वाटो

लहलह धान फल्ने खेत
हराभरा मकै फल्ने वारी
आलु फल्ने र कोबी फुल्ने कोठेवारि
अनूदित भएर निर्मित यो वाटो
यहाँ-नरम र कोमल पाइतालाहरु मात्र परुन्
यहाँ- मुलायम र सर्माउने मनहरू मात्र झरुन्
नानीहरू रमाउन् र खेलून् –
“माटो फुल्यो- वाटो वन्यो”- भन्दै गीत गाउन् ।
वाटो- नानीहरूलाई पाठशाला जान निम्ति हो
वाटो- कन्याहरूलाई मन्दिरसम्म जानलाई हो
वाटो-स्रष्टाहरूलाई आवतजावत गर्नलाई हो
दिनभरि हिँडेर मनभरि कुरा पोख्न लाई हो
वाटो-युगल जोडीहरूलाई
आ-आफ्नो माया जोख्नलाई हो
वाटो-खप्न नसक्ने पीडा र दर्द पोख्नलाई हो ।
तर, एउटा छाप लागि रहेछ वाटामा
क्रुर टाप वजी रहेछ वाटामा
नानीहरूका आँखा भयभीत छन्
नव-दम्पतीका कान सशङ्कतिर छन्
कोही पनि ढुक्क छैन, यस वाटामा
कोही पनि ढुक्क छैन, यस वाटामा
मान्छेका मनहरू हारिँदै छन्
आशाहरू खोसिँदै छन्
पाइतालाहरु बलात्कृत हुँदै वचेका छन् ।
वाटो त त्यस्तो होस्
त्यहाँ-मान्छे नाच्न पाओस्
त्यहाँ-मान्छे हाँस्न पाओस्
मनभरि वह पोख्न पाओस्
आफ्नो पाइतालाहरु फैलाएर मान्छेले
वाटामा टेक्न पाओस्