नाङ्गाहरु बालकको प्रतीक्षामा छन् कि ?
एक बर्ष पूरा भएको छ, राजाले शासन हातमा लिएको । माघ १९ गते, २०६१ का दिन प्रधानमन्त्री शेरबहादुर देउबा सत्ताबाट हटाइए र राजाबाटै शासन शुरु भयो । राजाको शासन शुरु सेनाको सक्रियताबाट भयो। सञ्चारका साधनहरू विच्छेद भए । तत्काल प्रेसमा ताला लाग्यो । निजी रेडियोहरूको समाचार प्रसारणमा बन्देज लाग्यो । मान्छेहरूले शान्तिपूर्ण जुलुस निकाल्न पाएनन् । बोल्न पाएनन् । भन्नेहरुले यसलाई पनि प्रजातन्त्र भने । तीन बर्षभित्रमा हरेक कुरा ठीकठाक हुने भनियो । यसरी सुरु भएको थियो –राजाको शासन सन्दर्भ, आजभन्दा ठीक एक बर्ष
अगाडि।
तीन बर्ष भनेको समयबाट एकबर्ष खर्च भइसकेको छ । अब मात्र दुई बर्ष बाँकी छ । बितेको एक बर्ष हेरेर, लाग्छ अरू दुई वर्षमा अरू लथालिङ्ग भित्रिने छ । मुलुकले अरू कठोर पीडा र यातना खप्नु पर्नेछ । बिग्रह रोकिएको छैन । अरू भत्कने क्रम जारी छ । यस्तो सिलसिला यथावत् रहने हो भने तीन वर्षमा अरू तीस बर्ष थप्दा पनि कुनै सकारात्मक बिजाङ्कुर हुनेछैन । यो यथार्थ हो ।
यसै त राजाको शासन म्याद गुज्रेका जमातको सल्लाहबाट शुरु भयो र शासन पनि म्याद गुज्रेका जमातकै सल्लाहबाट चलेको छ । हो, यस्तै भएको छ –मुलुक कोरामिन दिनु पर्ने बिरामीको अबस्थामा पुगेको छ, तर म्याद गुज्रेको अर्को औषधि दिएर रोगी निको हुने गफ चलिरहेछन् । यसले व्यथा बढाउने भन्दा अर्को कुनै क्रिया गर्न सक्दैन । राजाका सल्लाहकारहरु म्याद गुज्रेको ओषधिको पक्षमा वकालत गरिरहेछन् । यसरी चलेकोछ, वर्तमान ।
वास्तवमा राज्य सत्ता कसैको सनकमा र चाहनामा चल्न
सक्दैन । यो यथार्थ हो, राज्य सत्ता सञ्चालनमा राजनीतिक सिद्धान्तको अपरिहार्यता रहन्छ । राजनीतिक सिद्धान्त भनेपछि एलर्जी हुने जमातको सल्लाहबाट चलेको सत्ताबाट मुलुकले सकारात्मक निकास पाउने कुराको कल्पना पनि गर्न सकिँदैन ।
वर्तमान सत्ताको सिद्धान्त भनेको तुलसी गिरी, कीर्तिनिधि बिष्ट, कमल थापा, सच्चितशमसेर र भरतकेशरहरु हुन् । अथवा उनको बरबराहट हो । यस्तो बरबराहटबाट शासन चल्ने कुराको एउटा सीमा हुन्छ । त्यो सीमा पहिले नै बितिसकेको छ । २१०७ सालमा उनको बिचार जवान थियो होला तर ६१ सालमा पनि १७ सालके आफ्नो उमेर ठान्ने भ्रम बोकेकाहरुले प्रतिपादन गरेको सिद्धान्त मुलुक सञ्चालनका सवालमा दुर्घटना बाहेक केही हुन सक्दैन । यस्तै दुर्घटनाको पासो थाप्न हिँडिरहेछन्, गिरीहरू ।
राजाको अध्यक्षतामा सरकार बनेको एक बर्ष पूरा भएको छ । यो एक वर्षमा के-के भयो ? सरकारले के-के गर्यो ? त्यो हेर्न जरुरी छ । त्यसरी हेर्दा सरकारले आफ्नो शक्ति सीमित कुराहरूमा केन्द्रित गरेको छ । सरकार ज्यान फालेर सञ्चार माध्यमहरूका विरुद्धमा लागेको छ । छापाहरू र रेडियोहरूलाई अनेक चोटले तह लगाउने उसको इच्छा रहेको छ । यो किन ? जगजाहेर कुरा हो, जसले नराम्रो काम गर्नु छ, उसले देख्नेहरुको मुख थुन्नुपर्छ, आँखा छोप्नुपर्छ । त्यसैले सरकारको चाहना यस्तो काम गर्ने हो, जो कसैले हेर्न र भन्न लायक रहँदैन । अनि त स्वाभिमान भएकाहरु भनिरहेछन् – यस्तो पाराले कति चल्छ र ?
अध्यादेशको बाडी आएको छ । त्यो बाडीले मुलुकलाई कालान्तर- सम्म कति कोतर्छ ? म्याद गुज्रेकाहरुले यसलाई पटक्कै सोचेनन् । उनीहरू केही बनेका संरचना पनि भत्काईरहेछन् । जे पायो त्यही गरिरहेछन् र त्यसैलाई प्रजातन्त्र भनिरहेछन् । वास्तवमा प्रजातन्त्र भनेको कसेको सनक होइन । यो निश्चित सिद्धान्त र दर्शनद्वारा सञ्चालित हुन्छ तर म्याद गुज्रेकाहरुले यो बुझ्न सक्ने कुरै रहेन । वास्तवमा यस्तो बनेको छ, वर्तमान सत्ता त्यो नरिवल हो, जो बाँदरका हातमा परेको छ र मायालाग्दो पनि बनेको छ ।
एकबर्ष यता कर्फ्यु, लाठी, गोली, नजरबन्द आदिको खेती खूबै सप्रियो । सत्तामा सरिक जमातहरू सम्पूर्ण कपडा फुकालेर सर्वाङ्गै बने । तैपनि उनीहरू त्यही अँग्रेजी कथाको बादशाहका वाक्यांशहरू सम्झी-सम्झी भनिरहेछन् –हामीले मल-मलको कपडा लगाएका छौं, भनेर । त्यो कथा र यहाँ अलिकति फरक छ । त्यहाँ राजालाई नाङ्गो पार्ने दुइटा ठग थिए । यहाँ. म्याद गुज्रेकाहरुको अलिक ठूलो जमात छ । त्यहाँ ती ठगहरु त नाङ्गिएका थिएनन्, यहाँ त ठगहरु आफै पनि नाङ्गिएका छन् । उद्देश्य त दुवैको एके रहेको छ । त्यहाँ एउटा बालक पनि देखिएको थियो । यहाँ. बालक जन्मँदै होला । नाङ्गाहरु बालकको प्रतीक्षामा छन् कि ?
र अन्तमा एउटा कविताको अंश–
उनीहरू– एउटी वेश्या जत्तिको पनि रहेनन्
उ त वेश्यावृत्ति गर्छे र भन्छे –
म वेश्या हुँ
उनीहरू पनि त्यसै गर्छन्
र हैन भन्छन्
उनीहरू भन्दा कति कति इमान्दार छे, वेश्या ।