झमक्क साँझ परि सकेको क्षणमा
चिस्सिएर आफै भित्रवाट कठ्याङ्ग्रिएका रातहरूमा
टाढावाट आफ्ना वचेरो र आफैलाई पनि
चारो खोज्न असफल भएर
दिक्क हुँदै थकित भएर
आफ्नै गुँडमा फर्केको परिश्रमी चरो
न्यानो र फुस्रो गुँडमा वसेर
आफ्ना भोका र जाडोले कठ्याङ्ग्रिएका वच्चाहरूलाई
विवशताको तातो आँसु खसाएर
न्यानो पार्ने असफल प्रयास गर्छ
ठिक्क त्यसै क्षणमा
एउटा सम्पन्न मान्छे
अत्याधुनिक विलासको उपकरणहरू
सजाएको कोठामा वसेर
हरेक दिन विलासको सामान फेर्न नसकेकोमा
असन्तुष्ट र दिक्क हुन्छ
र अर्कोतिर ठिक्कै त्यसै क्षणमा, एउटा मान्छे
कैयौँ छाक खान नपाएर
कैयौँ रोगहरू निको नदेखेर
विवशता र वाध्यताहरूका आफ्ना
आकाङ्क्षाहरूलाई निर्वासन गरेर
एउटा खेलाँची मृत्यु मरि दिन्छ ।