समय क्रूर पन्जाबाट फुत्कनेछ
पानी बगिरहेछ । पानी नदीमा बगिरहेछ । पानी सङ्लो हुन्छ । पानी राम्रो पनि हुन्छ, अनेक प्रसङ्गमा । हेर्नलाई पनि पानी राम्रो हुन्छ । पानी अलिक धेरै भएपछि सारे राम्रो देखिन्छ । अनि त ठूला ठूला नदी राम्रा देखिन्छन् । समुद्र राम्रो देखिन्छ । पानी जमेको कति कति राम्रो देखिन्छ । हो, हिउँ राम्रो देखिन्छ । हिमाल राम्रो देखिन्छ । सङ्लो पानी जमेर नै हिउँ त्यति राम्रो देखिन्छ ।
पानी आफै धमिलो हुँदैन । पानीलाई धमिलो पारिन्छ । पानी धमिल्याउनेहरु पनि गर्व गर्छन् । उनलाई धमिलो पानी राम्रो लाग्छ । मनमा जे लागे पनि माछा मार्न रहर गर्नेहरुलाई धमिलो पानी सजिलो लाग्छ । राम्रो हेर्न नरुचाउनेहरु पनि पानी धमिलो पार्छन् । पानी धमिल्याउनेहरुको आफ्नै कथा छ । सङ्लो पानी हेर्न रहर गर्नेहरुको मन पानी धमिलिएपछि भारी हुन्छ । विरक्तिले भरिन्छ । त्यस्ता विरक्तिहरू घरी घरी नआइदिए हुने तर आउँछन्, आइरहन्छन् । किनभने पानी धमिल्याउनेहरु अहिलेका हकमा शक्तिशाली छन् ।
बबुरा माछाहरू सङ्लो पानीमा खेल्न पाउने, शयर गर्न पाउने उनको हक हो – भन्नेसम्म बुझ्न सक्दैनन् । अनि त उनको नदी, पोखरी, तलाउ धमिल्याएर उनलाई मार्छन् । उनको इहलीला यसरी समाप्त हुन्छ । पानी त सङ्लो रहेर पनि बगिरहेको हुन्छ र धमिलो भएर पनि बगिरहेको हुन्छ । पानी जसरी पनि बगिरहेको हुन्छ । बग्ने पानीको गुण हो, बग्छ ।
लाग्छ, अहिले पानी धमिल्याउनेहरुको बिगबिगी छ -मुलुकमा । पानी धमिलो पार्नेहरु गर्व गरिरहेछन् । उनले त्यो गर्वबाट सर्वसाधारणको, मुलुकको, मुलुकको भविष्यको, सन्ततिको हुर्मत लिइरहेछन् । यो अनिष्टको कथा कहाँसम्म अगाडि बढ्ने हो ? थाहा छैन । पानी धमिल्याएर – पानी कति सङ्लो छ -भन्न कर गरिरहेछन् । मान्छेको बोली फुटेको छैन । मान्छे कहाँ त्यसरी जे पनि भन्छ र ? मान्छे त स्वाभिमानी हुन्छ । भन्न लगाएको कुरा त बरु सुगाले भन्छ । कृत्रिम साधनहरूले भन्छन् । मान्छेले त मनको कुरा भन्छ, मन नहुनू र सुगा हुनु वा यान्त्रिक हुनु भनेको मान्छे नहुनु हो । त्यस्ता मान्छे हुन नरुचाउनेहरू, मान्छेको स्वाभिमान निर्वासन गर्न उत्साहितहरु अहिले पानी धमिलो पार्न सघाउँदैछन् । पानी धमिलो पार्दैछन् । पानी धमिलो पारिरहेछन् । अहिले यसरी मेरो मुलुकको पानी धमिलो भएको छ । मेरो पोखरीको, तलाउको पानी धमिलो भएको छ । मेरो नदीको पानी धमिलो भएको छ । सत्ताका सिकारीहरूले र उनका अनुचरहरूले मुलुकको पानी धमिल्याएका छन् ।
अघिल्लो माघ १९ गते पनि पानी बगिरहेथ्यो र अहिले पनि पानी बगिरहेछ । कति पानी बग्यो ? हिसाब त छैन तर पानी बगिरहेछ । हाम्रो समुद्र छैन । पानी मात्रै बगिरहेछ, बगिरहेछ । फेरि माघ १९ गते आएको छ । माघ १९ गते अझै पानी धमिलिने सङ्केत लिएर आएको छ । लाग्छ, पानी धमिलिने समयको आयु अझै बाँकी छ । पानी धमिलिएपछि माछाहरू छटपटाउनेछन् र मर्नेछन् । किनभने माछा मार्ननै पानी धमिल्याइएको हुन्छ ।
