‘जेल जर्नल’ कांग्रेसीहरुलाई सिस्नु–पानी
वी.पी.को मृत्यु भएको धेरै बर्षपछि प्रकाशित भएको वी.पी.को ‘जेल जर्नल’ पढ्नेलाई यस कृतिले ठूलो सन्तुष्टि दिन्छ। वी.पी.का बारेमा थाहा नभएका धेरै कुरा जान्न र बुझ्न त सकिन्छ नैं । पढी सके पछि एउटा विषय पनि लाग्छ– त्यो हो, पुरै जेल अवधिका दैनिकीहरू यसमा पाएको भए ?
जे होस्, वी.पी. ठूलै मान्छे रहेछन् । हालवाला आम कांग्रेसी नेताहरू जस्तै वी.पी.लाई ठान्नु ठूलै भूल हुने रहेछ । अहिलेका काँग्रेसीहरुले त वी.पी.को नाम बेचेर खाएका रहेछन् । वी.पी.लाई कुरूप बनाएका रहेछन् । वी.पी.को सगरमाथा जस्तो उचाइ घटाएर बाउन्ने बनाउन खोजेका रहेछन् । वी.पी.को व्यक्तित्वमा आउने चमकले उनीहरू हैरान हुँदा रहेछन् । गणेशराज शर्माको यस कृतिको भूमिकामा उल्लेख गरिएका तथ्यले यस कुराको खण्डन हुनै नसक्ने प्रमाण प्रस्तुत गरेको छ । कांग्रेसी नेताहरूलाई झापड र सिस्नु पानीको प्रहार भएको छ ।
२०४६ सालको जनआन्दोलन पश्चात् सत्तामा पुग्न सफल भएका नेताहरूले नेताको आदर्शलाई समाजमा मेट्ने काम गरेका छन् । आदर्श र राष्ट्रको भविष्यलाई कालो पोतेर व्यक्तिगत फाइदाका लागि जे पनि गरेका छन् । हिजो पहिलो पटक सदनमा पस्ता फाटेका चप्पल लगाएर पस्नेहरु आफ्नो त्यस्तो अवस्थाको आफैँ विश्वास गर्न नसक्ने भएका छन् । समाजलाई अलिक तलतिर धकेलेर उच्चस्थानमा पुगेका छन् । निरीह र दुर्वलहरुको मुन्टो बटारेर आफ्नो टाउको उठाएका छन् ।
वी.पी. यी सबै अवस्थाको जबाफ रहेछन् । कम्युनिष्टहरुमा पनि आदर्शका केही नेताहरू छन् । उनका अनुयायी बनेर राजनीति थालेका कामरेडहरु, ती आदर्श पुरुषहरूको उज्यालोलाई खाल्डोमा हालेर नाफाको राजनीति गरिरहेछन् । उनको नाफाको व्यापार फस्टाउँदैछ । जनता र राष्ट्रका नामबाट आर्जन भइरहेको उनको अकूत सम्पत्तिले मनमोहनको आदर्शलाई गिज्याइरहेछ । पुष्पलाल र मदन भण्डारीको त्याग र बलिदानलाई उपेक्षा गरिरहेछ । मौका पर्ने वित्तिकै जनताको धरोहर बेच्छन्। राष्ट्र उपहार दिन्छन् ।
वी.पी. कोइराला गृहमन्त्री भए । १८ महिना प्रधानमन्त्री भए । वी.पी. कोइराला जहिले पनि राजनीतिमा ठूलै भएर रहे । अहिले ३ महिना मन्त्री हुन पाएर ३ पुस्तालाई चलन गर्न पुग्ने सम्पत्ति आर्जन गर्न सफल भएका कांग्रेसीहरुले वी.पी.को ‘जेल जर्नल’ पढून् र बुझून् । वी.पी.ले नियमित सुविधा बाहेक केही लिएनन् । कमिसन खाएनन्, घुस खाएनन् । जेल पर्ने वित्तकिै उनलाई छोरा छोरी पढाउन, परिवार चलाउन जसरी संकट परेको देखिन्छ त्यो नै वी.पी.को इमानदारिता हो । आफैँ लुगा धुन्छन्, आइरन लाउँछन् । वी.पी. अहिलेका मन्त्रीहरू जस्तो कमिशनखोर भए सुशीला कोइरालाले ८/१० जना केटाकेटीलाई आफैँले भात पकाएर खुवाउनु, भाँडा माझ्नु पर्ने थिएन । परिवारको कुनै एक सदस्यले नोकरी पाए जीवन अलिक सरल हुने थियो भनेर जेलमा वी.पी.ले छट्पटाउनु पर्ने थिएन ।
वी.पी.का कमजोरीका बारेमा चलेका चर्चाहरू वी.पी.ले स्वीकार गरेका छन् । आफैँसँग अव दृढ रहने अठोट गरेका छन् । यस्तो स्वीकारोक्ति सार्वजनिक जीवनमा प्रतिष्ठा पाएको व्यक्तिले अरू मुलुकमा पनि गर्न सकेका छैनन् । वास्तवमा वी.पी.सँग महान् हुने धेरै गुण रहेछन् ।