म हराउँदै छु
म हराउँदै छु । मलाई हराउन मन लाग्दैछ । हराउने कारणबाट उत्पन्न हुने परिणामसँग म परिचित छु । त्यो परिणाम प्राप्त हुँदा अप्रत्याशित महसुस हुने वा दुर्घटना अनुभूत हुने अवस्था हुने अवस्था मलाई हुनेछैन । बरु, मलाई त्यो परिणाम सुखद हुनेछ । त्यस बेला मलाई उद्देश्यको नजिक पुगेको आभास हुनेछ ।
मान्छे किन हराउँछ त ? अनेक कारण हुन्छन् । त्यस्तै मेरा पनि हराउन रहर लाग्ने आफ्नै कारण छ । अरूको भन्दा भिन्नै कारण छ । अरूको दृष्टिमा मेरो कारण कारण नहुनसक्छ । तैपनि मेरा लागि मेरो कारण उपयुक्त छ । अरूको भन्दा गह्रुँगो छ । ओजपूर्ण छ । यस्तोको कारण सुन्दर हुन्छ । त्यसैले मेरो कारण सुन्दर पनि छ ।
म कहाँ हराउँदै छु त ? यो पनि भन्यो भने शायद हराउनुको कुनै अर्थ रहँदैन । हुन पनि सक्छ, मेरो हराउनुको कुनै अर्थ नहुनसक्छ । संसारमा कहाँ सबै अर्थ भएका कुरा मात्र भएका छन् र ? त्यसैले मेरा हराउनुलाई मान्छेले फगत पलायन भन्न सक्छन् । कसैले यस्तै फैसला गर्दा पनि मेरो शिर निहुरिने भने छैन । बरु मेरो त्यति बेला मेरो जबाफ हुनेछ, म अरूले सम्झेको पलायन हुँदैछु, म आफैले सम्झेको हराउँदै छु । हराउनु र पलायन हुनुमा खास फरक नहुन पनि सक्छ यसले पनि हराउने रहरमा मलाई फरक पार्दैन ।
हो, म हराउँदै छु । हराउनु भनेका नदेखिनु हो । नभेटिनू हो । कसैका दृष्टिमा नपर्नु हो । नचढ्नु हो । मलाई त्यसो गर्न रहर लाग्दैछ।
मलाई मञ्चमा बस्न सकस लाग्छ । हीनत्व बोधले ग्रसित हुन्छु म । अखबारका पानामा देखिन त्यस्तै लाग्छ । मलाई भीडमा बस्न मन लाग्छ । अखबार ओढेर अखबार ओछयाएर सुत्न नपर्ने भए पनि अखबार त फगत पढ्न मात्र मन लाग्छ । अखबारमा आफूलाई पढाउन सकस लाग्छ । त्यसैले मलाई हराउन मन लाग्छ ।
हो, मलाई हराउन मन लाग्छ । मञ्चबाट हराउन मन लाग्छ, अखबारका समाचारबाट हराउन मन लाग्छ, सभा, सम्मेलन गोष्ठी, प्रवचन कार्यक्रम आदिबाट हराउन मन लाग्छ । यिनको वक्ताबाट हराउन मन लाग्छ । अगाडिबाट हराउन मन लाग्छ, दर्शक दीर्घामा बस्न मन लाग्छ । पछाडिको भीडमा हुन मन लाग्छ । अलिक इमानदार टाउकोहरूको समीपमा हुन मन लाग्छ । त्यसैले भीडमा हराउन मन लाग्छ ।
मलाई किन मञ्चबाट हराउन मन लाग्छ ? किन सभा, सम्मेलन, गोष्ठीबाट हराउन मन लाग्छ ? किन वक्ता, प्रवक्ताबाट हराउन मन लाग्छ र किन अखबारका समाचारबाट हराउन मन लाग्छ ? म सबैसँग बिन्ती गर्छु – मलाई यस सवालमा खै गर्नु पूर्व कृपया एउटा कष्ट गरिदिनुहोस् र बुझिदिनुहोस्–को बस्छ ? मञ्चमा ? को जान्छ सभा, सम्मेलन र गोष्ठीहरूमा ? को हुन्छ, सभा, सम्मेलन, गोष्ठी र प्रवचन कार्यक्रमको वक्ता ? ती अनुहार सम्झेर मलाई भीडमा हराउन मन लाग्छ । इमानदार टाउकोहरूका समीपमा बस्न रहर लाग्छ ।
मलाई किन मञ्चमा बस्न मन लाग्दैन ? भीडमा पस्न र हराउन मन लाग्छ त ? वास्तवमा मञ्च भनेको उल्टो कुरा गर्ने ठाउँ हो । भीड भनेको उल्टो सुने पनि सुल्टो बुझे पनि आफूखुसी ठान्न पाउने ठाउँ हो । अब्बल दर्जाका भ्रष्टाचारीले मञ्चमा बसेर भ्रष्टाचारका विरुद्धमा अब्बल दर्जाको भाषण गर्नुपर्छ । बुहारी कजाउन नामुद सासूले झन्डै बुहारीको टाउको फुटाएर सभामा पुग्दा मञ्चमा बसेर महिला मुक्तिको चर्को कुरा गरेर झन्डै माइक फुटाउनुपर्छ । धेरै महिला र चेलीहरूले कुकर्मको बिस्तार लगाउने गरेका महानुभावले मञ्चमा पसेर सद् चरित्रबारेको प्रवचन दिनुपर्छ। मञ्चमा बसेका अधिकांश पुरुषसँग नाम जोडिएकी मञ्चमा बसेकी पातलीले पतिभक्ति र महिला अस्मिताका बारेमा गहकिलो प्रवचन दिनुपर्छ। मञ्च त यस्तै त हो, अनि कहाँ कुर्सी खाली हुन्छ र म पसौं र त्यहाँ
बसौं ? कुर्सी खाली नै भए पनि कसरी त्यस्तो कुर्सीमा बस्ने रहर गरौं ?
