बिष्णु नविन
एउटा मान्छे
गफ गर्न जान्ने-तर ढाँट्न नजानेर
नेता हुन सकेन
कुरा बुझाउन जान्ने
तर आफै कुरा नबुझेर
स्मगलर हुन सकेन
जिन्दगी भरि आँसु पियो/अभाव खायो
मागेर भए पनि अलिकति रक्सी चढायो
कठै ! उ गयो ।
मलाई र मजस्तालाई इलामले
अलिकति शून्यता थपेको छ
मेरो स्मृतिको आकाश भरि नरमाइलो कुहिरो
ढाकिएको छ
दश रुपियाँको लागि हात थाप्ने उ हुँदैन अव त्यहाँ
नयाँ मान्छे भेटे मात्र छाक टार्न उ छैन अव त्यहाँ
रक्सी र उ जसले एक अर्कोले आलोपालो गरी खाए
दुइटाले एक अर्कोलाई खाने क्रिया हुँदैन अव त्यहाँ
खूब ढाँटेर नेता हुन सकेको भए
लालचमा पौड्दै स्मगलर भएको भए
हाँस्य-व्यंग्यको सट्टामा धेरैका धर खेत उडाउने राजीनामा लेखेर
अलमल्याउँदै लीन सकेको भए
या करोडपति वाबुको छोरा भए
विष्णु नवीन भोकै मर्ने थिएन/नाङ्गै डुल्ने थिएन
आँखाभरि विषाद र व्यङ्ग्य बोकेर
दश रुपैयाँ दिने मान्छे खोजेर हिड्ने थिएन ।