उनीहरू आए
र पढाए
विश्वास‚ निष्ठा‚ इमान‚ स्वाभिमान‚ स्वाधीनता र कर्तव्य निष्ठ
यस्तै थिए
उनीहरूले पढाएका पाठहरू
र मानिसहरूले पत्याएका थिए – उनका कुराहरू
मान्छेले ठानेका थिए
निकै सेतो मन भएका मानिस हुन उनीहरू
र उनले अगुवाइ गर्ने भने पछि
मान्छेहरू खुशी भए
उनलाई मत दिए
मन दिए
माया दिए
रातो माला लगाइ दिए
रातो अबिरको टीका लगाइ दिए ।
उनीहरू
माथि − माथि गए
पहाड चढे
टाकुरामा पुगे
तल हेर्न छाडे
आकाश तिर हेर्न थाले
आकाश उनलाई प्रिय लाग्यो
धरती उनलाई अप्रिय लाग्यो
समाज बदल्छौ भन्थे
उनले आफैलाई बदले
अनुहार बदले
मन पनि बदले
र एक दिन
सुटुक्क विचार पनि बदले ।
इमान त उनले थोकको भाउमा विक्री गरे
आस्था र निष्ठा किस्तामा बिक्री गरे
स्वाभिमान र स्वाधीनता त पटक − पटक बेची रहे
उनीहरू ठूलो व्यापारी भए
उनले आफैलाई बिहानै‚ दिउसो र साँझमा बेचे
पटक − पटक बेची रहे
बेची रहे
काला बजारी गर्ने‚ तस्कारिमा रमाउने
बडे − बडे व्यापारी उनका सामु बाउन्ने भए ।
मानिस त छक्क परेका छन्
मन भरङ्ग भएको छ
उत्साह मुर्झाएको छ
निराशाको पोखरी बनेको छ
फल्न लागेको बाली फाँडिए जस्तै भएको छ
उनीहरू आए‚ पढाए‚ सिकाए
उनीहरू आफै बद्लिए र गए
यस्तै भएको छ ।
२०७९ असार २०।