जीवन आचार्य चुचुरेदेखि प्रतिष्ठानसम्म

चेतनाको बीउ नछरिएको जस्तो लाग्थ्यो। मान्छेहरू, मान्छेजस्तै भएर बाँचिरहेका थिएनन् । अँध्यारोको विरुद्धमा शिक्षा प्रचारका फाट्टफुट्ट प्रयत्नहरू त्यसै–त्यसै मुर्झाएका जस्ता लाग्थे। रोग व्याधिका विरुद्धमा ओखती – मुलो थिएन। परम्परागत उपायद्वारा जति लड्न सक्थ्यो रोगसँग मान्छे,  त्यति नै बाँच्थ्यो । त्यही हुन्थ्यो – सीमा, उसको जीवनको।

प्राकृतिक सौन्दर्यहरू त छरपस्ट थिए । तिनको अनुभूत गर्ने हैसियतमै मान्छे थिएन, उपभोग विना प्रकृतिका सौन्दर्यहरू पनि मुर्झाउथे । उता अलिक पर सङ्लो पानी निक्कै भएर बग्थ्यो, त्यसलाई मान्छेहरू निबु खोलो भन्थे। यता छाला सुकुवा देउराली र सिद्ध–देवी थुम्को र यासोक माथिको डाँडो भएर एउटा लहर बनाएका थिए, पारि पाटाबाट यिनलाई हेरिरहने रहर मेटिँदैनथ्यो । यता मेहेलबोटे र उता रानीगाउँ आफ्नै पनमा थिए । आफ्नै पनको भू–भागमा समयको संरचना पनि आफ्नै पनको थियो । त्यही सिद्ध–देवी थुम्काको तलतिर एउटा गाउँ छ, त्यसलाई चुचुरे, पुवाँ आदि भनिन्छ । त्यही गाउँमा त्यस्तै परिवेशमा वि.सं. २०१५ सालमा एउटा नवजात शिशुले पहिलोपटक धरती देख्यो, जसलाई पछि गएर उसको कलिलो उमेरमै मान्छेहरूले कवि ‘जीवन आचार्य’ भने र ३० वर्षको कलिलो उमरमै ऊ यस धरतीबाट विदा भयो–छोटो जीवनका महत्वपूर्ण कार्यले उसलाई मर्न भने दिएन । ऊ, लेखक, कविहरूका मनमा, साहित्यका पाठकहरूका आस्थामा, कला र साधकहरूका निष्ठामा बाँचेको छ। छोटो अवधिको उसको कार्यले ‘जीवन आचार्य’ यसरी चम्किएको छ।

त्यस वर्ष मुलुकमा जनताले पहिलो पटक संसद्का लागि निर्वाचनमा भाग लिएका थिए। शायद, कमल ‘जङ्गली’ आचार्य त्यस निर्वाचनमा अलमलिनुभएको थियो । निर्वाचनका लहरहरूमा उहाँ शिक्षाको उज्यालो खोज्न रुचाउनु हुन्थ्यो । त्यही २०१५ सालको चैत्र २० गतेका दिन जीवन आचार्यको जन्म भयो । कमल ‘जङ्गली’ र जयकला आचार्यका पहिलो सन्तान हुन् – जीवन आचार्य। अहिले त्यहाँको आसपासमा उभिएका हेल्थ पोष्टहरुभन्दा पनि जेठा थिए जीवन आचार्य । त्यस समयमा त्यस भेकका मान्छेले हेल्थपोष्टसम्म भेटेका थिएनन्। त्यसैले त ६ महिनाको हुँदानै देब्रे खुट्टा कमजोर भएका जीवन आचार्यलाई उपचारका लागि धरान घोपा पुर्‍याउनु पर्‍यो। पोलियोको कमीका कारण यस्तो भएको, चिकित्सकहरूबाट बताइयो र ५ महिनासम्म लगातारको उपचारले कुनै सकारात्मक अर्थ दिएन । त्यसैले यसको कष्ट जीवन आचार्यले आजीवन खप्नुपर्‍यो। यातायातको सुविधा नपुगेका विकट पहाडमा, अपाङ्गहरूको जीवन कति कष्टप्रद हुन्छ ? हामी अनुमान गर्न सक्छौ। त्यही घोर कष्टको सामना गर्नु पर्‍यो बालक जीवन आचार्यले । उकालो ओरालोको निर्ममता फलेर स्थिर रह्यो । ११ वर्ष विकट ओरालो–उकालोसँग जुधेपछि यासोकबाट दमकमा बसाइँ सराइको कार्य भयो।

