मुलाको मुरली

पछिल्लो पटक मैले “ मुलाको मुरली ” भन्ने किताब पढेँ । यसले मलाइ औधी सन्तुष्टि दियो । हास्य व्यङ्गको  यस पुस्तकका लेखक चूडामणि वशिष्ठ हुनुहुन्छ । वहाँ लामो समय देखि व्यङ्ग लेखनमा कृयाशिल हुनुहुन्छ । राजनीतिका ‚ शिक्षाका ‚ स्वास्थ्यका तथा समाजका हरेक क्षेत्रका विकृतिलाई उभ्याएर प्रहार गर्नु वहाँको लेखनको प्रवृत्ति र विशेषता हो । पढ्न थालेपछि नछोडी पढी रहूँ जस्तो लाग्ने पुस्तकको विशेषता हो । भैरव अर्याल‚ केशबराज पिडाली‚ राम कुमार पाण्डे जस्ता लेखकहरूका कृतिहरूको स्मरण यस कृतिले गराएको छ ।

समाजका आम मान्छेलाई लागेका कुराहरू लेखकका कुरा भकाएछन् । सबैलाई घत लाग्दा कुरा लेखकबाट आएका छन् । भ्रष्टाचार ‚ बेथिति‚ गुण्डागर्दी‚ लापरवाह जस्ता कुराहरूको दोहोलो काढिएको छ ।  शब्दहरू त मुहानबाट फुतफुती निस्के जस्तो लाग्छ । पढ्नै पर्ने किताब लेखकले लेख्नु भएको छ ।  

बाइस शीर्षकमा लेखिएका लेखहरू सबै उम्दा छन् । शीर्षकको छनौट पनि घत लाग्दो छ । १५२ पेजको किताब दिएर लेखकले नेपाली साहित्य भण्डारमा महत्वपूर्ण योगदान पुर्‍याउनु  भएको छ । लेखकबाट यस्तै किताब पढ्न पाइ रहूँ ।   

फेरि द्रोणाचार्यलाई सम्झदा

असार ६ गते द्रोणाचार्य क्षत्रीलाई सम्झने दिन हो । २०५० साल असार ६ गते द्रोणाचार्य क्षत्रीको निधन भएको हो । वहाँलाई सम्झने दिनको पूर्व सन्ध्यामा आज भन्दा चार बर्ष अगाडी नै लेखेको यो लेख प्रस्तुत गरेको छु

द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यति बेला द्रोणाचार्य क्षत्री हुनुहुन्न । उहाँ बित्नु भएको पनि २६ वर्ष पूरा भएको छ । समय बित्न बेर लाग्दैन । हिजो जस्तो लाग्छ, मैले २०५० सालको जेठ अन्तिममा अलइण्डिया मेडिकल इन्स्टिच्युट दिल्लीमा उहालाई छाडेर झापा आएको थिएँ । क्यान्सरसँग जुधिरहेको अवस्थामा २०५० साल असार ६ गते उपचारको क्रममा उहाँको निधन भएको थियो ।
म अहिले उहालाई झलझली सम्झिरहेको छु । यस बेला उहाँ रहनु भएको भए, लिम्पियाधुरा फिर्ता लिने आन्दोलनको अगुवा मध्येको हुनुहुने थियो । लिम्पियाधुराबाट भारतीय सैनिकसहित भारतीय शासकहरूलाई लखेट्न योजना बुन्दै हुनुहुने थियो । त्यति बेलै महाकाली सन्धि दलबाट र संसदबाट पारित गर्नु हुँदैन भनेर उहाँले घमासान गर्नुहुने थियो ।
म अझ अगाडि जान्छु । २०२५ सालमा मैले पहिलो पटक द्रोणाचार्यलाई भेटेको थिएँ । त्यति बेला हामी झापाका अलग–अलग स्थानका शिक्षक थियौँ । यद्यपि मैले उहाँको नाम २०२२ सालमा झापामा भएको राष्ट्रिय साहित्य सम्मेलनका सन्दर्भमा सुनेको थिएँ । एस पी शैलेन्द्रका विरुद्धमा झापामा एउटा विद्यार्थी आन्दोलन भएको थियो र त्यो आन्दोलनमा पनि उहाँले नेत्रृत्वदायी भूमिका पूरा गर्नुभएको थियो । त्यसताका द्रोणाचार्य झापामा स्थापित युवा हुनुहुन्थ्यो । तत्काल भरखरै स्थापना भएको, गोबिन्दमान श्रेष्ठ अध्यक्ष भएको अखिलको केन्द्रीय सदस्यसमेत भएर राष्ट्रिय भूमिका पूरा गरि सक्नु भएको थियो ।
भद्रपुरमा एउटा नमूना स्कूल खुलेको थियो । उहाँ त्यहाँको प्रधानाध्यापक हुनुहुन्थ्यो । संयोग राम्रै रह्यो । म पनि त्यो स्कूलको शिक्षक बनेँ । हामीसँगै त्यो स्कूलमा शिक्षक भएपछि हाम्रा धेरै कुराहरू मिलेको हामीले महसुस गर्‍यौं । साहित्य, सांस्कृतिक, सामाजिक र राजनीतिक गतिविधि, पत्रकारिता हाम्रा सरोकार र सहभागिताका विषयहरू थिए । यी सबै विषयहरूमा हामी एकाकार जस्तै भयौं । सँगै डेरा बस्यौ । मीठो मसिनु खायौं र भोक पनि सँगै खप्यौं । कविता लेख्यौं । समाचार लेख्यौं । पर्चा र चर्चा पनि लेख्यौं

