झापासँग अनेक विशेषता छन्
एकपटक सी.के.प्रसाईले लेख्नुभएको थियो– ‘झापासँग केही विशेषता छ ।’ त्यस बेला मैले त्यस लेखको विषय प्रति त्यति ध्यान दिइन । त्यस लेखले मलाई छोएन पनि । जात, जातिका कुरा, परिवारका कुरा, व्यक्ति र व्यक्तित्वका कुरा यस्तै थिए त्यो लेखमा । एउटा सामान्य लेखकको सामान्य लेखका रूपमा मैले त्यस लेखलाई बुझेको थिँए– त्यसदिन । कही कतै त्यसलेखले चर्चा पाउँदा पनि मलाई लागेको थियो– सी.के.को व्यक्तित्वले त्यस लेखको चर्चालाई उठाएको छ ।
आज, त्यो लेख पढेको धेरै वर्षपछि मलाई त्यो लेखको अर्थ खुल्दै जाँदैछ । वास्तवमा झापासँग केही विशेषता रहेछ । जो अगाडि नैं सी.के.प्रसाईको मस्तिष्कमा प्रवेश गरेको रहेछ । अझ त्यो सानो लेखमा झापाका विशेषता सबै आफ्ना आकारमा फैलन सक्ने पनि भएन । यस प्रसङ्गमा त्यो लेख झापाको विशेषताको एउटा विषयसूची मात्र हो । त्यो पनि पूर्ण नहुन सक्छ ।
त्यसमा पनि विशेषताहरू कहाँ सधैँ स्थिर रहन्छन् र ? समय र गतिसँगै परिवर्तन पनि हुन्छन् । सी.के.प्रसाईले उठाउनुभएको झापाका विशेषताहरू त- यस्ता छन् जो परिवर्तित हुँदैनन् तर ती विशेषताहरूमा समयले अरू विशेषता पनि दिन्छ र विशेषताको भण्डार संभ्रान्त बन्दै जान्छ । त्यसैले झापासँग विशेषता थिए । थपिँदै गए । थपिँदै जाँदैछन् र झापा विशेषताहरूको भण्डारमा परिवर्तन हुँदैछ ।
भौगोलिक विशेषताको कुरा गर्ने हो भने झापामा खास विशेषता छन् । यही झापामा शान्तिनगर छ, बाहुनडाँगी छ । जो तराई हो जस्तै लाग्दैन भने यही झापामा केचना छ जो अधिराज्यको होचो स्थान (विवाद भए पनि स्थान भने छैन) छ । शान्तिनगरलाई त मान्छेहरूले झापाको काश्मीर पनि भने। अहिले मात्र शान्तिनगरको अलिक महत्त्व घटेको हो कि ? नत्र त शान्तिनगरको पहिचान विशिष्ट रूपमा थियो । झापामा सम्पन्नहरूकै गृष्म दरबारका रूपमा त्यो थियो भने स्थानीय सर्वसाधारणका लागि त ऊ आफैँ स्वर्ग थियो । बाहुनडाँगी पनि शान्तिनगरकै हाराहारीको कोटीमा छँदैछ । हामी, एकदिन बाहुनडाँगी, शान्तिनगर गएर बसौं र एकदिन केचना पाठामारी गएर बसौं, फेरि अर्को दिन कोहोवरा र जुरोपानी गएर गाउँभित्र बसौं– अनि पो अनुभूत हुन्छ– हामीलाई झापाको विशेषता ।
उता भारतको पश्चिम बङ्गाल र विहारको भूभाग जोडिएको, खुला सीमाना रहेको र गलगलिया, नक्सलवारी रेलवे स्टेसनहरू झापामा जोडिएको प्रसङ्ग यहाँको अर्को विशेषता हो । ती रेलवे स्टेसनहरूको सदुपयोग यताबाट हुन सकेन । धेरै पहिला जति बेला झापामा धेरै धान फल्दथ्यो, भद्रपुरमा मिलै-मिल थिए भने त्यति बेला भने बाहगनमा बाहगन ल्याएर भारतका विभिन्न स्थानमा चामल लगिन्थ्यो । अहले त झापामा धान फल्दैन । उता लाने उत्पादन नैं केही छैन । गलगलिया र नक्सलको रेलवे स्टेसन त भारतले नेपालका लागि च्याँखे पनि थापेको हो– आजकाल च्याँखे त्यति पर्दैन । रेलमार्ग खुलेपछि नैं झापालीलाई रेलयात्रा पर सरेको छ । तैपनि सिमाना छेउको रेलमार्गमा भारतीय रेल झापालीलाई सिटी सुनाउँदै दौडन्छ– अर्कोको रेलको सिटी सुन्नु पर्ने झापालीको बाध्यता पनि विशेषता जस्तै छ ।
