि मात्र यसको यौवन शुरु भयो । भद्रपुर– सिटी बजाउने बजारका रूपमा चर्चित थियो । भद्रपुरमा बीसौं मिलहरू–बडेमाका थिए । बिहानै सिटी बजाएर शुरु हुन्थे, दिउँसो विसाउँदा र थाल्दा पनि सिटी बजाउँथे । राती सिटी बजाएर भद्रपुर सुनसान भएको ऐलान गर्दथे ती मिलहरूले । भद्रपुरको पहिचान नैं मिल हुनुमा थियो । यति चाँडै वैधव्य व्यहोर्नु पर्ने अन्दाज हुँदैनथ्यो– भद्रपुरका लागि त्यति बेला । भद्रपुरलाई मान्छेहरू साँच्चैको षोडशी ठान्दथे । मेची अञ्चलकै चल्ती फिर्ती र ठूलो ठाउँ भद्रपुर थियो । व्यापार रन्केको थियो ।

हो त, भद्रपुर आवागमनको पनि प्रमुख नाका थियो । काँकरभिट्टाको नाका नैं थिएन । सबैतिरका मानिसहरू (मेची अञ्चलका) भद्रपुर भएरै सिलीगुडी जान्थे र फर्कन्थे । गलगलियामा रेल चढ्थे । सिलिगुडी जान्थे– काठमाडौं जान्थे । झापाबाट विराटनगर–धरान जाने बाटो पनि गलगलिया भएरै हो र साधन रेल नैं हो । रेल चढेर कटिहार पुगेपछि रेल फेर्नु पर्थ्यो । बिहान जोगवनी पुगिन्थ्यो । धरान, विराटनगर, त्योभन्दा पश्चिम र राजधानीबाट पनि मेची अञ्चलमा पस्ने नाका भद्रपुर नैं थियो । हो, त्यति बेला भद्रपुरको महत्व झापा र मेची अञ्चलमा मात्र सीमित थिएन । मुलुककै एउटा महत्त्वपूर्ण स्थान भद्रपुर मानिन्थ्यो ।

धुलावारी र घैलाडुब्बा पनि झापाका प्रमुख स्थान त थिए, तर धुलावारी विदेशी सामानहरुले सिँगारिएको भने थिएन । घैलाडुब्बाको रनक आजको जस्तो खच्केको थिएन । त्यस भेकको प्रमुख स्थान र व्यापार केन्द्रका रूपमा घैलाडुब्बा उदाउँदै थियो । भद्रपुर–शनिश्चरे जस्तै भद्रपुर–घैलाडुब्बा ट्‍याक्सी सर्विस चल्थ्यो– हिउँदमा धूलो उडाउँदै । झापा जिल्लाको झापा त वाल विधवा हो । दिगलवैंकतिरको हावाले उसलाई साससम्म फेराएर राखेको छ ।

माईपश्चिममा आफ्नै कथाका तरेलीहरू थिए । त्यति बेला दमक त खोज्दा मात्रै भेटिन्थ्यो । अहिले मधुमल्लालाई छायामा पारेर सेप लाउने दमक त्यति वेला आफैँ मधुमल्लाको सेपमा परेको थियो । बरु गौरीगञ्जको शान थियो र शिवगञ्ज पनि आफै जवानी भर्दै थियो । यिनै त थिए नि, त्यति बेला झापाका प्रमुख स्थानहरू । आज चम्केका अरू त पछि नैं जन्मेर हुर्केका हुन् । बरु, शान्तिनगरले नयाँ जवानी रुचाएको थियो। झापाको औलोबाट बच्ने, मदेशको स्वाद धित मरुञ्जेल लिने र पहाडी सम्भ्रान्त जीवनीबाट वञ्चित नहुने जस्ता गुणहरू शान्तिनगरले यहाँका मान्छेलाई प्रदान गर्दथ्यो । हो त, मान्छेहरू त शान्तिनगरलाई झापाको काश्मीर पो भन्थे ।

झापाका हाट बजारहरू झनै रमाइला थिए । हाटहरू बेलुका मात्र लाग्दथे । हाटबजारमा पहाडे मुलका मान्छेहरू कमै हुन्थे । पेटानी लगाएका महिलाहरू, धोती र लुङ्गी लगाएका पुरुषहरूको जमघट हुन्थ्यो । हिउँदमा मेला बजारहरू लाग्दथे । डाइस, घुर्नी, जाइ, सर्कस जस्ता तमासाहरू ओइरो लाग्दथे । २/४ वटा मेलाले यहाँको वर्षभरिको जनजीवन अभिशप्त बनाउँथ्यो ।