हामीले पञ्चामृत नामक मासिक साहित्यिक पत्रिका चलाएका थियौं । त्यो पत्रिका प्रगतिशील समूहको मुखपत्रका रूपमा पनि मानिन्थ्यो । सुरुमा राधाकृष्ण मैनाली प्रकाशक र वासुदेव शर्मा सम्पादक भएर चलेको पत्रिका वासुदेव शर्मा भद्रपुरबाट काठमाडौ जानु भएपछि सम्पादकमा राधाकृष्ण मैनाली, रुद्र खरेल र म लीला उदासी भएर चलायौं । २८औं अङ्कमा स्थानीय प्रशासनले यो पत्रिकामा प्रतिबन्ध लगायो । प्रिन्टलाइनमा ज– जसको नाम भए पनि यसको प्रकाशनमा द्रोणाचार्य क्षेत्रीको सहभागिता महत्वको हुन्थ्यो ।
भारतले सीमा मिच्दा यसले गरेको विरोध स्मरणीय रहन्छ । पञ्चामृतका सुस्ता अङ्क र महेशपुर अङ्क उदाहरण हुन् । सुस्ता , “घाइते झापा र मेरो देशको सार्वभौमिकता’’ जस्ता कविताका सर्जक द्रोणाचार्यले भारतीय थिचोमिचोको कडा विरोध गर्नु भएको छ ।
म त पार्टीको सामान्य समर्थक रहेर सामाजिक राजनीतिक गतिविधिमा साथ लाग्थें । द्रोणाचार्य क्षेत्री नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटीमा हुनुहुन्थ्यो । मदन खपाङ्गी जिल्ला संगठन कमिटीको सचिव हुनुहुन्थ्यो । जो पूर्व कोशी प्रान्तीय कमिटी अन्तर्गत थियो । झापा जिल्ला कमिटीमा टीकाप्रसाद सापकोटा, तिलबिक्रम ढकाल, भ्रमणसिंह राजवंशी, केर्कु राजवंशी, राधाकृष्ण मैनाली, दुर्गा दुलाल आदि हुनुहुन्थ्यो । गोपालकृष्ण प्रसाई पूर्व कोशी प्रान्तीय कमिटीको सदस्य र झापा जिल्ला कमिटीको इन्चार्ज हुनुहुन्थ्यो । पछि मोहनचन्द्र अधिकारी आउनुभयो ।
गोपालकृष्ण प्रसाईका बारेमा स्थानीय नेता कार्यकर्ता सन्तुष्ट थिएनन् । किसानसँगको व्यवहारमा उहाँका बारे प्रश्न उठिरहन्थ्यो । त्यही कालखण्डमा सी पी, के पी, रुद्र खरेल, हरिचरण सिवाकोटी लगायतका युवा विद्यार्थी समूहको अगुवाई बढेको थियो । झापाली युवाहरू पूर्व कोशीसँग सन्तुष्ट थिएनन् । पारी नक्सलपन्थी आन्दोलन विकसित अवस्थामा थियो । आन्दोलनका कतिपय कुराहरू अतिरञ्जित रूपमा पनि चर्चामा रहन्थे । तिनले झापाली युवामा एकप्रकारको उत्तेजना र विद्रोह जाग्थ्यो । यिनै भावभूमिमा झापाली विद्रोहको कथा सुरु भयो, २०२८ सालमा ।
यो विद्रोह पूर्व कोशी (झापा संगठन कमिटीसमेत)–सँगको विद्रोह थियो । द्रोणाचार्य क्षेत्री यो विद्रोहमा सहमत हुनुहुन्थेन । त्यसैले केही समय उहाँको कार्यशैलीमा फरक पन रह्यो । पत्रकार र मानवअधिकारकर्मीका रूपमा विभिन्न स्थानमा कार्यरत रहनुभयो । उहाँको सकृयता केही समयका लागि अलग धारबाट चल्यो ।
२०३६ सालले पुनः उहाँलाई राजनीतिको मूलधारमा तान्यो । त्यो समयमा झापा विद्रोहबाट उठेर कोअर्डीनेसन केन्द्र हुँदै नेकपा माले गठन भइसकेको थियो । २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा भएपछि मालेले जनमत सङ्ग्रहलाई “देशी विदेशी षडयन्त्र र धोका हो यसलाई बहिष्कार गरौ” भनेर आह्वान गरेको थियो । २०३६ सालको जेठमा घोषणा भएको जनमत सङ्ग्रहलाई माघमा गएर “नेपाली क्रान्तिको उपज हो यसलाई उपयोग गरौं” भन्दै पुनः मतदानको केहीदिन पूर्व नीतिगत वहिष्कारको आह्वान गरेको थियो ।
