रुद्र खरेल– साहित्य र संस्कृतिको नाम

रुद्र खरेल बित्नुभएको समाचारले मलाई स्तब्ध बनायो। आफ्नै कमजोरीले मैले वहाँ बिरामी परेर तीन महिनादेखि अस्पताल रहनुभएको पनि थाहा पाइनछु। उहाँ बित्नुभएको समाचार मलाई पहिले त पत्यार लागेन, तर संसारमा कहाँ पत्यार लाग्ने कुरामात्र हुन्छन् र ! जे होस् ! रुद्र खरेलको निधन भएको छ र अब उहाँ यस संसारमा हुनुहुन्न । अब उहाँ वहाँका कार्यहरूले मात्र जीवित हुनुहुन्छ । संसारको प्रसङ्ग र क्रम यस्तै हो, तर पनि कहाँ मन मान्छ र ?

म २०२४ साल तिरको गौरादहको एक दिन सम्झन्छु । जहाँ रुद्र खरेलसहितको सक्रियतामा हुँदैगरेको एउटा साहित्यगोष्ठीमा बिना निम्तो म पुगेर पछाडि बसें । गौरादह बजार पुग्दा साहित्य गोष्ठी हुँदै गरेको खबर सुनेर त्यो हेर्न पसेको, मैले पनि एउटा कविता सुनाएपछि रुद्र खरेलसँग परिचय भयो । पहिलो भेटमै हामी हौसिएर आत्मीय बन्यौ । के – के मिल्यो हाम्रो ? त्यो त थाहा छैन, तर हामी मिल्यौं । त्यहाँबाट शुरु भएको हाम्रो मिलनको यात्रा निकै अगाडि बढ्यो । यो यात्रामा हामीले सँगै पत्रिका चलायौं। जेलका कहर काट्यौ। हामीले भोक पनि बाँड्यौं र भोजन पनि बाँड्यौ । अलिक धेरै अभाव पनि बाँडेका छौं ।

रुद्रजी गौरादह शनिश्चरे गर्नुहुन्थ्यो । शनिश्चरेमा उषा, मुना निकालेर

साहित्यका बिरुवा हुर्काउने रुद्र खरेललाई अहिले त कति शनिश्चरेका मान्छेले बुझ्दछन् ? शायद नयाँ पुस्ताले पनि मोहन जोशी, जयप्रसाद ढकाल, केदारमणि ढकालहरुलाई सोध्यो भने पक्कै उहाँहरु सँगबाट त्यो जानकारी र रुद्र खरेलको कार्यको महत्व  पाउन सकिनेछ । उषा, मुनाको काल अहिलेजस्तो सुगम र अनुकूल काल थिएन, त्यो पनि उहाँहरुलाई थाहा छ । २०२५ सालको शनिश्चरेको साहित्य सम्मेलन पश्चात् रुद्र खरेलले यो अञ्चलकै साहित्यिक पत्रिकाको प्रकाशन र सम्पादनमा योगदान पु्याउनुभएको छ । झम्पल, लालटिन, मुक्तिसङ्ग्राम, झुप्रो जस्ता पत्रिका वहाँकै सम्पादन र अन्य सहयोगबाट मात्र निस्कन सम्भव भएको थियो । ´पञ्चामृत´ त रुद्र खरेल बिना २८ अङ्क सम्म अगाडि बढ्नै सक्ने थिएन । यसको सम्पादनमा आधाभन्दा बढी कार्य रुद्रजीले गर्नुभएको छ ।

शनिश्चरेबाट भद्रपुर सरेपछि हामी धेरै निकट भयौ । राधाकृष्ण मैनाली र वासुदेव शर्मा प्रकाशक र सम्पादक भएर चल्दै गरेको ´पञ्चामृत´ वासुदेव शर्माले भद्रपुर छाडेपछि प्रकाशक राधाकृष्ण मैनाली, सम्पादक राधाकृष्ण मैनाली , रुद्र खरेल र लीला उदासी भएर चलेको थियो। यसमा अठ्ट्ठाइसौं अङ्कमा स्थानीय प्रशासनले प्रतिबन्ध लगायो ।

