इतिहास रोकिँदैन
पर्वतका फेदीहरूमा
हाम्रा आँखाहरू लाम लागेका थिए
छात्तीमा र हाम्रा मष्तीष्कहरुमा
हाम्रा मनहरू टाँसिएका थिए
हाम्रा स्वरहरू गुज्जिएका थिए
र मुनालहरू नाचिरहेका थिए
तर, क्रुरहरूले
हाम्रा आँखा फोर्न खोजे
हाम्रा मन हर्न खोजे
र हाम्रा स्वरहरू थुन्न खोजे
क्रुरहरुले मान्छेका आँखाभरि र मनभरि
उजाड र निराश भर्न खोजे ।
फेरि एकपल्ट,
निरङ्कुश र क्रुरहरूको हुल पसेको छ
यस पर्वतका आँखामा
फेरी एकपल्ट
मैमत्त भएको आवाज थर्किएको छ
यस पर्वतको मनमा र कानमा
फेरि एकपल्ट
व्यभिचारी र वलात्कारीहरूको मन उक्सिएको छ
यस पर्वतका काखमा
फेरी एकपल्ट जबरजस्ती मेला लागेको छ
यस पर्वतका माझमा
फेरी एकपल्ट
दिन-दहाडै सिर्जनाका फुलहरूको डकैती भएको छ
यस पर्वतमा ।
हैन, इतिहासलाई कसैले बाँध्न सक्तैन आफ्ना अँगालोमा
इतिहास स्थिर हुनै सक्दैन क्रुर र निरङ्कुशहरूको आँगालोमा
इतिहास गतिशील छ
जसरी भए पनि उ अघि वढ्छ
उ गतिहीन हुन सक्दैन
र उ मर्न सक्दैन
क्रुरहरूलाई पछारेर
निरङ्कुशहरूलाई छकाएर
जसरी भए पनि इतिहास अघि वढ्छ, इतिहास गतिशील छ ।
एउटी युवतीले आमा हुने रहर भनी सकी
एउटी सुन्दरीले स्वेच्छाले गर्भाधान गरिसकी
ऊ प्रसवका दिनहरू गन्दैछे
सुन्दरी तँ अव आमा हुन्छेस्- आफैँलाई भन्दैछ
मान्छेका स्वर थुन्ने र आँखा फोर्ने निरङ्कुश र क्रुरहरूलाई
भयातुर चिन्तित देख्तैछ
युवती निरङ्कुश र क्रुरहरूका मस्तिष्कमा पीडा सुन्दैछे ।
कठाङग्रिएका हात तताउन ज्वालामुखी थुन्न खोज्ने हरू !
विकृत र विसङ्गत अनुहार छोप्न मान्छेका आँखा फोर्नेहरू !
मान्छेको स्वर-सङ्गीत वन्ला भन्ने त्रासले स्वरथुन्न खोज्नेहरू !
आफ्नो तृप्तिका लागि मान्छेका मन हर्नेहरू !
मान्छेको आँखा फुटाउन सकिँदैन वज्रभन्दा कठोर हुन्छ
मान्छेको मन हर्न सकिँदैन नौनी जस्तै छ मुलायम हुन्छ
स्वर रोके सङ्गीत वन्छ यसलाई थुन्न सकिँदैन
इतिहास एउटा आँधी हो
यसलाई रोक्न सकिँदैन ।