‘बसाइँ सराइ’ यो शब्दको नेपाली समाजमा आफ्नै कथा छ, मर्म छ र कहाली लाग्दो तथ्यको इतिहास छ । खास गरेर पहाडमा मान्छेहरू रोजी रोटीको खोजीमा, भोकका विरुद्धको अभियानमा, सहज जीवनयापनको चाहनामा जन्मेको माटो, रातो दिन हिँडेको बाटो, साथी सँगिनी, चटक्क छाडेर सखारै–कहाँ जाने ? उत्तरै नभएको ठाउँतिर हिँड्नु हो बसाइँ भनेको। यसरी नै त हो हामी भित्रका मान्छे आसाम गए, बर्मा गए, सिक्किम र भूटान पनि गए, लाहुर गए, दरबान भए तैपनि हामी भित्रको मान्छेले सुख–शान्ति भेटेन। अलिक पछि मान्छे बसाइँ सराइमा मेची–कालीभित्र अटाउन खोज्यो । यस्तै मात्रै कुनै सूत्र भित्रै पर्छ जीवन आचार्यको यासोकबाट दमकको बसाइँ–सराइ । यसरी २०२६ सालमा यासोकबाट दमक बसाइँ–सरेका जीवन आचार्यका दिनहरू दमकमा बित्न लागे र यो क्रम २०३२ सालसम्म रह्यो । २०३१ सालमा एस.एल.सी. परीक्षा उर्त्तीण गरेपछि उच्च शिक्षा र रोजगारका लागि जीवन दमकबाट विराटनगर हुँदै काठमाडौ तर्फ लागे । आजीवन परदेशी नै भएर रहे– चाडपर्व र छुट्टीहरूमा दमक घर आउन बाहेक ।

एकबर्ष जति विराटनगरको बसाइ पूरा गरेर जीवन आचार्य २०३२मा  राजधानी पुगे । राजधानीको १३ वर्षको समय जीवन आचार्यको अत्यन्त महत्व र अर्थपूर्ण समय रहेको पाइन्छ। २०४६ साल वैशाख २३ गते हृदयघात भै देहावसान भएका आचार्यको प्रतिभा प्रस्फुरणको समय भनेको नै उनको जीवनको अन्तिम दशक रह्यो। यही अवधिमा उनले साहित्य र चित्रकारिताको पहाड टेके र उनको व्यक्तित्व यस्तो वन्यो उनलाई जीवन पर्यन्त पनि मान्छेहरूले टाकुरामा देखिरहेको छन् । आज पनि जीवन आचार्य चम्किरहेका छन् ।

निम्नवर्गीय कृषक परिवारमा जन्मेका जीवन आचार्यको शिक्षा आरम्भ घरमै भयो । शैक्षिक दृष्टिले उग्र अन्धकार रहेको ठाउँमा बेला–बेलामा शिक्षाको हलचल बोकेको हावा वहन थालेको थियो । त्यसमा पनि शिक्षित रहेका कारणले परिवारका सबै सदस्यहरूले जीवनको शिक्षारम्भलाई रोमाञ्च महसुस गरे । सात वर्षको हुँदा स्कूल पुर्‍याएका जीवन आचार्यले अक्षर चिन्न र लेख्न जानिसकेका थिए र उनलाई गाउँकै सिद्धशरण प्राथमिक विद्यालयमा कक्षा २ मा भर्ना गरियो । त्यही प्राथमिक विद्यालय अध्ययन गर्दा गर्दै दमक बसाइँ सराइको समय भयो र दमकको तारावारी प्राथमिक विद्यालयबाट उनले कक्षा ५ को अध्ययन पूरा गरेर हिमालय मा.वि. दमकमा ६ कक्षामा दाखिला भए । वि.सं. २०३१ मा सोही विद्यालयबाटै जीवनले एस.एल.सी. उत्तीर्ण गरेका थिए ।