शिक्षाको क्षेत्र त बाँझो पट्टेर थियो । पुरानै तरिकाले साक्षर बन्ने, तमसुकसम्म बाँध्ने र लेख्‍नेसम्मको शिक्षा ठाउँ ठाउँमा चल्दथ्यो । स्कूलै खुल्न थालेपछि पनि कतिवटा हाइ-स्कूल थिए र झापामा ? भद्रपुर, धुलावारी, शनिश्चरे, घैलाडुब्बा र शान्तिनगरमा मात्रै त थिए हाइस्कूल– अलिक पछि नैं सम्म । एस.एल.सी. दिने केन्द्र पछि सम्मै इलाम थियो । कलेज त विराटनगरसम्म आइपुगे पनि २१ सालसम्मै झापामा पसेको थिएन । बरु मान्छेहरू बनारस पो गएर पढ्‍थे । कोही-कोही सम्पन्नहरुले यदाकदा दार्जिलिङ पनि भ्याउँथे । अहिलेको शिक्षाको लहर गर्भमै थियो । जन्मने सुरसार थिएन ।

झापामा १ सेट टेलिफोन नभएको समय खोज्न धेरै अगाडि जानु पर्दैन । पछिसम्म पनि बाहिरफेर कुरा गर्नु पर्दा वायरलेस (आकाशवाणी)मा समय मिलाउनु पर्दथ्यो । त्यहाँबाटै कुरा गर्नुपर्थ्यो, एक क्षण अपरेटरसँग ट्रेनिङ लिएर । अँ हुलाक भने मरन्च्याँसे भए पनि अलिक अगाडिदेखि नैं थियो । जेहोस्,  मान्छेको मनको वह वारपार गर्ने साधन हुलाकै त थियो ।

चार पाँच वटा बाँस गाडेर तार तन्काएर राख्नुपर्ने रेडियो सेट कतिले राख्‍न सक्थे र ? फाट्ट–फुट्ट मात्र रेडियो बज्दथ्यो । कसै कसैले टेलिभिजनको नामसम्म सुने पनि सपनामा पनि देखेको थिएन । इमेल र इन्टरनेटको त कहाँ कल्पना हुनु र ?

उपचार थिएन । रोगको पहिचान हुँदैनथ्यो । मान्छेहरूको असमयमै इहलीला समाप्त हुने गर्दथ्यो । वर्षातिर सङ्क्रमक रोगले मान्छे सोत्तर हुन्थे । वर्षामा झापाको जीवन कष्टसाध्य थियो ।

अहिले पनि विकसित मुलुकको कुनै भागको तसवीर हेरौं र झापालाई हेरौं । झापा पछि छ । यो सत्य हो, तर हिजोको झापा र आजको झापाको तसवीर हेरौं झापा बदलिएको छ । अहिले त झापामा निकै पिच छ । हिजोको हात्ती, घोडा, बयलगाडा, राँगा गाडा निर्वासित भए । छताछुल्ल भएर बस, कार, भ्यान, ट्रकहरू कुद्‍छन् । जो सुकैले मोटरसाइकल चढेका छन्, धूलो उड्‍न कम भएको छ । गाडाका ताँतीहरू इतिहासमा कैद भएका छन् । स्कूल–कलेजहरूको बाडी छ । बिजुली, टेलिफोन, इमेल, इन्टरनेट झापामा छरिएको छ । भद्रपुर, घैलाडुब्बा, शनिश्चरे, झापा जस्ता पुराना ठाउँहरू रित्तिएका छन् । हिजो हुँदै नभएका ठाउँहरू जन्मिएका
छन् । मान्छेहरू पनि त त्यस्तै छन् नि ! खोइ, राजवंशी, सतार, धिमाल, मेचे जस्ता यहाँका आदिवासीहरू उठ्‍न सके त ?

झापामा औद्योगिक क्षेत्र स्थापना हुन सकेन, अहिलेसम्म । ऐतिहासिक महत्त्वका स्थानहरू थुप्रैछन् । तिनको सम्बर्द्धन र व्यवस्थापन नैं हुन सकेन । किचकवध, बिराटपोखर, अर्जुनधारा, पातालगंगा, सतासीधाम, केचनाकवल त झापाका गहना हुन् । माल पाएर चाल पाउन नसकेको अवस्था भएको छ– अहिलेसम्म । बिजुली छताछुल्ल भइसक्यो, तर कनकाईमा एउटा पनि विद्युत् शवदाहन केन्द्र बन्न सकेको छैन । बदलिएको झापासँग सम्भ्रान्तहरुका लागि निकै थोक छ, तर विपन्नहरुका लागि अझै भाँडो रित्तो रहेको छ । प्राकृतिक श्रोतको प्रयोग मनग्गे हुन सकेको छैन ।

झापाले मुलुककै लागि ठूलठूला मान्छे जन्माएको छ । तर झापाले उनबाट अलिकति मुस्कानसम्म पाएको छैन । जसले झापामा टेकेर फड्‍को मारे, भर्‍याङ्ग चढे, उनले अहिले झापालाई देख्‍न छाडेका छन् । यसले कहिले मुलुकभरि बत्ती बालेको छ । कहिले मुलुकभरि बिचार फालेको छ । स्वायत्त सरकारसम्म बनाएर चलाएको झापा– हिजोभन्दा आज बदलिएको छ । चेतना, स्वाभिमान र बलिदान जस्ता प्रसङ्गले “झापाको पहिचानलाई विशिष्ट बनाएको छ ।