दार्जिलिङमा दुई दिन
बिहान ९ बजे सिलिगुडीबाट हामी हिँड्यौं । तराईको फराकिलो बाटोमा कारको गति तीव्र भएकाले हामीले तराई चाँडै सिध्यायौं । हाम्रो ड्राइभर पनि निकै रसिलो रहेछ । हामीमध्येका बुढौतीले छोएका साथीहरू हाँसेर, गाएर रमाइलोमा डुब्दा ड्राइभर पनि बेला–बेलामा स्टेरिङ छाडेर थप्पडी मार्न चुक्दैनथ्यो । घुम्ती-घुम्तीले भरिएको सानो बाटोमा ड्राइभरको यस्तो क्रियाकलापले मलाई भने झन्डै-झन्डै रक्तसञ्चार बन्द होला झैँ हुन्थ्यो, तैपनि हाम्रो यात्रा-मण्डलीमा कायरहरूको सूचीको एक नम्बरमा दरिनुपर्ला भन्ने डरले म आफ्नो डरलाई खुम्च्याउँथें, दबाउँथें । कहिले हामी रेललाई उछिन्थ्यौं, कहिले रेल हामीलाई उछिन्थ्यो, कहिले हार-हारी भएर दौडन्थ्यौ, रेलका यात्रीहरूसँग हामी हेराहेरमै माया साट्थ्यौं । कतै झाडी, वन, कतै नागी, कतै बगानले भरिएको पहाडको आरोहमा हामी अनन्त खुसी पिइरहेका थियौं । सयपत्री फूल लिएर घर सिँगार्न व्यस्त मखमली किशोरीहरूलाई देखेर हामी त्यसै–त्यसै विभोर हुन्थ्यौं । हामी खुसी र हर्षमा बिलाउँदै जाँदै थियौं । हामी सौन्दर्य ढकमक्क भएर फुलेको पहाडको आरोहमा थियौं।
दिउँसोको एक बजेको हुँदो हो, हामीले दार्जिलिङको छाती टेक्यौं । हाम्रो समूहमा म मात्र यस्तो व्यक्ति थिएँ, जसको दार्जिलिङसँगको त्यो पहिलो भेट थियो । मैले बनाएर ल्याएको दार्जिलिङको तसबीरसँग साँच्चैको दार्जिलिङलाई भिडाएँ, अलिक मिलेन, तर नाक खुम्च्याउने ठाउँ पनि मैले कतै पाइनँ । दार्जिलिङ पुग्नेवित्तिकै मैले एउटा ठूलो धोको पूरा गरेको महसुस गरेँ । यो धोको त्यसबेलादेखि कुतकुतिएको थियो– जब मैले काठमाडौंमा एकपटक इलाममा जन्मेको, झापामा बस्छु, दार्जिलिङ देखेको छैन भन्दा झन्डै त्यहाँका मानिसहरू मलाई हेर्न ओइरिएथे ।
हामी सबभन्दा पहिले बस्ने होटलको छनौटमा लाग्नुपर्ने भयो । एकजना साथीले कहाँ बसे उपयुक्त होला, एकजना परिचित व्यक्तिको राय लिने कुरा गर्नु भएपछि हामी उहाँको पछि लाग्यौं र पछि गएर सल्लाह लिन निकालेको धारणाप्रति पश्चात्ताप गर्यौं । मित्रका ती परिचित व्यक्तिले कुन होटेलमा बस्न राम्रो होला भनेर हामीलाई राय दिनुभएन, उहाँकै गेष्टहाउसको चाबी हामीलाई जिम्मा लाउनुभो र होटलको नामै लिन दिनुभएन । हामी बाध्य भएर त्यहीँ बस्यौं ।
खाना खाएर केही क्षण आराम गरेपछि हामी बाहिर निस्कन हतारियौं । दार्जिलिङको सहरले मलाई च्वास्स छोयो । सहर सफा छ, काठमाडौंमा जस्तो फोहोर र दुर्गन्ध मौलाएका थोत्रे गल्लीहरू पाइँदैनन् । हरेकका अनुहारमा मुस्कान खिलेको पाइन्छ । लाली भरिएर स्याउ जस्तै भएका गालाहरूप्रति औधी लोभ लाग्छ । पीडा, दु:ख र दर्दहरूलाई आफैँभित्र पचाएर मानिसहरू औधी प्रसन्नतामा बाँचेका छन् । भोलिपल्ट लक्ष्मीपूजा परेकाले मानिसहरू घर सिँगार्न व्यस्त देखिन्छन् । त्यसै पनि दार्जिलिङले आनन्द दिएर बाँचेको छ भने झन् सयपत्री र गोदावारीका मालाहरूले दार्जिलिङलाई बेहुली बनाएको भान हुन्छ । कात्तिक नैं भए पनि हामी तराईबाट जानेहरूलाई जाडोले भयभीत बनाउँछ । हामीमध्ये गरम कपडा नबोक्ने साथीहरू स्वेटरहरू किन्न हतारिन्छन् र हामी त्यतै लाग्छौं ।