त्यसैले म भीडमा पस्छु र त्यहाँ बस्छु । भीड अनौपचारिक
हुन्छ । सत्य हुन्छ । भीडमा कसैले झूटो बोल्दैन । भीडमा कसैले झूटो शपथ खाँदेन । भिड रमाइलो हुन्छ । भिड मञ्च भन्दा तल हुन्छ । पहुँचमा तल, सोचाइमा तल, स्तरमा तल, तर मलाई लाग्छ, आत्मसन्तुष्टिमा भीड नै माथ हुन्छ । भीडमा बसेर म जति आनन्दलिन सक्छु, त्यति आनन्द कहाँ मञ्चमा बस्नेले लिन सक्थे र ?
यसै त मान्छेलाई उन्नतिको अभिलाषा हुन्छ नै । सामर्थवान् बन्ने, सम्पन्न बन्ने, प्रतिष्ठित बन्ने, समृद्ध बन्ने, सबैले मानेको हुने, पदले, प्रतिष्ठाले र पैसाले पुरिएको हुने, अहिलेको मान्छेको अभिलाषाको चरम बिन्दु हो । त्यही बिन्दुमा पुग्न मान्छेले जे पनि गर्ने गरेकोछ । झूटो बोल्छ र भन्छ, म सत्यबादी हुँ । जस्तोसुकै अपराध गर्छ र भन्छ, म निरपराधी हुँ । भ्रष्टाचारमा, व्यभिचारमा चुर्लुम्म डुबेको मान्छे मञ्चमा सफेद पहिरनमा बसेपछि सबैको अभिवादन पाउँछ । त्यही मान्छेले भाषण पनि यस्तरी गर्छ कि – लाग्छ, उसले सधैँ बिहानै बेलुकै शुद्ध गाईको दूधले नुहाउने गरेकोछ । अनि मलाई लाग्छ, मञ्चमा यस्तैले बस्नुपर्छ ।
म सँग त पद छैन, पैसा छैन, प्रतिष्ठा छैन, सम्पन्नता छैन, भ्रष्टाचार, व्यभिचार गर्ने र झूट बोल्ने रहर छैन । अपराध गरेर निरपराधी जस्तै देखिने शीप छैन । कला छैन । जस्तोसुकै कलङ्क छोप्न सक्ने पोसाक छैन, त्यसैले मसँग मञ्चमा बस्ने योग्यता छैन । अनि म भीड रुचाउँछु । भीडमा रमाउँछु, भीडमा रमाउँछु र भीडमा हराउँछु । यसरी मलाई हराउन मन लाग्छ । म हराउँदै छु, म भीडमा छु ।
मलाई थाहा छ, भीडमा धेरै कुरा लुटिएको । भिड निचोरिएको
छ । यति धेरै निचोरिएको कि निचोर्नेहरुलाई लागेको छ – अब भीडमा एक थोपो रस छैन । उमङ्ग छैन । उत्साह छैन । खुसी छैन । हाँसो
छैन । अब सधैँ ऊ निरस र निर्जीव रहन्छ । हो, यहीँनेरि भीड निचोर्नेहरुको भ्रम छ । भीडसँग जुन तागत छ, शक्ति छ, र ऊर्जा छ भिड निचोर्नेहरुका दृष्टिमा त्यो सबै अदृश्य छ ।
जसले भीडलाई निचोरे र शुष्क बनाए, उनले ठानेका छन्, भीडसँग कुनै कुरा हुँदैन आफ्ना कुरा गर्न नजान्ने, अरूले निचोरेको पत्तै नपाउने, प्रतिवाद नगर्ने, प्रतिशोध नजान्ने, कुटाई खपेर घाँस खोले नपाए पनि दूध दिइरहने गाई जस्तै हो भिड भनेको – उनले यस्तो ठानेका हुन्छन् । हुनत भिड नलुटिनू हो भने कहाँ मञ्चमा बस्नेहरूको मञ्चमा बस्ने औकात हुन्छ र ? भीडमै कुरा गरेर मञ्चमा बस्नेले गुजारा चलाउनुपर्छ । भीडलाई ओल्टाई पल्टाई पारेर चिया नास्ता खानुपर्छ र भीडका टाउकालाई होलसेलमा, खुद्रामा, एजेन्सीमा पटक-पटक बेचेर साँझ बिहान चलाउनुपर्छ । अनि त मञ्चमा बस्नेले ठान्नु स्वाभाविक हो, रोप्नु अगाडि नैं उठाउने खेत भीड – त्यहाँ के रहेको हुन्छ र ? उनको त भीडमा बस्ने रहर होस् ।
यति सबै सत्य भएर पनि भिड मुहान हो । त्यो पग्लिइरहन्छ । कहिल्यै सहँदैन । भीडमा रसै रस छ । यो शुष्क हुने सक्दैन । त्यो भन्दा पनि भिड सत्य हो यथार्थ हो । भीडसँग कसैले हराउन नसक्ने शक्ति छ । भीडसँग रस छ । साहस छ । अनि त मलाई भिड मन पर्छ । म भीडमा बस्छु । मञ्चहरूबाट टाढा, अखबारहरूबाट टाढा, दर्शक दीर्घा पछाडि – भीडमा म हराउन रहर गर्दैछु । म हराउँदै छु ।