सडकको कथा
हरेक दिन
दिन ढलेपछि
टाढाबाट
आफ्ना वचेराहरूलाई
चारो च्यापेर आएका
युगल पन्छीहरूसँगै
अड्डा टुटेपछि /विद्यालय छुटेपछि ,
ओइरो ओइरो भएर आएका
हरेक मान्छेको मुस्कान पाएर
यो सडकभरि उन्माद छाएको छ
हरेक मान्छेको मुस्कान पाएर
यो सडक मन्द हाँसो हाँसेको छ
तर क्षणमै
हरेक मान्छेका निर्मम पाइतालाले कुल्चिएर
यो सडक अनायासै रोइ रहेछ
हरेक मान्छेका निरङ्कुश पाइतालाले कुल्चिएर
यो सडकभरि व्यथा र पीडा भरिएको छ
हरेक मान्छेका निर्मोही पाइतालाले थिलथिलिएर
यो सडकभरि घाउ लागेको छ ।
यो सडक
– जसले अनगिन्ती पाइतालाहरू थापी सक्यो
यो सडक
– जसले अनगिन्ती पाइतालाहरू थामी सक्यो
अव बूढो भएर पनि
थापी रहेछ पाइतालाहरू आफ्ना छात्तिमा
बूढो भएर पनि
थामि रहेछ पाइतालाहरू आफैँ माथिमा
हरेक पाइताला खस्नु अघि उ शान्त हुन्छ
र हरेक पाइताला खसेपछि उ क्लान्त हुन्छ
खोजी रहेछ उसले पाइतालाहरू जो उसलाई बुझ्न सक्छन्
भेटी रहेछ उसले पाइतालाहरू जो उसँग
जुझ्न सक्छन्
यस्तै क्रममा अविरल पाइतालाले टेकेपछि पनि
जव पाउँदैन जसले संयमी र स्नेही टेकाइ
वर्षौ पछि फेरी दिग्दार भएर
दुई थोपा आँसु झार्छ
कसैले थाहा नपाउने गरि
तर निर्मोही पाइतालाहरूले
कुल्चि दिन्छन् उसका आँसुका थोपामा
आफ्नै आँसु हेर्न नपाउँदै
शोसिदिन्छन् क्रूर पाइतालाहरूले
टेकेर वाटामा ।