यता झापामा, झापा विद्रोहको कारणबाट वामपन्थी शक्ति विरुद्धमा सरकारी दमन तीब्र थियो । २०२८ सालपछि ६, ७ वर्ष झापामा बाम शक्तिका विरुद्धमा सरकारले जे पनि गरेको समय थियो । सुखानीसहित विभिन्न स्थानमा हत्याकाण्डहरू भए । सयौं व्यक्तिहरू पक्राउ परे । अनेकलाई मुद्दा लगाइयो । भूमिगत हुने र निर्वासनमा जाने क्रम बढ्यो ।
जनमत सङ्ग्रहको घोषणा पश्चात् सी के प्रसाईले बहुदलको प्रचारमा वामपन्थी युवाहरूको साथ लीन रुचाउनु भएको थियो । केही आमसभा पश्चात् काङ्ग्रेसको केन्द्रले वामपन्थीसँग सँगै नजान निर्देशन गरेको भनेर आपसी सहयोगमा अलग–अलग कार्यक्रम गर्ने प्रस्ताव सी के प्रसाईले गर्नुभयो ।
झापामा वामपन्थी शक्ति तत्काल छिन्नभिन्न र प्रतिकूल अवस्थामा थियो । यसका बाबजुद जनमत सङ्ग्रहको प्रचारको कुरामा जोडिएर झापाका प्रगतिशील शक्तिहरूको एउटा समूह बन्यो । जनमत सङ्ग्रहको प्रचारको कार्य अगाडि बढ्यो । नरेशकुमार बर्माको संयोजकत्वमा गोपालकृष्ण प्रसाई, मदन खपाङ्गी, द्रोणाचार्य क्षेत्री, लीला उदासीसमेत रहेको एउटा देशभक्त प्रगतिशील समूह बन्यो र बहुदलको प्रचार प्रसार गर्ने काम भयो ।
प्रचार प्रसारको कार्यलाई जिल्ला व्यापी बनाइएको थियो । यसले ठूला–ठूला आमसभा गर्‍यो । ४, ५ वटा आमसभालाई मनमोहन अधिकारीले सम्बोधन गर्नुभएको थियो । मनमोहन अधिकारीको सम्बोधनले युवा विद्यार्थी, किसानसहित सर्वसाधारणमा ठूलो उत्साह र लहर सिर्जना भयो । झापामा राम्रै किल्ला निर्माण भयो । पञ्चायत र प्रशासनले जनमत सङ्ग्रहमा षडयन्त्र र जालझेलका लागि अलिक धेरै पसिना बगाउनु पर्यो ।
यस दौडानमा कम्युनिस्ट एकताका लागि केही कार्यहरू भए । २०३६ साल भाद्र २४गते आठ वामपन्थी समूहको संयुक्त प्रदर्शनले राष्ट्रव्यापी उत्साह र लहर ल्याएको थियो । जनमत सङ्ग्रहका लागि पाँच पूर्वशर्त अगाडि सारिएको थियो । तत्काल नेपाली काँग्रेस र नेकपा माले फरक धारमा नगएको भए तत्कालमै बहुदल प्राप्त हुने थियो ।
छत्तीस साले यी आन्दोलनहरूमा द्रोणाचार्यको भूमिका महत्वको थियो । जनमत सङ्ग्रहको दौरानमा द्रोणाचार्यको राजनीतिक उचाइले राम्रै आकार लिएको थियो । त्यस लगत्तै सी पी मैनाली, झलनाथ खनालहरूले द्रोणाचार्यको खोजी गरे । आर के, के पी लगायतका जेलमा रहेका नेताहरूसँग उहाँको सम्पर्क भयो ।
झापा आन्दोलनको उद्गम स्थानबाट अगाडि बढेर माले भइसक्दा सम्म पूर्ववर्ती धारणामा परिमार्जनसमेत भइसकेको थियो । उहाँ मालेको निकट भएर काम गर्न थाल्नुभयो । भूमिगत रहेको पार्टीका लागि खुल्ला सम्पर्क कुशलताका साथ गर्न सक्ने र सुदृढ कार्य क्षमता भएका द्रोणाचार्यको भूमिका उर्वर र मलजल बन्यो । मालेका खुला कामहरूमा उहाँको सहभागिता उल्लेख्य रहयो । मालेले उहाँ लाई राष्ट्रिय पञ्चायतमा जन पक्षीय उम्मेदवार बनायो र विजयी गरायो ।