एस.एल.सी. उत्तीर्ण पश्चात् केही समय विराटनगरमा बिताएर जीवन राजधानी प्रवेश गरेका पाइन्छन् । २०३३ सालमा ललितकता क्याम्पसको प्रवीणता प्रमाण पत्रतहमा भर्ना भएका जीवन आचार्यले २०३९ सालमा स्नातकोपाधि हासिल गरेका थिए । गहन अध्ययन र चिन्तनलाई आफ्नो दिनचर्याको अभिन्न अङ्ग बनाएका जीवन आचार्यको औपचारिक शिक्षा भने त्यसरी पूरा भएको पाइन्छ ।

 

२०३८ साल फाल्गुन ७ गते संङ्गीता पराजुलीसँग विवाह बन्धनमा बाँधिएका जीवन आचार्यका दुई छोरीहरूको जन्म भएको छ । २०४० साल र २०४५ सालमा जन्मेका  ती दुई छोरीहरू नाबालक छदै २०४६ साल वैशाख २३ गते जीवन आचार्यको देहावसान भयो । ३० वर्षको कलिलो उमेरमा हृदयघातका कारण देहावसान भएका जीवन आचार्यको निधन साहित्यजगत्को अपूरणीय क्षतिका रूपमा रहेको छ । सर्वसाधारणका लागि सहज नरहेको ओपनहर्टको सर्जरी समयमा हुन नसकेकै कारण साहित्य जगतले जीवनलाई यति चाँडै गुमाउनुपर्‍यो। त्यस्ता स्रष्टा राष्ट्रका निधि हुन् – सरकारले त्यस्ता निधिहरूको संरक्षण गरिदिनु पर्ने तर सरकारले यस्तो राम्रो काम गरेको उदाहरणसम्मको पनि अनिकाल छ ।

 

उता घरेलु आर्थिक प्रतिकूलताको कारण जीवनको विद्यार्थी छदै रोजगारीमा लाग्नुपरेको थियो । उनी राजधानीबाट प्रकाशित हुने विभिन्न पत्र पत्रिकामा सम्पादन, व्यवस्थापन र स्तम्भ लेखनमा संलग्न भएका थिए भने मदन पुरस्कार गुठी, जगदम्बा प्रेस र राजधानीका विभिन्न विज्ञापन एजेन्सीहरूले पनि जीवनको सेवा हासिल गरेका थिए । अन्तिम वर्षहरूमा उनले ‘डिजाइन राइटर’ नामक विज्ञापन संस्था आफै खोलेर संचालन गरेका थिए । जीवन आचार्यको अवसान पश्चात् उक्त संस्थाको समेत अवसान हुन पुगेको छ ।

 

जीवन आचार्यको व्यक्तित्वलाई सगरमाथा पुर्‍याउने विषयहरू उनका चित्रकारिता र साहित्यिक सिर्जनाहरू हुन् । देखेको कुरालाई जस्ताको तस्तै चित्रमा उतार्न सक्नु जीवन आचार्यको विशेषता थियो भने ललितकाला तर्फ विशेष रुचि रहेका जीवन आचार्यले चित्रमार्फत, गंमिर भाव र आयामहरू व्यक्त गरेका छन्। तत्कालीन सामाजिक नैराश्य, अनास्था, आक्रोश, विद्रोह दमन आदीलाई ब्यक्तगर्दै चित्रकलाको प्रदर्शनी गरेका थिए। उनले थुप्रै व्यङ्ग्य चित्र पनि सिर्जनागरे भने धेरै साहित्यिक र साहित्येतर कृतिहरूको आवरण चित्रको डिजाइन पनि गरेका छन्। चित्रकलाको क्षेत्रमा नौलो प्रयोग गर्नु जीवन आचार्यको विशेषता थियो ।

