इन्टरभ्यू

असन्तुष्ट भएर आफ्नै वर्तमान सँग
जव म हिँड्छु आफ्नो भविष्यको तस्विर हेर्न
अखवारका वान्टेड कालमहरूमा
आफ्नो क्रम आउँदैन पट्यार लाग्दो समय बितेपछि पनि
आफ्नो क्रम आउँदैन सधै क्यूमा वसेपछि
सँगै इन्टरभ्यू दिएका मन्त्रीका भानिजको
डवल प्रमोसन होइ सक्छ
सँगै इन्टरभ्यू दिएका सचिवको भतिजाको
तेस्रो पल्ट विदेश जान पासपोर्ट वनी सक्छ
आफ्नो त जुत्ताको तलुवा पनि पिचरोडले खाइ सक्छ
अव त इन्टरभ्यू दिँदा पनि
मात्रै ऋण वढ्छ ।
दिनभरि जङ्गल घुमेर पनि शिकार नभेटेर
हैरान भएको शिकारी जस्तै भएर
विपन्नताले किचेको वर्तमानले
आफ्नै व्यतीत दिनहरूलाई सहानुभूति दिएर
जव आफ्नै वारेमा म सोच्छु
मैले इन्टरभ्यू दिएका हरेक विज्ञापनहरूमा
त्रुटि भए जस्तो लाग्छ
ठूला-वडाका आफन्तहरूलाई
विशेष ग्राह्यता दिने भन्ने
व्यहोरा नै विज्ञापनमा छुटे जस्तो लाग्छ ।