जन पक्षीय रा पं सका रूपमा निर्वाचित रहेका पद्मरत्न तुलाधर, द्रोणाचार्य क्षेत्री, सोमनाथ अधिकारी प्यासी, जागृतप्रसाद भेटवाल लगायतका व्यक्तिहरूले राष्ट्रिय पञ्चायत हल्लाए । सदनमा बहुदलको प्रस्ताव आयो । पञ्चायत व्यवस्थामा यस्तो माग असामान्य मानिन्थ्यो । उहाँहरू केही व्यक्तिले सबल प्रतिपक्षको भूमिका पूरा गर्नुभएको थियो ।
२०४६ सालको जनआन्दोलनका सन्दर्भमा द्रोणाचार्यको भूमिका सशक्त रहयो । आन्दोलनको नेतृत्व गर्ने क्रममा २०४६ साल फाल्गुन ७ गते झापाको मुक्तिचोकबाट उहाँ पक्राउ पर्नुभएको थियो । (त्यति बेला मुक्ति चोक नामकरण भएको थिएन ।) बहुदलको घोषणा भए पछिमात्र जेलबाट छुट्नु भयो ।
२०४८ सालको आम चुनावमा उहाँ झापाको तत्कालको १ नं हालको ३ नं संसदीय निर्वाचन क्षेत्रबाट एमालेको उम्मेदवार बन्नुभयो र प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो । राष्ट्रिय पञ्चायत सदस्यको भूमिका पूरा गर्दाको अनुभव समेतबाट उहाँले एमाले संसदीय दलमा र संसदमा प्रभावकारी भूमिका पूरा गर्नुभएको थियो ।
मेरो स्मृतिमा ताजै छ, म रक्त क्यान्सर घोषणा भएको मेरो छोरालाई नर्थबंगाल क्लिनिक सिलिगुडीमा रुँधेर बसेको थिएँ । दिल्ली रेफर गरिएको थियो । राति द्रोणाचार्य सिलिगुडी पुग्नुभयो र हामी भोलिपल्ट दिल्लीका लागि उड्यौं । उपचारको व्यवस्था गरेर द्रोणजी नेपाल फर्कनुभयो । यो समय २०४९ को तिहार ताकाको हो । म लामो समय दिल्लीमा बसेँ ।
२०५० सालको वैशाखमा एक दिन उहाँ मेरो कोठामा दिल्लीमा पुग्नुभयो । नेपालमा डाक्टरहरूले उहाँ लाई पनि क्यान्सर भएको आशंका गरेको रहेछ । अस्पतालमा जँचाएर जाँचबुझ गर्ने क्रममा क्यान्सर पुष्टि भयो । उपचारकै क्रममा २०५० साल असार ६ गतेका दिन उहाँको दिल्लीमै निधन भयो । यसरी एक देशभक्त सपूत तथा निम्न वर्गका नेपाली जनताका मित्र, राजनेता द्रोणाचार्य क्षेत्रीको इहलीला समाप्त भयो ।
द्रोणाचार्य क्षेत्रीका केही विशेषता थिए । उहाँ सादा जीवन उच्च विचारका धनी हुनुहुन्थ्यो । २०२२ सालमै नुनिला आँसु कथा सङ्ग्रहका लेखक उहाँ राम्रा कविता लेख्नु हुन्थ्यो । सरल, निम्न वर्गका मानिससँग मिलजुलको क्षमता जस्ता असाधारण गुण उहाँमा थिए । आफू भोकै बसेर पनि सर्वसाधारणको सेवामा रमाउन चाहने उहाँका अद्भुत गुण थिए । व्यक्तिगत तथा पारिवारिक हितमा उहाँ कहिले पनि लाग्नु भएन । बाँचुन्जेल उहाँ डेरामा बस्नुभयो । परिवारलाई ओतसम्म दिन सोच्नु भएन ।
उहाँको नाममा उहाँको कर्म थलो भद्रपुरमा द्रोणाचार्य स्मृति प्रतिष्ठान गठन भएको छ । मुलुकमा भ्रष्टाचार र कमिसनको राप तीव्र भएको अवस्थामा द्रोणाचार्यका असल विचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ ।
हार्दिक श्रद्धाञ्जली द्रोणाचार्य क्षेत्रीज्यूलाई ।