२०६१ साल माघ १९ गतेको दिन, टेलिफोनहरू काटिएको दिन, छापाखाना र पत्रिका बन्द भएको दिन, रेडियोहरूमा समाचारहरू बाचन गर्न निषेध भएको दिन, बन्दुकहरूले सडक र आङनमा यात्रा गरेको दिन, मान्छेको स्वाभिमानले लुटिएको ठानेको दिन, माघ १९ गते मान्छेले आफ्नै मनलाई बन्दीका रूपमा पाएको दिन । एक बर्ष बितेको छ, मान्छेले धमिलो पानीमा डुब्नु परेको दिन आएको । पानी यथावत् छ । धमिलो उस्तै छ । आज पनि माघ १९ गते । मात्रै ६१ र ६२ को फरक छ । ६१ को विकास भएर ६२ भएको छ । माघ १९ गते युग-युगसम्म मान्छेले बोध गर्नेछन् – पीडाका रूपमा, ऐँठनका रूपमा र मानव-अस्तित्व सङ्कटका रूपमा ।
ऐँठनबाट मुक्त हुन खोज्नु मानव-स्वभाव हो, सङ्कट हटाउन जोड बल गर्नु पनि मानव स्वभाव हो तर अर्ती र निर्देशनहरूको बाडी चलेको
छ । ऐँठन र सङ्कटलाई आनन्द ठान्न उर्दी जारी भएको छ । यस्तो उर्दी जारी गर्नेहरु रमित लाग्ने भएका छन्, उनीहरू उर्दी जारी गरिरहेछन् । शक्ति वर्तमानमा उनको टाङ मुनी परेको छ । उनीहरू त्यसलाई घोडा चडिरहेछन् । त्यो घोडा उनलाई थामी नसक्नू भएको छ । उनले जिन्दगी भरी आफूलाई त्यही हुने बुझेका छन् । अझै धेरै ठानेका छन् । गएको माघ १९ पछि उनले आफ्नो आकाशको कुइरो भागेको ठानेका छन् । जयमाला पहिरेको ठानेका छन् । सगरमाथा आफ्ना पाइताला मुनी अनुभव गरेका छन् । सर्वस्व प्राप्त गरेको उनलाई लागेको छ ।
अघिल्लो माघ १९ पछि एक हूल मान्छे देखापरे । उनीहरू मान्छे जस्तै देखिए । मान्छेको त मन हुन्छ । मान्छेको विवेक हुन्छ । त्यो भन्दा धेरै मान्छेको इमान हुन्छ । उनसँग त्यो त कुनै देखिएन । तै पनि उनीहरू मान्छे जस्तै देखिए । त्यस्ता मान्छेहरू मकै बारीमा पनि
हुन्छन् । मकै बारीमा हुने मान्छेहरू, मकै छर्ने, गोड्ने, बाली उठाउनेहरु भने हैनन् । ती काम गर्नेहरूको पनि मन, मुटु, विवेक, इमान हुन्छ । उनीहरू त मकैवारिको त्यस्तो मान्छे जस्तो हुन्, जो एउटा लाठी, केही थोत्रा टाला टुलीद्वारा निर्मित हुन्छ र मान्छे जस्तै देखिन्छ । यिनीहरुको भन्दा उसमा एउटा फरक छ । त्यो यिनीहरु जस्तो बेइमान हुँदैन । त्यसैले मकैवारिमा हुने त्यसलाई जे भनिन्छ -यिनलाई पनि त्यही भनेर उसको अपमान गर्नुहुँदैन । त्यसैले उनलाई बुख्याचा पनि भन्नु हुँदैन ।
बेला बखतमा समय पनि कमजोर बन्दो रहेछ । ऊ अवाञ्छितहरुको क्रूर मुठीमा पर्दो रहेछ । अहिले त्यस्तै भएको छ । तर क्रुरहरु शाश्वत हुँदैनन् । समय सधैँ उनको दास बन्न सक्दैन । त्यस्ता हातहरूले घामलाई झुल्कनबाट रोक्न सक्दैनन् । अन्धकार छरेर घामको किरण मेटिँदैन । कवि रिमाल मरे, तर उनको बोली बाँचेको, कहिल्यै मर्दैन – आउँछ, त्यो दिन आउँछ ।
त्यो पनि दिन आउँछ, माघ १९ लाई मानव सभ्यताका विरुद्धको गणना गर्न योग्य दिनका रूपमा हाम्रा नानीहरूले पुस्तकमा पढ्नेछन् । समय क्रूर पन्जाबाट फुत्कनेछ । ·