सहर

दिनभरिका कोलाहल र अत्यासहरूलाई
दिनभरिका अन्याय र सन्त्रासहरूलाई
दिनभरिका शोषण र दमनहरूलाई
दिनभरिका कल्पनाका चयनहरूलाई
कसैलाई सिरानी हालेर
कसैलाई ओछ्यानमुनि खाँदेर
कसैलाई पोल्टोमा पारेर
भर्खर कोल्टो फर्केर
यो सानो सहर निदाएको छ अहिले
शान्त र सुस्त जुनमा जस्तै भएर
यसमा पनि मौनता भरिएको छ अहिले
सेँधै यसरी नै
निन्द्रामा पर्ने यो सानो शहर
र सँधै यसरी नै
निन्द्रामा परेकाहरुको रहर
कुखुरीका पखेटाको फटफट जस्तै
बिउँझन खोज्छ
र हरेक पल्ट
यस्तै बिउँझाइसँगै
ओछ्यान मुनिवाट र शिरानमुनिवाट
झिकेर यो सानो सहर
कोलाहल, अत्यास र अन्याय छरी दिन्छ
सन्त्रास, शोषण र दमन आफैमा भरि दिन्छ
फेरी सहर निदाउँछ – फेरि सहर बिउँझन्छ ।
तर खोइ के बिउँझन्छ ?
सहर आफै निन्द्रामा छ
दिन दाहाडै एउटा वाघ पसेर गर्जन्छ
सहरलाई थाहा हुँदैन
दिन दाहाडै बौलाहा हात्ती पसेर विनाश गर्छ
सहरलाई वास्ता छैन
यसरी आगो सल्कन्छ
यसले सारा भट्टीहरूको रक्सी
रित्याएर सुतेको छ
यसले सारा वारहरूको रक्सी धोकेर सुतेको छ
अव खोई कहिले बिउँझन्छ यो सहर सचेत भएर
अव खोई कहिले झस्किन्छ यो सहर बिचेत टुटेर ।
अहिले एउटा दीर्घ रोगी जस्तै भएर
यो सहर लमतन्न परेर सुतेको छ
यस सहरको मस्तिष्क र छाती भरि भएर
हुलका हुल कीटाणुहरूको ओइरो लागेको छ
यस सहरलाई हर दिन व्यग्र पारेर
रोगले कज्याउदै लगेकोछ
यस सहरलाइ हर क्षण व्यग्र पारेर
वातावरणले अँठ्याउँदै लगेको छ
झाडा वान्तमा फसेको छ
एउटा असहाय रोगी जस्तै
यो सहर दुर्गन्धमा डुबेको छ
मुस्कान खुशी र उत्साह
कहिले सम्मलाई हो ? कुन्नि !
यस सहरवाटै उडेको छ ।