कबुलियत पछि मात्र मतदान

ठूलै अवरोध भएन भने अब मंसिर ४ मा चुनाव हुने नै भयो । चुनाव संविधानसभाको ।  संविधानसभाको चुनाव भनेको हरेक वालिगले संविधान बनाउन आफ्नो वारेस पठाउने चुनाव हो । निर्वाचितहरु भनेका संविधान बनाउने प्रयोजनकालागि आम नागरिकका प्रतिनिधि हुन् । अन्तरिम संविधान २०६३ मा भनिएको सार्वभौम र राजकीय सत्ताको प्रयोग नेपाली जनताका नाममा उनले नै गर्ने हुन् । जे होस्‚ अब मुलुक संविधानसभाको चुनाव -२ तिर उन्मुख छ । यसले दशै तिहार पनि अलिक  कम महत्वको  बनाउने जस्तै भएको छ । हार जीतका जोड घटाउमा दशै तिहारका दिन पनि चुनावी माहौलमा परिणत भएकाछन् ।

संविधानसभाको चुनाव- २ त आएको छ । यसले केही प्रश्न पनि तयार गरेको छ । ती प्रश्नहरुको उत्तर मुलुकको क्षितिजमै देखिदैनन् । आम मतदाताको मष्तिष्कमा उठेका यस्ता प्रश्नहरुको उत्तर त मत माग्न आउने उम्मेद्वारहरुले दिनु पर्ने हो तर उनले मतदाताका मष्तिष्कका प्रश्नहरुको उत्तर दिने सामार्थ राख्तछन् र ? लाग्छ‚ यस्तो सामार्थ्य राख्ने भए -संविधानसभा -१ ले नै संविधान निर्माणगरी सक्ने थियो । त्यसो त अहिले त उम्मेद्वारहरुको -के पो गर्न सक्तैनौ र ? – भन्ने बेला हो यो । उहाँहरुको यतिबेलाको बोलीको तौलमा वजन खोज्नु भनेको शून्यतिरको यात्रा हो ।

संविधानसभाको चुनावमा उठेका उम्मेदवारहरु यतिबेला जे भनून ‚ तर म  यतिबेला २०६९ साल जेष्ठ १४ गतेको संविधानसभा भवन नयाँ बानेश्वर संझिइ रहेछु । रातको मध्यरात हुनलाग्दा  पनि सभासदहरु नारा लगाउदैथिए । बैठक शुर होस्‚ भनेर नारा लगाइरहदा सींहदरवारको निर्णयबाट संविधानसभा बिघटन भै सकेकोथियो । सञ्चारमाध्यमले मुलुकभरि सूचना दिइसक्ता पनि बरा सभासदहरुले संविधानसभा बिघटन भैसकेको थाहै पाएका थिएनन् । नारा लगाइरहे । जब थाहापाए‚ खालबाट जूवा हारेको जुवाडेभन्दा पनि बिजोक भएको अनुहार लिएर उनिहरु फर्के । यस्तो संविधानसभा-१का उत्तराधिकारी हुन हिडेका संविधानसभा-२का चुनावका उम्मेदवारहरुलाइ यी बिषयमा मतदाताले उठाउने प्रश्नहरुको उत्तर के कण्ठ छ त ? मुखाग्रै छ ? भए राम्रै हुन्छ ।

