भालेको डाक सँगै
हामी उठ्यौ
शायद भालेले बासेर
हामीलाई उठायो
कचेरा पुछ्यौ
र मुख धोयौ
हेराहेरमै मतो मिलेर
हामी हिँड्यौ
यसरी हाम्रो यात्रा शुरु भयो ।
यात्रा भनेको
सुगम पनि
र दुर्गम पनि
यात्रा भनेको
कोही अगाडी
कोही पछाडी
यात्रामा
कोही अभ्यस्त
कोही परास्त
सक्ने र जान्नेहरू
अगाडी नै हुन्छन्
र गन्तव्यमा सहजै पुग्छन् ।
यात्रा भन्दैमा
कहाँ सबै गन्तव्यमा पुग्छन् र ?
यसरी नै
हाम्रो यात्रा शुरु भएको थियो
यसरी नै हाम्रो यात्रा चल्दै रहयो
यस्तै भयो ।
एक दिन
उनी आएछन्
धाप मारे, र मलाइ सोधे —
“तिमी थाक्यौ”
“के गर्दै छौं”
मैले भने
“तपाइले पटक — पटक टेक्नु पर्ने
मेरो काँधमा —
तेल लाएर माड्दै छु
थाकेको छैन
तपाइका पाइतालामा बिझाउँछ की ? — भनेर
मेरो काँध नरम बनाउदैछु”
—उनी मुसुक्क हाँसे
र ढुक्क हुँदै गए
उनी यात्रामा लागी रहे ।
समय बित्दै गयो
फेरि आएछन् उनी एक दिन
यस पल्ट—
उनले केही सोधेनन्
धाप मारेनन्
मलाइ हेरे
काँध सुमसुम्याए
उनका पाइताला तिर हेरे
अलिक ढुक्क भए जस्तै देखिए
हतार गरेर गए ।
अहिले मलाइ लागेको छ
र मलाइ विश्वास छ
उनी फेरि आउने छन्
त्यस दिन
मलाइ चितामा भेटेर
मेरो काँध हेर्नेछन्
र उनको पाइताला हेर्नेछन्
र त्यस क्षण
उनको पाइतालाको
उनलाई
साह्रै माया लाग्नेछ
आफ्नै पाइताला उनलाई
टुहुरो जस्तै लाग्ने छ
र उनी शोक मग्न हुनेछन् ।
२०६९ वैशाख ।