विद्यालयमा अध्ययनरत रहँदैदेखि जीवन आचार्यको साहित्यिक यात्राको थालनी भएको पाइन्छ । साहित्यतर्फ रुचि रहेका, सम्वेदना र भावुकताले ओत–प्रोत रहेका जीवन आचार्यको साहित्य सिर्जनाको मुहान त उनका माता–पिता नै मान्नुपर्छ – जो स्वयं जीवन आचार्यको यात्राका एक एक यात्री हुनुहुन्छ भने दमक र झापाको साहित्यिक गतिविधि र चहल–पहल जीवन आचार्यको साहित्यिक यात्रालाई ऊर्जा दिने अर्को ढिकुटी हो । त्यसो त जब यात्राको थालनी भयो, दुर्गा दाहाल, प्रकाश बुढाथोकी जस्ता कविहरुसँगै सामूहिक यात्रा थालिएको थियो भने दक्षराज शर्मा, गोविन्दराज भट्टराई आदि जस्ता गुरुहरू जीवन आचार्यको यात्रामा हौसलाको सुसेली मार्ने सह–यात्री जस्तै भए । हुन त विराटनगरको बसाइमा होस या काठमाडौ– जीवन आचार्यका सबै अन्तरङ्ग मित्रहरू साहित्यिक यात्राका सह–पथीक थिए।

जीवन आचार्यको कलम कुनै खास विधा भाषामा मात्र बाँधिएको पाइँदैन । कविता, कथा, निबन्ध, एकाङ्की र स्तम्भ लेखन जताततै बग्न सक्ने विषयको गहिराइसम्म पुग्न सक्ने जीवन आचार्यको प्रकाशन अभियान भने २०३५ तिरबाट मात्र पाइन्छ। यसरी हेर्दा उनी १०/११ वर्षको छोटो अवधिमा नै चर्चाको सगरमाथामा पुगेका हुन । ‘अन्तहीन सुरुवात’ र ‘जीवनका धुनहरू’ जीवनका दुईवटा कविता संग्रह प्रकाशित छन्। ‘जीवनका धुनहरू’ मरणोपरान्त वाणी प्रकाशनबाट प्रकाशित भएको हो । जीवनका कथाहरू, निबन्धहरू पुस्तकाकारमा प्रकाशित छैनन् तर कथा र निबन्धहरू पुस्तकका रुपमा प्रकाशित हुन यथेष्ठ छन् । साथै समसामयिक विषयहरूमा लेखिएका तत्कालै पत्र–पत्रिकाहरूका विविध स्तम्भमा छापिएका रचनाहरु समेत सम्पादन गरेर छुट्टा–छुट्टै कृति प्रकाशन हुन पुग्ने सामग्री छापिएका छन्।

जीवन आचार्यले छोटो अवधिमा साहित्य भण्डार र चित्रकारिताको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका छन्। उनका योगदानहरू गणना गरेर उचित स्थानमा राख्ने कार्यसम्म हुन सकेको छैन भने पुस्तकाकारमा बाँध्ने, सम्पादन गर्ने काम हुन सकेको छैन । यसो नहुँदा जीवनका गहनतम सोचहरू,  विचारहरू पाठकसम्म पुग्न नसकी बादलभित्र परेका छन् । छोटो अवधिमा आफ्नै क्षमता र बौद्धिक वर्कतले टाकुरामा उभिएका जीवन आचार्यका बारेमा यति कुरा हुन नसके वर्तमान समयले उनीप्रति अन्याय गरेको ठहर्छ ।

शायद, यस्तै प्रसंगहरुले घचघच्याएर कमल ‘जंगली’ आचार्य ‘जीवन स्मृति प्रतिष्ठान’ निर्माण गर्न अगाडि सर्नुभएको छ र आर्थिक प्रसंगमा आफ्नो क्षमता भन्दा वढ्ता रेसको दौडमा सरिक हुनुभएको छ, तर जीवन स्मृति प्रतिष्ठानको औचित्य अनेक प्रसंगले पुष्टि हुनेछ । जीवन आचार्यका रचनाहरू कृतिहरूको प्रकाशन, अध्ययन, विश्लेषण त सामान्य दिनचर्या हुनेछन् प्रतिष्ठानका, तर यो प्रतिष्ठान स्वयं जीवन आचार्यहरूले साधनामा लाग्ने ऊर्जाको स्रोत प्रदान गर्ने केन्द्रको रूपमा प्रयोग गर्नेछन् र प्रतिष्ठानले हुलका हुल जीवन आचार्यहरू जन्माउनेछ । सिर्जनाको सङ्लो पानीको नदी वहनेछ– अविरल रूपमा । अहिलेलाई यति आशा गरौं ।