कवितालाइ गीत बनाएको ‚ गोपालप्रसाद रिमालको कविता‚ झण्डै ७० बर्षै हुन लागेको कविता‚ खुबै चल्ती भयो ‚ त्यो गीतमा फेरिएको कविताको । एक युगमा एक दिन  एक पल्ट आउछअब पनि यो गीत त गाइन्छ होला‚ तर यसमा पनि संशोधन गर्न जरुरी भएको होला एक युगमा एकदिन दुइ पल्ट आउछ– भनेर । यसको संशोधनमा प्रश्न उठाउनेहरुलाइ जवाफ छ ‚अन्तरिम संविधान एक धाराले २५ धारा संशोधन हुन सक्ता‚ रिमालको कविता संशोधन हुन के संकट र ? त्यसैले अब उमेद्वार र उनका समर्थकले‚ प्रचारकले धक फुकाएर गाए हुन्छ‚ एक युगमा एक दिन दुइ पल्ट आउछ भनेर ।  यति गर्दा फेरि पनि बनेनछ संविधान भने अर्कोपल्ट गाउनुपर्छ एक युगमा एकदिन जति पल्ट पनि आउछ भनेर ।

जे होस्‚ संविधानसभाको चुनाव हुदैछ । हिजो संविधान किन बनेन ? नबन्नुका कारणहरु  के के थिए ? को जिम्बेवार थियो ? संविधान नबन्नुमा । अब संविधान बन्ने आधारहरु कसरी तयार भएकाछन् ? यी बिषयमा सोच्न दलका नेताहरुलाइ पक्कै रहर छैन जस्तो लाग्छ । यी प्रश्नको जवाफको अपेक्षा पनि मतदाताले उम्मेद्वारबाट राखेकाछन् । उम्मेद्वारसँग मतदातालाइ दिने जवाफको स्टक भने रित्तो देखिदैछ ।

त्यसो त ‚ कवि बिमल निभाले लेखेको एउटा कविताको एउटा अशले मलाइ चिमोटेको छ‚ उनले लेखेकाछन्

” हिउदे अधिबेशनको

अन्तिम बैठकबाट फर्केर

मेरो साँसद मित्रले

अकस्मात घोषणा गर्‍यो

मेरा मित्रहरु हो

तिमीहरु बिश्वास गर अथवा नगर आउदो चुनावमा म

स्वयमलाई पनि भोट दिनेछैन “

अवस्था त यस्तै यस्तै हो । जतिले भोट दिए पनि चुनाव त होला‚ तर संविधान बन्ने आधार त देखिएका छैनन् । चुनाव पछि निर्वाचित सरकार हुने र एउटा प्रकृयाको थालनी हुने सम्म ठानेर मतदानमा सरिक हुने मतदाताका अनेक प्रश्नहरुको उत्तर दिन र गृहकार्य गर्न उम्मेद्वारहरुलाइ जरुरी छ । उनले पक्कै उनको सामार्थ र क्षमता बढाउनै पर्छ । मतदाताले पनि उम्मेदवारहरलाइ संविधानसभा -३ को अवस्थामा मुलुकलाइ नपुर्‍याउने कबुलियत गराएर मात्र मतदान दिन उचित छ कि ?

संविधानसभा २ पनि संविधान नबनाइ बिघटन गराएर‚ रीत्तो खल्ती छाम्दै‚ खालबाट घर फर्केको‚ हारेको जुवाडेको जस्तै अनुहार लाएर  संविधानसभादहरु फर्कन नपाउने शर्त हरेक मतदाताका शर्त हुन् ।

