मेरो गाउँ
कति निस्तब्ध छ
कति सुन्दर र शान्त छ
एउटी किशोरीको मुस्कान खोसेर
सधैँ सजाएर उस्तै पारेर राखे जस्तै
एउटी तरुनीको शृङ्गार खोसेर
सधैँ उस्तै पारेर राखे जस्तै
सधैँ हेरी रहुँ जस्तै
र मुटुभित्र लुकाएर राखौं जस्तो
त्यो मेरो गाउँ
त्यो म जन्मेको ठाउँ ।
मेरो गाउँको शिर
त्यो थाम डाँडो कति अग्लो छ
रवि र फुङ्सिङलाई सहोदर दिदी वहिनी जस्तै ठानेर
दायाँ वायाँ राखेर
आफू बीचमा वसेकी छ गम्भीर भएर
र आफ्ना गर्भमा सहल राखेको छ
आफू सहनशील सुस्त र धैर्य भएर वसेको छ ।
हामीले धाप्रेको घाँस काटेको त्यो राहुतेलाई
अहिले मैले मैरो अगाडी तानेको छु
वालक छदै त्यो देउरालीमा
मैले एउटा ढुङ्गो चढाएको छु
बेहुली ढुङ्गालाई यो मेरी बेहुली भनेर जिस्कन्थ्यौं हामी
राहुतेको चुथ्रो घारी एक एक गरेर चाहार्थ्यौँ हामी
धोद्रे धाराको चिसो पानी पिएर प्यास मेट्थ्यौं हामी ।
बुटै बुटाले चटक्क परेको
एउटा मजेत्रो ओढेको जस्तो लाग्छ
त्यो अम्लीसेनी र उत्तिस घारीलाई हेरेर
एउटी सोह्र वर्षे कुमारीमा यौवन छल्के जस्तो लाग्छ
त्यो जुरी थुम्कोलाई हेरेर
त्यो रसिलो घँसिलो गाउँलाई
हेरिरहुँ जस्तो लाग्छ
रोटेपिङको डाँडोमा उभिएर
अन्माउन लागेकी बेहुलीको सिउँदो जस्तो लाग्छ बिहानको सूर्यले मेरो गाउँलाई चुमेको हेरेर ।
चिहान डाँडोको चौतारीमा वसेर हेरिरहेछु म
अहिले मेरो नर्कटको खेतलाई
रमिते ढुङ्गामा वसेर हेरिरहेछु म
अहिले मेरो कोप्चेको फाँटलाई
यिनै नर्कटे र कोप्चेका दुइटा फाँटले
पालेको छ सारा फुएतप्पेलीलाई
त्यो थावा खोलो र त्यो मुगेखोलो
माला लागेर वगेका छन् सारा फुएतप्पालाई ।
कति स्निग्ध र स्वच्छ छ
ती दुइटा खोलाको पानी !
कति शितल र स्वादिलो छ
ती दुइटा खोलाको पानी !
अझै पनि म थावा खोलाको
वगाई सँगै वग्न सक्छु
अझै पनि म मुगे खोलाको सुसाइसँगै गाउन सक्छु
राहुतेको खर्क भरी घुम्न सक्छु
आङ्चेरेका फाँटभरी डुल्न सक्छु ।
मेरो गाउँको पाइतालालाई छोएर वगेको छ
अर्को एउटा फाकफोक खोलो
यसैले मुगे र थावालाई च्यापेर लगेको छ
सानै भएर पनि ठूलो छ यो खोलो मेरो लागी
वर्षभरि सङलो छ यो खोलो मेरा लागि
यस्तै सङ्लो माया छ मेरो गाउँको मेरा छाती भरि ।
हरेक तिहारमा हामी मादल वजाएर नाच्थ्यौं
घर-घर नाचेर हामी रात काट्थ्यौं
भोलिको देश सह्यार्ने मान्छेलाई पढ्ने
पाठशाला वनाउन हामी पैसा वटुल्थ्यौं ।
भोकै-तीर्खै भएपनि
स-साना केटाकेटी नचाउँदै हामी हिँड्थ्यौ ।
आज नखुको उजाड र उदास जेलमा वसेर
सम्झिरहेछु म मेरो गाउँलाई
अशान्त मन लिएर संम्झिरहेछु
म मेरो शान्त गाउँलाई
मन मनै ठानिरहेछु
नउजाडियोस् मेरो गाउँ कसै गरेर
नउराठियोस मेरो गाउँ कसै गरेर
यहीँवाट चुमिरहेछु एकपल्ट मेरो गाउँलाई
मुटु भरी प्रीत भरेर ढोगी रहेछु
मेरो गाउँतिर फर्केर
ढोगी रहेछु थामडाँडालाई एकपल्ट यहीँवाट झुकेर ।
२०३० चैत्र