आज भालेलाई वास्न निषेध छ
अन्धकार घोटेर छर्कँदै
निस्पट्टता पोत्दै
आँखाका नानीहरूको
चहक टिप्दै
मनहरूलाई
भयातुरमा अनुवाद गर्दै
वाजहरू-आकाशमा उडी रहेछन्
वाजहरू-कावा खाँदै आकाशमा डुब्दैछन् ।
निक्कै चिसो हुन सक्तो रहेछ रात
अन्धकार जमेको छ
आज भाले वास्न सकेको छैन
पखेटाहरूमा काँटी ठोकिएको छ
फटफटाउन सक्दैनन्
चुच्चाहरू, विवशताले कसिएका छन्
वास्ने रहर र उत्साह कैद छ
आज भालेलाई वास्न निषेध छ !
पटक-पटक जुवाको खालमा थापेर
हारिएको नियति च्यापेर
रात छिचोल्न प्रयत्नवान् मनहरू
उज्यालोको झीनो विश्वासलाई
अविश्वासको जीर्ण वन्धनले कसेर
सशङ्कसित आँखाहरूलाई रूपान्तर गर्दै
वह भरि भय पाइ रहेछन्
आज अन्योलग्रस्त छन् आँखाहरू
अन्योलग्रस्त छ मन
अन्योलग्रस्त छन् जिन्दगीहरू ।
अन्धकार पोतिएर
अपहरित सुन्दरता थाम्दै
खिन्न भएर झोक्राइ रहेछ आकाश
सुहागरात थालिन लाग्दै
विधवा हुन परेका तरुनी मनहरू जस्तै
शोक सुसेल्दै छन्, आज जुन र ताराहरू
गर्भवाट अझै अन्धकार फुट्दैछ
वग्रेल्ती अन्धकार खप्न नसकेर
धरती थरथराइ रहेछ
तैपनि आज भाले वास्न सकेको छैन
पखेटाहरूमा काँटी ठोकिएको छ
चुच्चाहरू बाँधिएका छन् ।