अभिनन्दन दीपेन्द्र र अश्मितालाई

प्रतिदिन दैनिकमा फाल्गुण २३ गते प्रकाशित
 एउटा समाचार छ । काठमाण्डौ बबरमहलकी अस्मिता रिजाल र बुटवल गैडाकोटका दीपेन्द्र कार्की कलेज जीवनमै प्रेम बन्धनमा बाँधिएछन् । उनीहरुले प्रेमलाई बिबाहमा पनि परिणत गरे । जब बिबाह भोजको प्रसंङ्ग आयो , उनिहरुले बिबाह भोज गरेनन् । भोजमा खर्च गर्ने रकम रु एकलाख एकहजार कृष्ण गण्डकी निमाबिलाई दिए र त्यो रकम अक्षयकोषमा राखेर त्यस्को ब्याजबाट गरिव बिद्यार्थीहरुलाई किताब कापी र पोषाक खरीद गर्न शर्त राखेकाछन् । समाचार त यति हो तर समाचार भित्र अलिक धेरै समाचार छ । सन्देश छ । बर्तमानमा यस समाचारको सान्दर्भिकता छ ।
मान्छेहरुले उनलाई मूर्ख पनि भन्लान्  र राम्रो बिचार भएका भनेर प्रशंसा पनि गर्लान् । जस्को जत्रो मानसिकता छ त्यत्रै कुरा सोच्ने र भन्ने हो । मलाई भने लागेकोछ ,− दीपेन्द्र र अस्मिताले नाश भै रहेको गतिलो बिरुवाको बिऊ जोगाएका रहेछन् । समाजमा राम्रा कुराको स्थापना गर्न उनिहरु उत्साहित हुनुले समाजमा दूरगामी सकारात्मक प्रभाव उत्पादन गर्दछ । अझ बत्तिको लहरमा एउटा बत्ति थप्नु भन्दा अन्धकारमा एउटा बत्ति बाल्नु अनेकौ महत्वको हुन्छ । भ्रष्टाचारले मुलुकलाई ऐठन गराइ रहेका बेलामा आफुले कमाइ गर्न नथाल्दै आफ्ना संरक्षकबाट बिबाह भोज गर्न पाएको रकम गरिव बिद्यार्थीका किताब र पोषाक किन्न प्रदान गर्ने कुरा हाँसका बथानमा बकुल्लै सही तर सुन्दर, आकर्षक र उज्यालो बकुल्लो, भ्रष्टाचारी हाँस भन्दा धेरै गुना राम्रो हुने कुरामा सन्देह छैन । मन नै त यस्ता बकुल्लाले भ्रष्टचारीहरुको पनि छुन्छ  र यस्तो प्रसङ्गले उनलाई कठोर झापड दिन्छ । मुक्त कण्ठले प्रसंशा गर्नु पर्छ − अस्मिता र दीपेन्द्रको यस कार्यको ।
वास्तवमा समाजमा व्यप्त भ्रष्टाचारका एक हेन अनेक कारण छन् । ती मध्ये हाम्रा सामाजिक कार्यहरु भड्किलो हुनु पनि एक हो । समाजमा त्यस्ता कार्यहरु सजधजका साथ गर्ने र प्रतिस्पर्द्धा गर्ने होड चलेको पाइन्छ । बिबाहका भोजहरु  मेला बजार जस्ता हुन्छन् । आउने, जाने , खाने मानिसहरुको संख्या हजारौ पनि पुग्छ । भोज त बिबाहको एउटा अङ्ग भयो । भोजकै स्तरको अरु पनि सजधज हुन्छ । फुलमाला , जन्ती जाने , एकले अर्कातर्फका लाई खुवाउने − एउटा बिबाह दशौ उत्सव जोडेरमात्र पूरा हुन्छ र यस्तो क्रम हप्तौ चल्छ । यस्तो कुरामा गर्ने खर्च मान्छेले कहाँबाट आर्जन गर्छ ? यो प्रश्नमा बिचार गर्दा लाग्छ − यस्ता भोज र उत्सबहरु पनि भ्रष्टाचारका श्रोत हुन् । मानिसको भड्किलो रहन सहन र प्रबृत्ति पनि भ्रष्टाचारका प्रेरक हुन् ।
त्यसो त यस्तै कुरालाई ध्यानमा राखेर एउटा सामाजिक ब्यबहार सुधार ऐन आएको छ । यो ऐन अस्तित्वमा पनि छ । यसले उत्सबका भड्किला पक्षहरुलाई रोक लगाएको छ । नियन्त्रण गरेकोछ , तर आजभन्दा ३५ बर्ष अगाडि आएको त्यो ऐन फगत ऐनका किताबलाई अलिक मोटो बनाउने कुरा सम्ममा सिमित रहेको छ ।  त्यस ऐनलाई शून्य ऐन भनिदिदा फरक पर्ने छैन । त्यो ऐनका आधारमा कँही कारवाही चलेको सुनिएको छैन र हाम्रा सामाजिक उत्सबहरु हेर्दा त्यो ऐनको अस्तित्वको बोध हुदेन । सामाजिक तथा ब्यबहारिक कार्य र उत्सबहरुमा खर्चको खोलो बगाउने होड चलेको छ ।
