केटाकेटीको खेल
हामी !
कठ्याङ्ग्रिएका हात, खुट्टा र मन सेक्ने
धुनीका वरिपरि वसेर
हजुरवाका वचपनहरू सुन्थ्यौं
वचपनका कथाहरूको वाचनमा
ठ्याम्म मिल्दा कुरा पाउँदा
बुवाले मुस्कुराएर दर्साएको सहमतिमा
दिदी र म कलिला आँखाहरू जुधाएर
हाम्रै जस्तै वचपन भन्ठान्दै कन्खो माथ्यौँ
कुहिरोले निलेको लेकमा
धक फुकाएर डन्डीबियो खेल्थ्यौं / कवड्डी खेल्थ्यौ
माया गरेर लेकलाई छातीमा टाँस्थ्यौ
निश्छल मनहरू / कौतूहल पूर्ण आँखाहरू
कुहिरोसँगै दौडाउथ्यौ / उडाउथ्यौं /
हजुरवा, बुवा र हामीले
वचपनमा एउटै खेल खेल्यौ
हजुरवाले वचपन वताउँदा
उस्तै ठानेर
बा मुस्कुराउनु भयो
दिदी र मैले छक्क परेर कन्खी मार्यौल
र एक दिन–
हाम्रा सन्तानले पनि एउटै खेल खेलेर थाकेका बेलामा
हाम्रो वचपन सुन्दा कन्खी मार्लान्
सिर्जनामा अनुहारमा सहमतिको मुस्कान भर्लान्–
त्यस दिन हामीले हाम्रा मनभरि यस्तै ठानेका थियौ ।
तर- आज केटाकेटीहरू
धुलावारी र काँकरभिट्टामा-ब्ल्याक खेल्छन्
काठमाण्डौँमा
अविश्वासको प्रस्ताव र राष्ट्रिय पञ्चायत- खेल्छन्
पोखरामा अझै हत्या र वलात्कार खेल्छन्
देशभरिका केटाकेटी मन्त्री, हाकिम र धूस खेल्छन्
आजका केटाकेटी माफिया वनेर तस्करी खेल्छन्
हिरोइनको खरिदबिक्री खेल्छन्
-देश अन्यत्र व्यस्त छ
केटाकेटीका खेल हेर्ने फुर्सत छैन
आज देशलाई, केटाकेटीका खेल हेर्ने मन छैन ।