उनीहरू‚
नियतमा खोटै खोट
र अरूलाई प्रहार गर्न अनगिन्ती चोटै चोटको भण्डार बोकेर
केही गर्न
तयारीमा देखिन्छन्
सकृय छन्
र अहिले त भत्काउदैछन्
घर‚ रहर‚ जीवन र मन
भत्काइ रहेछन्
धुलो‚ माटो र वन
र उनीहरूलाई मज्जा भइरहेछ
हँसिला भकाएछन्
कुरूप भएपनि
उनीहरू आफैलाई आफू सुन्दर सुन्दर लागेको छ ।
घर भत्काउनेहरु
फगत घर भत्काउँदैनन्
मन भत्काउँछन्
आस्था भत्काउँछन्
विश्वास भत्काउँछन्
मान्छेको ओत भत्काउँछन्
सियाँल भत्काउँछन्
निन्द्रा भत्काउँछन्
मान्छेको भोक भत्काउँछन्
र शोक फलाउँछन्
हो‚ उनीहरू
घर सँगै मान्छे भत्काइ रहेछन्
मान्छेसँग आफै भत्किई सकेपछि
के बाँकी रहन्छ र ?
सिर्जनाको नारा लगाउने उनीहरूले
ध्वंसको तोप पड्काएपछि
झूट‚ धोका र अविश्वासको खेती गर्नेले
सद् विचारको माला लगाएपछि
लाग्छ‚ मुलुकमा कार्टुनको उद्योग खुलेको छ
खूबै फस्टाएको छ उद्योग
मूल्य घटेको छ‚ कार्टुन र प्रहसनको
मूल्य घटेको छ
आस्था र प्रचलनको
मूल्य घटेको छ
मान्यता र सन्मानको
मूल्य घटेको छ
इमान र नीतिको ।
मैले त
उनको अनुहार पनि राम्रो देखेको छैन
बानी पनि राम्रो देखेको छैन
उनले पिउने पानी पनि राम्रो देखेको छैन
नियतमा त
बाहिर पनि
भित्र पनि
खोटै खोटको चाङ् छ
उपहार दिन
चोटै चोटको भण्डार छ
तिनलाई
के मन पर्यो उनको ?
यसरी हत्ते गरेका छन्
थाहा‚ छैन उनीहरू किन कसको फेला परेका छन् ?
हो‚
भत्काउन रहर गर्नेहरु
घर भत्काउँछन्
रहर भत्काउँछन्
मन भत्काउँछन्
जीवन भत्काउँछन्
भत्काउन मज्जा पाउछन्
ढाडे मन भाकाहरूलाई के थाहा ?
जे भत्काएका छन्
त्यो कसले बनाएको हो ?
त्यसैले त उनलाई भत्काउन स्वाद लाग्छ
उनलाई भत्काउन रहर लाग्छ
र उनीहरू भत्काइ रहेछन्
सिर्जना भत्काइ रहेछन्
बिरुवा भत्काइ रहेछन्
अँखा र मन भत्काइ रहेछन्
समय भत्काइरहेछन्
इतिहास भत्काइरहेछन्
वर्तमान भत्काइ रहेछन् ।
मलाइ मेरो समय प्यारो लाग्छ
बचपन युवा र प्रौढ बनेको मेरो जीवन प्यारो लाग्छ
मेरो माटोपनि र धूलो प्यारो लाग्छ
आफैलाई बेचेर संभ्रान्त हुनुभन्दा
मलाइ मेरो गरिबी प्यारो लाग्छ
त्यसैले
सावधान ! मलाइ नभत्काउ
मेरो धूलो मेरो हिलो र मेरो पानी नभत्काउ
मेरो चित्र मेरो माया र मेरो मान्छे नभत्काउ
हाम्रा आँखा नभत्काउ
हाम्रो कथा र इतिहास नभत्काउ
हामीलाई नभत्काउ ।
२०७८ वैशाख ।