लाग्छ, अलिक मोटो सीमा धर्सोले मात्र नेपाल–बङ्गलादेश छुट्याएको छ । विद्यार्थी छँदा– ‘राधिकापुरको बाटो पाउनै पर्छ’ भनेर हामीले धेरै नारा लगायौ । बाटो पाउनु भन्दा, हाम्रा स्वर नै सुके पनि नेपाल–बङ्गलादेशको दूरी भने बढेको छैन । प्रयोगमा आउन नसकेपछि फूलबारी बङ्गलावन्द बाटोको नयाँ प्रसङ्ग आएको छ– त्यो त च्याँबन्द बुरामारी हुँदै झापाबाट झन्डै एकै दिनमा ढाका पुगिन्छ । झापाले प्रयोग गर्न नसक्नु एउटा कुरा हो– प्रयोगको सम्भावना प्रचुर छ– जो झापाको विशेषतामा जोडिन्छ ।
झापामा धार्मिक स्थानहरू यति भरमार छन् कि लहरै उभिएका छन् । किचकबध, बिराटपोखर, धनुषा, अर्जुनधारा, साधुटार, सतासीधाम, चिलागढ केही उदाहरणमात्र हुन् । यी हरेक ठाउँमा केही न केही विशेषताहरू छन् । यी र आसपासका स्थानहरूबाट अनेक पुरातात्त्विक महत्त्वका वस्तुहरू पनि पाइँदैछन् । यिनको उपयुक्त उत्त्खनन, अध्ययन, अनुसन्धान भने धेरै टाढा छ । त्यो बाटो नैं पर्दा लाएर राखिएको छ । झापाका यस्ता विशेषताहरू राष्ट्रका तर्फबाट पनि खोतल्नु पर्ने हो । त्यो भएको छैन ।
झापामा धेरै नदी, नाला खहरे खोल्सा छन् । अहिलेसम्म त यिनले दिने उत्पात मात्रै झापालाई हात लागेको छ । झापाले यिनको योगदान भित्र्याउन सकेको छैन । मेची, निन्दा, हडिया, देवनिया, अधुवा, घागरा, विरिङ, कन्काई, बालवानी, रतुवा, मावा लगायतका नदीहरूमा अनगिन्ती पानी बग्छ। हामी हेरिरहन्छौं । वर्षामा यिनीहरू आफैँ नियन्त्रण बाहिरहुन्छन् । छेउछाउको जमिन छोपिन्छ, उनको वहावको दिशा परिवर्तन हुन्छ । घर, खेत, गोठ, बाली, नाली, बाढीको चपेटामा पर्छ र जमिन मरुभूमिमा परिणत हुन्छ । यस्तो बेला त यी झापाका विशेषता हुन् भनेर सम्झन पनि हामीलाई मन लाग्दैन । तर यी सबैमा तट बन्धन गरेर यिनको गति दायाँ-बायाँ हुन नदिने र आवश्यकता अनुसार सिँचाई गर्ने योजना मिलाउने हो भने यी त झापाका वरदानमा परिणत हुन्छन् । आज यिनको ध्वंसको लपेटामा परेको सारै धेरै जमिन उपयोगमा आउनेछ ।
बन-जङ्गल झापाको अर्को विशेषता रहेको छ तर बन सीमाको अतिक्रमण र अवैध फँडानी, कटानी युद्धस्तरमा चलेका छन् । यो सम्झदा त कति दिन लाग्छ र बन सिद्धिन ? यसको संरक्षण र उचित प्रवर्द्धन भए झापाको बन झापाको गहना हो । तर झापाकै मान्छेहरू, काठ व्यवसायी भएर, सुकुम्वासी भएर, बन-जङ्गल प्रवर्द्धनका नाउमा पनि बन तस्कर भएरै निस्केका छन्– सम्बर्द्धनको जिम्मा पाएकाहरूले पनि उनैलाई सघाएका
छन् ।
यसै त मेची अञ्चलभरि चिया नैं चिया आँटेको छ । तैपनि इलाम, पाँचथरतिर उच्च गुणस्तरको चिया उत्पादन हुन सके पनि परिमाणका हिसाबले चिया उत्पादनमा झापा अगाडि छ । वि. सं. २०१६ सालदेखि सुरु भएको चिया खेतीमा भूमि सुधार लागेपछि एकाएक वृद्धि भयो तैपनि ५/६ वटा चिया बगान रहेको झापामा चिया विकास निगमले धेरै क्षेत्रमा चिया रोपायो । अझ बितेका दशकहरूमा चिया बगान लगाउन धेरै मान्छे आकर्षित भए । पहिला सयौं-सयौं बिघा जमिन भएर मात्र बगान लगाउन सकिन्छ भन्ने मान्यतामा परिवर्तन भयो र २/४ बिघा गर्दै अहिले मान्छेले २/४ कट्ठामा पनि चिया लगाउन थालेका छन् । यसरी झापा चियै बगानले ढाकिन लागेको छ । यसरी झापाको महत्त्वपूर्ण विशेषताका रूपमा चिया थपिएको छ । तर दु:खको कुरा यो भएको छ– सरकारसँग चिया लागेको क्षेत्र, उत्पादन अङ्क, रोजगार, पुँजी समस्या, फाइदा आदिको डाटासम्म छैन । प्रश्न छ– झापामा चिया लागेको कुनै सरकारलाई थाहा छ ?