यस्तो दुषित होडले एकसाथ अनेक प्रतिकृया र प्रभाव समाजमा उत्पादन गरेको छ । खास गरेर निम्न बर्गिय र निम्न आय भएका मानिसहरुलाई यस्ता कार्यहरु सम्पादन गर्न टाउकामा घन बजार्नु पर्दछ । उनले रिन पान गरेर, जो भएको जाय जेथा बेचेर मात्र त्यस्ता कार्यहरु गर्न संभब हुन्छ भने लामा हात भएका, भ्रष्टाचारको कार्य सम्म हात लम्काउन संभब हुनेले यस्ता कार्यहरु सम्पादन गर्न पनि भ्रष्टाचारको उन्नत स्वरुव प्रयोग गर्छन् । भ्रष्टाचारमा मल जल हुन्छ । भ्रष्टचार सप्रेर फल्छ र भ्रष्टहरु सन्तानका बिबाह र सामाजिक ब्यबहारमा कालो धनको खोलो बगाउछन् । तस्करहरुको कथा पनि भ्रष्टहरुको भन्दा भिन्न हुदैन । उनले तस्करी गरेर , भ्रष्टाचार गरेर कमाएको धन त बगाए, समाजको सरोकार भ्रष्टाचार र कालोबजारीमा सम्म मात्र हुने तर्क आउला , तर वास्तविकता त्यतिमात्रमा सिमित हुदैन । समाजमा उनले बगाएको कालो धनको खोलोले सर्वत्र हलचल जगाउछ र अनेक सामाजिक दुष्परिणाम सिर्जना गर्दछ । छिमेकी र आफन्तका परिवार तथा खर्चको खोलो देखेका परिवारमा इर्श्या पनि जन्मन्छ र प्रतिष्पर्द्धाको होड पनि जन्मन्छ । त्यस्ता कुराले उत्पादन गर्ने जुनसुकै परिणामले समाजलाई ओरालो नै लगाउछ । समाज यसरी ओरालो लागि रहेछ । परिणाम भ्रष्टाचार र कालोबजारी उन्नत हुदै गएको छ ।
भ्रष्टाचारको आरोप अदालतबाट ठहर भएर जेल जाने पछिल्ला मान्छे जे पी गुप्ता हुन् । जेल जाँदाजाँदै उनले मधेश आन्दोलनलाई पो अदालतले दण्ड गरेको भने । यो नयाँ कुरा हेन, हरेक अपराधीले अदालतबाट आफ्नो अपराध ठहर हुदा यस्तो भन्छन् नै । मैलै भ्रष्टाचार गरेकै हो , न्यायाधिसहरुले ठिक फैसला गरे , उनलाई बधाई छ भनेर त कस्ले भन्छ र ? तर जेलमा पुगे पछि गुप्ताले एउटा कुरा भने सत्य भनेकाछन् । उनले भने − ” म मात्र हैन, २०४७ साल पछि पदमा गएका अधिकाँसले भ्रष्टाचार गरेर आर्जन गरेका छन् ।” उनको पछिल्लो अभिब्यक्ति भने सत्य हो । वास्तवमा यिनै पद धारीहरुले मुलुकमा भ्रष्टाचारलाई हिमालचुलीमा पुर्‍याए । समाज छिया छिया बनाए । भ्रष्टाचार मुलुकका लागि क्यान्सर भन्दा घातक रोग भएको छ र मुलुकको बिकासमा यो नै अवरोधका रुपमा रहेको छ ।
काठमाण्डौमा चर पनि छत पनि भ्रष्टाचाले निर्मित घर धेरै छन् । कतिको भ्रष्टाचार बाहेक गर्ने हो भने नियमित आम्दानीले मसला सम्म पुग्दैन तर उनको रवाफ, धाक , खर्च हेर्ने होभने कहाली लाग्छ । मुलुकलाई जहाँबाट पनि जसरी पनि जो सुकैले चुसेकाछन् । राजधानी मात्र हैन, मोफसल पनि यस्ता प्रसंगहरुले मुक्त छैन । साह्रै सजिलै गर्न सकिन्छ −भ्रष्टचारीको नापजोख । उस्को जीवन पद्धति , हाउ भाउ आर्थिक चलखेल आदि र उस्को कमाइको साइज १ इन्ची फरक परेन भने मात्र उ भ्रष्टाचारी हैन । तर नाप जोखगर्नेहरु नै साइज मिलेका नभएर संकट परेको छ ।
मुलुक भ्रष्टाचारले यसरी थाङ्थिलो भएका बेलामा २जोडी आमा बाबुले अश्मिता र दीपेन्द्रलाइ जन्माएका रहेछन् । उनको अधिनन्दन गर्नु पर्दछ र धेरै आमा बुबाले अश्मिता र दीपेन्द्र जन्माउन् भन्ने कामना गर्नु पर्दछ ।