स्मृतिहरुका डोबमा
अनेक नयाँबर्षहरु
अलपत्र परेकाछन्−
तिनलाई चढाएका
उत्साहहरु, स्वागतहरु, फुल−माला र अविरहरु
रोगन खुइलिएको, जवानी भिडकिएको र बैश पनि अतित भएको
कान्लाको सुकेको बूढो रुख जस्तै
अलपत्र छन्−
दुलही बनेर आएको
बैशाख − टिकेन
पल भरमै
फुङ्ग उडेको चैत बनेर −बाहिरियो
मुलुक सम्भ्रान्त बनाउने
शुभकामनाको खेती
सधै भयो
तर सधै बिपन्नता फल्यो
जे भने पनि मुलुकमा
इमानका बेर्नाहरु सरेनन्
जे सुकै बाली लगाए पनि
केही फलेन
न सौहार्दता र आत्मियता बच्यो !
न नेताहरुलाई अलिकति इमानको पोष लाग्यो !
न सद्चरित्रको हुने होस् जाग्यो !
केही पो भएन त
फगत जर्जर भयो ।
त्यसैले−
यसपल्टको नयाँबर्षलाई−
मेरो सलाम छैन,
स्वागत छैन,
यसपल्टको नयाँबर्ष प्रति
मेरो विश्वास छैन
आउने बर्ष
मलाई नयाँबर्ष जस्तै लागेको छैन ।
आदरणीय मित्रहरु !
माफ गर्नुहोला
हरेक नयाँ बर्षहरुमा
शुभकामना बाँड्दा बाँड्दा
रित्तिएर हो कि किन ?
यसपल्ट−
मलाइ शुभकामना भन्न पनि
मन लागेको छैन ।
२०६८।