एकाध घण्टा खर्चेपछि ‘अम्बर गुरुङ नाइट’ को प्रचारले हाम्रो मन खिच्छ । टिकट नपाउने शङ्काबाट बिदा हुन पहिल्यै टिकटको व्यवस्था मिलाएपछि हामी दार्जिलिङको छातीमा प्रसन्न भएर बिलाउँछौं । हामी चौरस्तामा पुग्दा साँझको पाँच बज्न लागेको हुन्छ । जाडो उग्र भएर हाम्रा मुटुहरू काम्न थाल्छन् । एक-दुई पेग बिना जाडो पच्दैन भन्ने साथीहरूको मत सर्वसम्मत हुन्छ । होटेलमा केही समय खर्चेपछि हामी ‘अम्बर गुरुङ नाइट’ एटेन्ड गर्न सोझै जान्छौं । नामी फुटबलका खेलाडी श्याम थापाको पनि त्यसै समारोहमा स्वागत हुनेरहेछ । अब हामी दार्जिलिङभन्दा अझ पर सङ्गीतको सन्सारमा पुग्छौं । अम्बर गुरुङ गाउँछन्– के गाउँछन् भन्नु सारा प्रवासी नेपालीहरूको चोट उगेलिरहेछन्, मेचीलाई पूर्व र पश्चिम छुट्याउने भन्दै पश्चिम पहाडको माया गर्छन् । उनका सङ्गीमा खुकुरी चम्कन्छ, गुराँस फक्रन्छ, सिम्रिक टल्कन्छ, डाँफे उड्छ, समस्त हुन्छ र त्यहाँ भित्र नेपाली मुटु हुन्छ । अरुणा लामा, प्रीति, माया र मन फाटेर बिलखबन्दमा परेकी हुन्छिन् । अम्बर गुरुङका मन छुने स्वरहरूको माग थामिनसक्नु भएर बढ्छ । विचरा अम्बर गुरुङ हाँसी-हाँसी मनको आगो देखाइ दिन्छन्, अभिशप्त जीवन खोलिदिन्छन् । हामी असजिलो मान्दै हलबाट निस्कन्छौ । खाना खन्छौं, केही थाकेका हुनाले सुत्ने तरखर गर्छौ । म दार्जिलिङको छातीमा पहिलो निन्द्रा निदाउँछु, त्यस दिन ।
मौसमले हाम्रो डाह गर्यो त्यस दिन । रातिदेखि नै कुहिरो बग्रेल्ती पर्छ । हामी टाइगर हिल जान सकेनौ । अन्यत्र कतै बाँकी राखेनौं दार्जिलिङका घुम्ने ठाउँहरू । माउण्टनियरिङ इन्स्टिच्युट, जु, नर्थ प्वाइन्ट, चौरस्ता, चोक बजार अघाउन्जेल घुम्यौं र दुई नबज्दै मोहन बगान र हैदराबाद स्पोर्टिङ क्लवको फुटबल हेर्ने गयौं । मोहन बगानको नाम केटाकेटीमै सुनेको थिएँ र त्यसदिन अहिलेसम्म देखेका खेलहरूमध्धे स्तरीय खेल हेर्न पाउँदा छातीभरि खुसी पारेर फर्के ।
दिउँसै, दार्जिलिङको सहर बलेको थियो त्यस दिन । जताततै माला र फुल भरिएका थिए । साँझ नपर्दै सुरु भएको दीपावली जति हेरेर पनि अघाइँदैनथ्यो । पटाकाका आवाजले भने मलाई मैले नदेखेको भियतनामको सम्झना हुन्थ्यो । भैलो र देउसी खेल्नेहरूको हूलले, मलाई मेरो पहाडको गाउँमा पुर्याउँथ्यो र केटाकेटी छँदा लौरो टेकेर, माला लाएर देउसी खेल्दै जम्मा गरेका रोटी बाँड्दा झगडा परेको घटनाको सम्झना गरायो । दार्जिलिङेहरूले वास्तवमा नेपाली संस्कृतिको जगेर्ना गरेका रहेछन् । नेपाली जाति र संस्कृतिप्रति त्यहाँका मान्छेहरू बहुतै सचेत छन् । नजिकको तीर्थ हेला भने झैँ नेपालभित्र यो कुरा बिलाउँदै जाँदैछ ।
साँझ पर्नासाथै हामी एउटा बारको क्याबिन आवाद गर्छौं । भैलो र देउसी खेल्नेहरूको नाच-गानलाई हामी क्याबिनको पर्दाले छेक्न चाहँदैनौ । हामी त्यसै-त्यसै रमाउँछौं, दार्जिलिङे किशोर-किशोरीहरूको नाच-गान हेरेर । एउटा युवा मण्डलीको हूल आएपछि हामीमध्येका केही साथीहरूलाई मादलको घिन्ताङ् …ले ननचाई सक्दैन । सारा दार्जिलिङ खुसीले नाचिरहेछ। जताततैबाट भैलो र देउसीका स्वरहरू दार्जिलिङको आकाशभरि गुञ्जिरहेछन् । हामी गएको होटेलको त्यस दिनको विशेष तयारी सहितको खाना (गज्याङगुजुङ भन्थ्यो बेराले) खाएर हामी सुत्न फर्कन्छौं, तर दार्जिलिङ सहर भने धक फुकाएर नाचिरहेकै हुन्छ ।
बिहान हुनासाथै हामीलाई टीका लाउन घर आइपुग्नुपर्ने कुराले सताउँछ । बिहानको चिया-नास्ता पश्चात् हामी बस स्टप पुग्छौं र दार्जिलिङको धित नमर्दै नौ बजेको बस चढेर ओरालो लाग्छौं– छातीभरि दार्जिलिङप्रतिको सद्भावना बोकेर । बगान र गाउँहरूले सजिएको सुन्दर पहाडको बाटोमा हामी अघाएकै हुँदैनौं, सिलिगुडी आइपुगिन्छ– एक पनि बज्न नपाउँदै । तराई पाइसमा माछा-भात डम्फ्याएर हामी मेची तर्छौं – दार्जिलिङको न्यानो सम्झना बोकेर ….. ।