साहिँला दाइ
सधैँभरि
एउटा गह्रौँ भारी,
एउटा नुनको भारी बोकेर
तरतरी पसिना झार्दै
तोक्मा लगाएर खुइय्य…सुसेला हाल्दै
चिउरीवास, पेरुङ्गे, टोड्के र कुसुण्डे भएर गुज्रने
एउटा मान्छे
हरेक हप्ता दोहोरिन्छ यहाँवाट
अभ्यस्त, तर नाङ्गा पाइतालाहरुको डाम थामेर
साँझ परेपछि
मकैको पीठो ओडालेर
अलिनो गुन्द्रुकको झोलसँग मीठो मानेर खान्छ
र ढाकरकै छेउमा
निन्द्रा ओढेर
खाली भुइमा सुति दिन्छ, एउटा नाङ्गो ढुङ्गाको सिरानी हालेर
र सपनाभरि
थाहै नपाई लन्च, डिनर खाँदै हुन्छ सोफासेटमा वसेर
आराम दायी ओछ्यानमा सुतेको हुन्छ, दामी झुल टाँगेर
र राती नै बिउँझेपछि थपक्क वाटो लाग्छ
गह्रौँ नुनको भारी बोकेर
हरेक हप्ता
मधुमल्लावाट नुन खेपेर
रविमा बेच्ने यो साँहिलादाइ
चैते घाममा पनि हिँड्छ यही उकालो
साउने झरीमा पनि हिँड्छ यही ओरालो
भदौरे भेलामा पनि तर्छ यो भँगालो
उसले जितेर हिँड्नुपर्छ चैते घामलाई तरतरी पसिना झार्दै
रुझ्नुपर्छ साउने झरीमा मुखवाट असन्तोषका राप उकेल्दै
डुब्नुपर्छ भदौरे भेलमा अझै धेरै वाच्ने आशालाई सँगेल्दै
यसको वदलामा हरेक पल्टको दुई रुपियाँ नाफा भए पुग्छ
यसको वदलामा जहान-वच्चालाई मात्रै आधा पेट ढिढो खुवाउन पाए पुग्छ ।