माथि उल्लेख कुराहरू त सामान्य उदाहरण मात्र हुन् । झापाका यस्ता विशेषताहरूको ढेरी छ । ती विशेषताहरूको प्रयोग र उपभोग मात्र झापाको समस्या रहेको छ । झापाले धेरैलाई धेरै थोक दिएर पनि झापाले कतैबाट केही पाउन सकेको छैन ।
त्यसो त झापाबाट अनगिन्ती मान्छेहरू नीति निर्माणको चाबी चलाउनेसम्म बनेका छन्– उनबाट पनि झापाले उचित प्रतिफल भने पाएन। वरू पञ्चायतकालमा झापाले गोपालचन्द्र सिंह, प्रकाशचन्द्र मुखिया, केशवकुमार बुढाथोकी र नरेन्द्रनाथ बाँस्तोलालाई सहायक र राज्यमन्त्री मात्रै पाएको थियो । बहुदल आएपछि त चक्र बाँस्तोला, सी.पी. मैनाली, आर.के.मैनाली, के.पी.ओली, नरेन्द्रविक्रम नेम्बाङ्ग, देवी ओझालाई पुरा मन्त्रीका रूपमा झापाले पायो । झापासँग अनेक हिसाबले जोडिएका मन्त्री पनि धेरै भए । प्रदीप नेपाल, माधव नेपाल, सुवास नेम्वाङ्ग आदिलाई झापासँग विशिष्ट रूपमा जोडिएका व्यक्तित्वका रूपमा लिन सकिन्छ । एकपटक त माथि नाम उल्लेख छ जना शक्तिशाली मन्त्रीहरू मन्त्री मण्डलमा थिए– तैपनि झापामा विशेषताहरूको आकार भएन ।
उता निजामती सेवाको नेतृत्व तहमा पनि झापाका अनेक व्यक्तित्व पुगेका छन् । तेजबहादुर प्रसाई, भक्तबहादुर कोइराला आदिको नाम यस प्रसङ्गमा लीन सकिन्छ । शारदा पराजुली प्रहरी नेतृत्वमा पुग्नुभयो । जङ्गी र निजामतीमा अन्य तहमा पनि अनेक झापाली पुगेका छन् । के भयो भयो ? तत्काल उहाँहरूमा आँखाबाट झापा देखिएन ।
डा. युवराज खतिवडा अहिले झापाको उपलब्धि बन्नुभएको छ । योजना आयोगमा युवराज खतिवडा पुग्नु नैं झापाले गर्व गर्नुपर्छ । त्यसो त योजना आयोगमा पुग्ने मान्छेको जिम्मेवारी झापाका विशेषता फुलाउने मात्रै त हुँदै होइन । उहाँहरूको दायित्व मुलुक फुलाउने रहन्छ तर हेर्ने आँखाले पनि झापालाई ठीकसँग हेरिएन भन्ने झापाको खिन्नता भने रहेको छ ।
हो, झापामा अनेक विशेषता छन्– जो थोरै प्रयत्नमा मुलुक व्यापी प्रभाव दिन सक्षम बन्नेछन् – तर क्षेत्रमा अगुवाहरूले झापाका विशेषता बुझिदिए भने मात्र ।