विद्यार्थी आन्दोलनहरूमा हामी सक्रिय थियौं । रुद्रजीले मेची कलेजबाट बी ए पास गर्नुभयो र विराटनगरमा कानुन पढ्न थाल्नुभएको थियो । त्यही बेला उहाँ पक्राउ पर्नुभयो र झापामा जेलमा निकै लामो समयसम्म बस्नुभयो। पछि उहाँलाई नख्खूजेलमा सरुवा गरिएको थियो । म पनि पक्राउ परेर त्यहाँ पुगेको थिएँ । हामीले त्यहाँ ६ महिना सँगै बितायौ । अहिले रूद्रजीसंगका जेलका दिनहरू मेरो स्मृतिमा ताजै आएका छन् । झापाका अरू बन्दीहरू त्यस बेलासम्म नख्खू पुगेका थिएनन् । गंगा उप्रेति हुनुहुन्थ्यो, जो हामीसँग अनेक प्रसंगले एक हुनुहुन्थ्यो । त्यस बेला वामपन्थी बदन्दीहरू छ जनामात्र थियौ । काङ्ग्रेसका धेरै थिए । कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, रामहरी जोशी, मार्सल जुलुम लगायतका बन्दी थिए । वामपन्थीतर्फका अन्य व्यक्तिहरूमा लाल कम्युनिष्ट पार्टीका गंगालाल श्रेष्ठ, भक्तपुरका बाबुकाजी बासुकला थिए । अन्य महत्वपूर्ण व्यक्तिमा रामराजाप्रसाद सिंह पनि थिए । साहित्यगोष्ठी ,खेलकुद जस्ता कार्यक्रम चलिरहन्थे । हामीले साहित्यका माध्यमले चाँडै कँङ्ग्रेसी नेतामा प्रभाव बनायौ । रामहरि जोशी, रामराजा प्रसाद सिहहरूको हामीप्रतिको व्यवहार सन्मानजनक थियो । जेलका दिनहरू एक प्रकारले उत्साहजनक थिए । जेलमा काङ्ग्रेसको एउटा र वामपन्थीहरूको एउटा गरेर अलग – अलग भान्सा थियो । जेलमा पनि त्यो बिभाजन मलाइ अलिक उचित त लागेन तर पहिलेदेखि त्यस्तै चल्दोरहेछ । म अगाडि छुटे, उहाँ त लामो समयसम्म जेलमा बस्नुभयो ।  जेलमै उहाँले आफ्नो अध्ययन पनि अगाडि बढाउनु भयो । कानुनमा स्नातक र नेपालीमा   स्नातकोत्तर गर्नुभएका रुद्रजीको ज्ञानलाई डिग्रीले त्यस बेला मापन गर्न सकिँदैन । उहाँ नेपालीका प्राध्यापक हुनुहुन्थ्यो र  नेपाली साहित्यको निवन्ध विधाका सशक्त हस्ताक्षर हुनुहुन्थ्यो । निवन्धका आधा दर्जन कृतिहरू प्रकाशित छन् ।

-त्यसो त रुद्रजीको पहिलाको साहित्यिक रुचि कविता नै हो । वहाँले धेरै राम्रा राम्रा कविता लेख्नुभएको छ । ती कविताहरूमा निम्न वर्गका मान्छेको कथा, व्यथा, अवस्था राम्ररी चित्रण गरेको पाइन्छ भने देश प्रेम , भारतीय थिचोमिचोजस्ता कुरा रुद्रजीका कविताका विषय हुन्थे । सीमा मिच्दा उहाँ छटपटाउनुहुन्थ्यो र महेशपुर र सुस्ता जस्ता कविता जन्मन्थे । पछि उहाँको रुझान निवन्धतर्फ गयो र उहाँले धेरै निबन्ध लेख्नुभएको छ । निबन्धका ६ ओटा किताब प्रकाशित छन्। तपाइको नाम के हो? २०४९,तोरी लाहुरे चोकमा एक छिन २०५२, बिर्सिस्यो कि ? २०५७,  आषाढस्य प्रथम दिवसे २०५९, तेस्रो आँखा २०६१, शब्दको भ्वाङ २०६४ उहाँका प्रकाशित निबन्ध हुन् । यथेष्ट कविता भएर पनि उहाँले एउटाबाहेक अरू कवितासङ्ग्रह निकाल्न रुचि राख्नुभएन जस्तो लाग्छ । निस्केको भए मैले जानकारीमा लीन सकेको छुइन । वहाँको लेखनमा व्यङग्यको पर्याप्त प्रयोग छ । वहाँको लेखन स्पष्ट, झरिलो र बलवान् छ । लेखन गभीर छ । नेपाली साहित्यलाई वहाँले जे दिनुभएको छ त्यो धेरै महत्वको छ ।

वहाँ राजनीतिमा स्पष्ट विचार राख्नुहुन्थ्यो । झापा आन्दोलन कालको शुरुमा उहाँ विद्रोह पक्षधर मानिनुहुन्थ्यो । यथास्थितिबाट अगाडि बढ्न उहाँ विद्रोहमा विश्वास गर्नुहुन्थ्यो तर जसरी झापा आन्दोलन अगाडि बढ्यो , त्यसमा उहाँको सहमति थिएन । त्यसैले उहाँ झापा आन्दोलनको प्राथमिक चरणमै  झापाली आन्दोलनबाट अलग हुनुहुन्थ्यो तर विडम्बना तत्कालीन सरकारले उहाँलाई झापाली नायक मानेर थुनिरह्यो, थुनिरहयो। शायद उहाँले जेलबाट छुट्न २०३७ साल पर्खनुपर्‍यो । उहाँ मशाल, एकता केन्द्र जस्ता राजनीतिक दल हुँदै हाल नेकपा एकीकृतको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो , साथै प्रगतिशील सांस्कृतिक समाजका अध्यक्ष हुनुहुन्थ्यो ।

भद्रपुरमा नीरा थपलियासँग विवाह भएका रुद्रजीका २ छोरी छन् । हाल काठमाडौंको कोटेश्वरमा स्थायी बसोबास गर्नु भएका रुद्रजीले नेपालमा साहित्यिक , सांस्कृतिक र राजनीतिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु  भएको छ । उहाँका योगदानहरूले उहाँलाई जीवित राख्नेछन् । वामपन्थी विचारधारामा किशोर अवस्थादेखि नै प्रतिबद्ध र संङ्घर्षशिल रुद्र खरेलजीको २०६५ साल भाद्र ८ गते निधन भएको छ ।

झापाकै कुरा गर्दा झापाको साहित्यिक र सांस्कृतिक उत्थानका लागि र राजनीतिक सचेतनाका लागि रुद्र खरेलजीले धेरै योगदान पुर्‍याउनुभएको छ तर झापाली सञ्चार माध्यमले रुद्रजीको निधनको समाचारलाई महत्व दिन रुचाएनन् । शायद, झापाली राजनीतिक कर्मीहरू पनि रुद्रजीलाई चिन्दैनन् कि ? वास्तवमा, रुद्रजी पत्रकार पनि हुनुहुन्थ्यो । रुद्रजीको निधनको समाचारसम्म  नलेखेर पहिलो पृष्ठमा पनि पुरै विज्ञापन छाप्ने झापाली पत्रिकाहरूको कद होचो हो कि उँचो हो ? मैले बुझ्न त सकेको छैन । अझ रुद्रजी को हो ? भन्ने एक पत्रकारसँग वार्ताको कुराले भने मलाई पनि अलिकति झापाली पत्रकार हुनुसँग  लाज लागेको छ ।

अन्तमा रुद्रजीलाई श्रद्धाञ्जलि र उहाँकी पत्नी नीरा र छोरीहरू प्रति समवेदना ! फेरि अन्तमा रुद्रजीलाई उहाँका कार्यहरूले अमर बनाउनेछन्। रुद्रजी नेपाली साहित्य र संस्कृतिको सम्पाति हुनुभएको छ ।